शब्दार्थ प्रकाशनले लघुकथाकारत्रय प्रा. विश्वराज अधिकारी, डा. कुसुमाकर शर्मा गौतम र खेमराज पोखरेलकाे संयुक्त लघुकथासङग्रह त्रिकुटी काे लोकार्पण गरेको छ।
लघुकथाकार डा. कुसुमाकर शर्मा गौतमले उपस्थितजनलाई शब्दमार्फत स्वागत गरेका थिए।
छन्दकवि तथा प्राध्यापक पीताम्बर दाहालकाे अध्यक्षता तथा लाेकप्रिय कथाकार भागिरथी श्रेष्ठकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
वैशाख २६ गते शनिवार नेपाल प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण हलमा भएकाे सो कार्यक्रममा सभाध्यक्ष छन्दकवि पीताम्बर दाहाल, प्रमुख अतिथि भागिरथी श्रेष्ठ, वक्ताहरू डा. दीनबन्धु शर्मा, महेश पौडेल, डा. नवराज खतिवडा, कथाकारहरू गौतम र पोखरेल लगायत कार्यक्रम सञ्चालक पौडेन्स विमुन्स, शान्ता तिम्सिना र एञ्जेल निलुले कृतिको सामूहिक लाेकार्पण गरेका हुन्।
कार्यक्रममा डा. कुसुमाकर शर्मा गौतमको अविश्रान्त लघुकथासङ्ग्रहकाे विद्यालयस्तरीय समीक्षात्मक टिप्पणीको प्रतिस्पर्धामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने १० विद्यार्थीलाई प्रमुख अतिथि कथाकार श्रेष्ठबाट पुरस्कृत गरिएको थियो।
डियरवाक स्कुल सिफलका विद्यार्थीहरू प्रथम सुविज्ञराज खरेल, द्वितीय अमु शाक्य, तृतीय अनुश्री आचार्य र ७ विद्यार्थी अनुज दवाडी, अग्रज रिजाल, सम्मान सेढाई, आकाङ्क्षा खरेल, कृश पोखरेल, कुशल ढुङ्गाना र समीहा नेपाललाई सान्त्वना पुरस्कार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।
लाेकप्रिय समालाेचक महेश पौडेलले त्रिकुटी कृतिभित्र रहेको विश्वराज अधिकारीद्वारा लेखिएको २५ लघुकथाको युद्धका विषयमा फरकफरक कोणबाट प्रकाश पारेका थिए। उनले अब लघुकथा विधाको अस्तित्वको प्रश्न खोजिरहने समय समाप्त भैसकेको बरू गुणात्मक लघुकथा लेखनमा स्रष्टाहरू सचेत रहनुपर्ने बताए।
यसैगरी समीक्षक डा . दीनबन्धु शर्माले लाेकार्पित कृतिभित्र रहेका खेमराज पोखरेलका २५ लघुकथाको आवृत्तिबारे आफ्नो धारणा व्यक्त गरे।
त्यस्तै अर्का समीक्षक डा. नवराज खतिवडाले कृतिभित्र समेटिएका डा. कुसुमाकर शर्मा गौतमको २५ लघुकथाको ‘प्रत्ययी’ बारे समीक्षात्मक टिप्पणी गरेका थिए।
कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा प्राडा यादवप्रकाश लामिछानेले विदेशमा बसेर पनि त्रिकोटीका त्रयसर्जक विकुखेले नेपाली लघुकथालाई उचाइमा पुर्याउन दिएको योगदानबारे आफ्नो धारणा व्यक्त गर्दै तीन स्रष्टाको यो सहकार्य लोभलाग्दो भएकाले यसको स्थीरताप्रति कामना गरे।
त्रयसर्जक विकुखेको प्रतिनिधित्व गर्दै कृतिकार खेमराज पोखरेलले मञ्चासिन व्यक्तित्व लगायत उपस्थित साहित्यकारहरू, पत्रकारहरू, आफन्त, कृतिका भूमिकाकारहरू र साथसहयोग प्रदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
पौडेल विमुन्सले कुशलतापूर्वक सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि भागिरथी श्रेष्ठले लघुकथामा त्रय कृतिकारहरूको लगावमाथि चर्चा गर्दै आफूलाई स्थान र अवसर दिएकोमा खुसी व्यक्त गरेकी थिइन्।
सो कार्यक्रममा साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा सभाध्यक्ष दाहालले सभा विसर्जन गरेका थिए।
प्रकाशित: २७ वैशाख २०८३ ०६:३९ आइतबार