‘कस्तो भयो त दसैं?’
यतिखेर, एक-आपसमा भेट हुँदा वा टेलिफोन - मोबाइल वार्तामा सोधिने प्रश्न हो यो।
साथसाथै जवाफ पनि हाजिर छ - ‘ठिकै!’
वास्तवमा यो ‘ठिकै’मा गहिरो दुई खालका मनोविज्ञान लुकेका छन्।
पहिलो ‘ठिकै’ - जस्तो अघिल्ला वर्षहरूमा भएको थियो, त्यसरी नै यसपालिको पनि दसैं बित्यो।
दोस्रो ‘ठिकै’ - अघिल्ला वर्षहरूमा निकै राम्रोसँग दसैं मनाइन्थ्यो, यसपालिचाहिँ त्यति राम्रोसँग मनाउन पाइएन।
जे होस्, दसैं सकियो। एक किसिमले, बुढापाकाको मुखबाट धेरै सुनिएको -
‘आयो दसैं ढोल बजाई
गयो दसैं ऋण बोकाई’
यो कथन त्यति लागु भएन। एकदमै फरक परिवेशमा यस पटकको दसैं समापन भयो। कुनै सङ्केत नै नदेखिईकन दसैं छेक भयङ्कर ठुलो आँधीबेहरी हाम्रो समाजले भोग्न पुग्यो। त्यो आँधीबेहरीको नाम थियो - ‘राजनीति’। प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सरोकार राखिने त्यो विषय राजनीतिमा उथलपुथल भयो। गजबकै घटना/दुर्घटना देखिए। कल्पनासम्म नगरिएको रातारात सत्ता परिवर्तन भयो। विश्वकै राजनीतिक इतिहासमा प्रथम पटक यस्तो भयो। सबैभन्दा दुःख र पीडादायक कुरो - अघिल्लो रात आफ्नै दुनियामा हाँसीखेली रमाईरमाई निदाएका कलिला बालकहरू भोलिपल्ट साँझ नहुँदै कैयाैंकाे सङ्ख्यामा अर्कै दुनियाँमा बास बस्न पुगे।
कसरी हुन पुग्यो यस्तो? कसले किन गर्यो। सबैभन्दा अनुत्तरित प्रश्न - यो घटनाक्रमले राजनीतिमा के परिवर्तन गर्यो? कसलाई फाइदा पुर्यायो, सिवाय ठुलो परिमाणमा जन -धनको क्षति। फाइदा - बेफाइदाको लेखाजोखा अहिलेसम्म प्रस्ट आइसकेको छैन। साँच्चै भन्ने हो भने यो राजनीतिक परिवर्तनको आधारस्तम्भसमेत पनि अझै खुट्याउन सकिएको छैन।
सत्ताको विरोध किन भयो? र, विरोधीहरूलाई सत्तापक्षले किन दमन गर्यो? महत्त्वपूर्ण कागजपत्रहरू राखिएका सिंहदरबार, सर्वोच्च अदालत, मालपोत, अख्तियार जस्ता स्थानमा मात्रै होइन, छनोट गरी गरीकन निजी घरहरू (प्रायः राजनीतिज्ञका मात्रै) मा किन आगो लगाइयो? यहाँ प्रश्न उठ्नु स्वाभाविक छ - के तोडफोड र आगजनी नै आन्दोलनको परिचय हो?
मूलतः राजनीतिक नेताहरूप्रति मात्रै लक्षित थियो दङ्गाको यो आन्दोलन। हो, यथास्थितिको यो राजनीति परिवर्तन गर्नका लागि यस्तो हुनु अस्वाभाविक होइन। सबैमा आक्रोश थियो। सरकारको गोलीले निरपराध बालकहरू राजधानीको माटोमा रक्तरञ्जित थिए। यस्तो वातावरणमा हातमा हात बाँधेर बस्न को सक्थ्यो होला र! भनिन्छ, त्यसै पनि त रिसमा कसले गीता पढेर बसिरहन्छ?
सिंहदरबार, सर्वोच्च अदालतजस्ता संवेदनशील स्थानहरूमा आगो लगाइयो, क्रोधमा होस् कि कुनै षड्यन्त्रमा होस् तर आश्चर्यलाग्दो कुरो के छ भने राज्यका कुनै पनि आधिकारिक ठाउँहरूबाट त्यो आगो निभाउने प्रयास गरिएन। भनियो - सैनिक निस्किएको भए ठुलो रक्तपात हुन्थ्यो। पक्का हो, आगो लगाउने बेलामा रोक्न खोजेको भए रक्तपात हुन सक्थ्यो। तर एउटा खुलदुली - आगलागी भइसकेपछि निभाउन जानलाई केले छेक्यो? रातभर सिंहदरबार, संसद् भवन जलिरहेको हेर्न विवश भयौं हामी।
अब, सदाका लागि एउटा प्रश्नले समयसँग जवाफ मागिरहने छ - ‘इतिहासका धरोहर राणाकालीन सिंहदरबारको संरचनालाई जस्ताको तस्तै फर्काउन सक्छौ? कसैले कसैसँग माग राखेर, धर्ना कसेर, तालाबन्दी गरेर, चक्काजाम गरेर, आमहडताल गरेर अस्तित्वमै नरहेर गुमिसकेको वस्तुलाई हात पार्न सकिन्छ? चोरिएका, लुटिएका वस्तुलाई फर्काउन सकिने अवस्था रहन्छ। तर, आगोले खाएको वस्तु जो खरानी बनिसकेको छ, के अब त्यो खरानीलाई यथा अवस्थामा पुनर्जीवित गराउन सकिन्छ?
खरानी केवल खरानी हो। खरानीमा कुनै अस्तित्व भेटिन्न। वस्तु जलेर खरानी बनिसकेपछि त्यो खरानीको के अर्थ? त्यसको के मूल्य? होला, खरानी हुनुपूर्व त्यो के थियो, त्यसको पहिचान कस्तो थियो, विज्ञानको अनुसन्धानले त्यसको जरैसमेतमा पुगेर पत्ता लगाउन सकिएला। तर, कुनै अस्तित्व नभेटिने त्यो खरानी रहनुले वा नरहनुले के फरक पर्छ?
यतिखेर हाम्रो हातमा यही खरानीको अतिरिक्त के पो छ र?
त्यसो त, खरानी हुने स्थितिअघि आगोको ज्वालाले कुइरीमण्डल धुवाँ आकाशतर्फ फैलाउँदै एक किसिमको आतङ्कको भयावह स्थिति सिर्जना हुँदा स्वयं आगोलाई के थाहा कि म के गर्दैछु? उसलाई थाहा हुँदैन - म कुनै झुपडीमा सल्किरहेछु कि ठुला दरबारमा? मैले कहाँ कसको शरीरलाई जलाइरहेछु, पशुपन्छीको कि मान्छेको? आगोको जीवन नै यस्तो! सल्किने, जलाउने र अस्तित्वको अन्त गर्ने, बस् यही हो आगोको चरित्र।
गत आन्दोलनमा आगोले आफ्नो रूप स्पष्टसँग देखायो। र, यो रूपको पृष्ठभूमिमा चलेको युद्ध - जहाँ एकतर्फी गोली–बारुदको बर्सात् भयो। निः शस्त्र–निरपराध ससाना कलिला बालबालिकाहरू जो खुसीका सपना बुन्दै थिए, तिनका सम्पूर्ण किसिमका सपनाहरू अचानक तुहिन पुगे। यहींनिर जुरुक्क उठेर प्रश्न उभिएको छ - ‘तिनका शिरबाट, तिनका छातीबाट बगेको रगतको क्षतिपूर्ति केले गर्न सक्छ? र, कसले गर्न सक्छ?’
सबैलाई थाहै छ, रगत बग्नु–बगाइनु वा आगो लाग्नु–लगाइनु यो एक्काइसौं शताब्दीको सामाजिक बनोटको दुष्चरित्र हो। यो चरित्रले मानिसलाई मानवीकरणको बदला दानवीकरणको मार्गमा हिँड्ने यात्री बनाउँछ।
त्यसो त दानवको स्वरूप कस्तो हुन्छ, मान्छे स्वयंलाई थाहा छैन। त्यसको शिरमा सिङ हुन्छ कि! शरीरको पछिल्लो भागमा पुच्छर झुन्डिएको हुन्छ कि! आँखाहरू डरलाग्दा हुन्छन् कि! जगल्टा फिँजारिएका हुन्छन् कि! तर, गहिरिएर आफैंभित्र खोजेर हेर्ने हो भने मान्छेका आफ्नै दुष्चरित्रले नै वास्तविक दानव हुनुको परिचय दिन्छ।
समग्रमा, सत्चरित्र नै मान्छेको सही पहिचान हो। जबदेखि समाज-निर्माणको प्रक्रियामा मान्छेहरू समाहित हुन लागे, यो त्यो बेलाको अवस्था हो जब जङ्गलमा मान्छेहरू निर्वस्त्र रहन्थे र ती जङ्गलबाट क्रमशःसमाज निर्माणतर्फ पाइला चाल्न लागे। फलतः मान्छेले नैतिकताका पाठ सिक्न लागे। असल के हो, खराब के हो? कर्म के हो, धर्म के हो? इमानदारी के हो, परिश्रम के हो? यावत् विषयमा बहस हुँदै गयो र अन्ततः आजको सभ्य समाजको निर्माण हुन पुगेको हो।
बुझ्न जरुरी छ, यसरी स्थापना भएको मनुष्य - समाजमा नकारात्मक प्रवृत्तिजन्य विकृति - विसङ्गतिले समाजलाई अधोगतितर्फ उन्मुख गर्छ। बेलैमा सचेत रहनु आजको अपरिहार्यता हो। ख्याल राखौं,पूर्वबाट आओस्, या त पश्चिमबाट आओस्
जुन दिशाबाट आए पनि उस्तै नै हुन्छ आँधी
आएपछि केवल जानु मात्रै होइन
गइसकेपछि फेरि केही नराखी गइदिन्छ आँधी।
प्रकाशित: २५ आश्विन २०८२ ०८:२१ शनिबार



