कला/साहित्य

‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक: हास्य रससँगै राजनीतिप्रति कटाक्ष

नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। प्रतिक्षित चलचित्र हरिबहादुरको जुत्तालाई दर्शकले धेरै रुचाएको सार्वजनिक ट्रेलरले नै देखाएको छ । 

यूट्यूवमा अपलोड भएको ट्रेलर तीन घण्टामै ३५ हजारले हेरेका छन् ।

दिपेन्द्रके खनालद्वारा निर्देशित चलचित्र दशैंको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको ट्रेजर हिजै आउने भन्दै कलाकारहरु स्वस्तिमा खड्का, प्रियांका कार्की, हरिवंश आचार्यलगाएतले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।  

चलचित्रमा वरिष्ठ कलाकार हरिवंश आचार्य मुख्य भूमिकामा छन्। आचार्यले नै हरिबहादुरको भूमिका निर्वाह गरेका छन्। नेपाली टेलिभिजनमा लोकप्रिय भइसकेका जीवनमा आउने हर्ष विस्मतलाई ट्रेलरमा समेटिएको छ।  

देशमा भइरहेको राजनीतिक उतार चढाव र युवाहरूले खोजेको परिवर्तनको सन्दर्भलाई पनि कटाक्षपूर्ण तरिकाले समेटिएको छ।

हास्य र व्यङ्ग्यको मिश्रण चलचित्रमा पुराना कलाकारको जोडदार प्रस्तुती छ ।  

चलचित्र मोहितवंश आचार्य र सरोज ओलीले निर्माण गरेका हुन् भने एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको छ। चलचित्रको छायाङ्कन कृष्ण बहादुर थापाले गरेका छन्, जसको सम्पादन नहकुल खड्काले गरेका छन् ।  

यसमा वसन्त सापकोटार दीपक शर्मा साथैं प्रकाश सपुतको संगीत छ। गीतहरूमा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईंको आवाज सुन्न सकिन्छ।

चलचित्र ‘हरिबहादुरको जुत्ता’सँगै अरु तीन चलचित्र पनि फूलपातीमा प्रदर्शनमा आउन लागेका छन् । ‘बलिदान’, ‘माईतीघर’, ‘अभिमन्यू’ले एकसाथ प्रतिस्पर्धाको तयारी गरेका छन् ।  

 

 

प्रकाशित: ४ आश्विन २०८२ १९:०६ शनिबार