अमेरिकी अभिनेता टम क्रुजलाई अमेरिकी फिल्म इन्स्टिच्युट (एएफआई) को 'लाइफ अचिभमेन्ट' अवार्ड प्रदान गरिने भएको छ।
एएफआईको सञ्चालक समितिले बुधबार यसको घोषणा गरेको हो। क्रुजलाई सन् २०२७ अप्रिल २४ मा लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुने विशेष समारोहमा अवार्ड प्रदान गरिनेछ।
‘टम क्रुज विश्वव्यापी आइकन हुन्,’ एएफआईको सञ्चालक समितिकी अध्यक्ष क्याथलिन केनेडीले विज्ञप्तिमा भनेकी छन्। उनले अभिनेता र निर्माताका रूपमा क्रुजको कामको प्रशंसा गर्दै चलचित्रले मानिसलाई एकताबद्ध गर्न सक्ने बताएकी छन्।
६४ वर्षीय क्रुजले चार दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा काम गर्दै आएका छन्। उनले ‘रिस्की बिजनेस’, ‘अ फ्यु गुड मेन’, ‘जेरी म्याग्वायर’, ‘माइनोरिटी रिपोर्ट’ र ‘मिसनः इम्पोसिबल’ शृंखलालगायत चलचित्रमा अभिनय गरेका छन्।
क्रुजले अभिनयका लागि तीन पटक एकेडेमी अवार्ड (ओस्कार) को मनोनयन प्राप्त गरेका छन्। उनी ‘बोर्न अन द फोर्थ अफ जुलाई’ र ‘जेरी म्याग्वायर’ बाट उत्कृष्ट अभिनेताको विधामा तथा ‘म्याग्नोलिया’ बाट सहायक अभिनेताको विधामा मनोनयनमा परेका थिए।
निर्माताका रूपमा पनि क्रुजले सफलता हासिल गरेका छन्। उनले निर्माण गरेको ‘टप गनः म्याभरिक’ उत्कृष्ट चलचित्रको विधामा ओस्कारका लागि मनोनयनमा परेको थियो। सन् २०२५ मा उनले एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजको गभर्नर्स अवार्ड समारोहमा मानार्थ ओस्कार प्राप्त गरेका थिए।
सन् १९७३ मा स्थापना गरिएको 'लाइफ अचिभमेन्ट' अवार्ड चलचित्र क्षेत्रको विकासमा योगदान पुर्याएका र आफ्नो कामबाट दीर्घकालीन प्रभाव पारेका व्यक्तिलाई प्रदान गरिन्छ। यसअघि यो अवार्ड प्राप्त गर्नेमा जोन फोर्ड, बेट्टी डेभिस, सिड्नी पोइटियर, स्टिभन स्पिलबर्ग, डेन्जेल वासिङ्टन, निकोल किडम्यान र एडी मर्फीलगायत छन्। मर्फीले सन् २०२६ मा यो सम्मान प्राप्त गरेका थिए। एजेन्सी
प्रकाशित: ५ कार्तिक २०८३ १५:५४ बिहीबार