कला/साहित्य

पर्यटन अभियन्ता अमर बानियाँको ‘सुन्दर म्याग्दी’ लाेकार्पण

पर्यटन अभियन्ता अमर बानियाँले आफ्नो जन्मथलोको इतिहास, प्रकृति, संस्कृति र जीवनशैली समेटेर तस्बिर पुस्तक प्रकाशन गरेका छन्, ‘सुन्दर म्याग्दी’।

सदरमुकाम बेनी बजारमा बसेर चार दशकदेखि फोटोग्राफी गर्दै आएका बानियाँको यो पुस्तक म्याग्दी चियाउने आँखीझ्याल बनेको छ।

जन्मभूमिको ऋण तिर्ने प्रयासमा यो पुस्तक प्रकाशन गरेको पर्यटन अभियन्ता बानियाँले बताएका छन्। ‘पुस्तक विमोचन कार्यक्रममा विशिष्ट वक्ताहरूबाट प्राप्त हौसला र सुझावप्रति कृतज्ञता व्यक्त गर्दछु। जन्मथलोको गुन तिर्न ममा अझै योगदान पुर्‍याउने ऊर्जा बढेको छ’, उनले भने।

‘धौलागिरी पर्यटन विकास परिषद् र बेनी समाज काठमाडौं’ ले नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्व मुख्य सचिव तथा अमेरिकाका लागि नेपालका पूर्व राजदूत लोकदर्शन रेग्मी, प्राडा प्रेम शर्मा, नेपाल पर्यटन बोर्डका जनसम्पर्क अधिकृत सुनिल शर्मा, सङ्घका केन्द्रीय सदस्य सुविन श्रेष्ठ लगायतले संयुक्त रूपमा कृतिकाे लोकार्पण गरेका थिए।

पुस्तक लोकार्पण गर्ने अतिथिहरूसहित म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, बानियाँ समाजका अध्यक्ष नरबहादुर बानियाँ, बेनी समाजका पूर्व अध्यक्ष याम श्रेष्ठ, पर्यटन पत्रकार अमृत भादगाउँलेले ‘सुन्दर म्याग्दी’ सबैका लागि सुन्दर उपहार भएको टिप्पणी गरे।

रङ्गीन कलेवरमा प्रकाशित पुस्तकमा नेपाली र अङ्ग्रेजी भाषामा जानकारी दिइएको छ। म्याग्दीको विषयमा जान्न चाहने व्यक्ति, पर्यटक र म्याग्देलीलाई यो पुस्तक उपयोगी देखिन्छ। यसमा म्याग्दीका गन्तव्य, पदमार्ग, सांस्कृतिक सम्पदा, चाडपर्व, होमस्टे, जैविक विधिता आदिको सुन्दर चित्रण गरिएको छ।

धौलागिरि पर्यटन विकास परिषदले प्रकाशन गरेको पुस्तकको मूल्य १ हजार रुपैयाँ राखिएको छ।  

प्रकाशित: ४ असार २०८३ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App