कला/साहित्य

४० वर्षपछि एकै फिल्ममा देखिँदै रजनीकान्त र ऋतिक रोशन

तमिल सिनेमाको बहुप्रतीक्षित मानिएको फिल्म ‘जेलर २’ को तयारी तीव्र गतिमा भइरहेको छ। 

केही दिनअघि यस फिल्ममा शाहरुख खान विशेष भूमिकामा देखिने चर्चा व्यापाक चलेको थियो। तर त्यो खबर हल्ला मात्र भएको बताइएको छ। अब भने फिल्ममा अभिनेता ऋतिक रोशन महत्वपूर्ण भूमिकामा देखिने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ।

रोचक कुरा के हो भन्दा रजनीकान्त र ऋतिकको धेरै पुरानो सम्बन्ध रहेको छ। यी दुवै कलाकार करिब ४० वर्षपछि फेरि एउटै फिल्ममा सँगै देखिने भएका छन।

सन् १९८६ मा आएको ‘भगवान दादा’ फिल्ममा बाल कलाकारका रूपमा ऋतिकले रजनीकान्तका छोराको भूमिका निभाएका थिए। त्यसपछि यी दुई एकसाथ देखिएनन्।

भारतीय सञ्चार माध्यम अनुसार ऋतिकले जुन २२ र २३ मा चेन्नईमा आफ्नो दृश्यहरूको छायांकन गर्नेछन्। उनको भूमिका केवल छोटो नभई कथाको महत्वपूर्ण मोडमा रजनीकान्तको पात्रलाई सहयोग गर्ने किसिमको रहने बताइएको छ। जसका लागि उनको नयाँ लुक पनि तयार पारिँदैछ।

निर्देशक नेल्सन दिलीप कुमारको निर्देशन रहेको ‘जेलर २’ मा मोहनलाल, शिव राजकुमार, विजय सेतुपति, मिथुन चक्रवर्ती, राम्या कृष्णन, विद्या बालन र एसजे सूर्यालगायतका चर्चित कलाकारहरूको पनि अभिनय रहने बताइएको छ।

फिल्म सिनेमाघरमा भने सितम्बर २०२६ सम्म आउने तयारीमा छ।

प्रकाशित: २९ जेष्ठ २०८३ १३:५० शुक्रबार