सुनकोशी वाङ्मय प्रतिष्ठानले एकैसाथ तीन स्रष्टाका तीन अङ्ग्रेजी कृति लोकार्पण गरेकाे छ।
कार्यक्रममा तीन कृति ८ वर्षीय शुक्ष्माङ्क जैसीको क्रिएटिभ स्क्रिबल्स (Creative Scribbles), १४ वर्षीय शुक्ष्मयङ्का जैसीको फस्फोर (Phosphor) र १९ वर्षीय शुसाङ्क जैसीको निसमाज (Nesamaj) लोकार्पण गरिएको हो।
कार्यक्रममा प्रमोद प्रधान, श्रीओम श्रेष्ठ ‘रोदन’, छविरमण सिलवाल र स्रष्टात्रय लगायतले लोकार्पण गरे।
कृतिहरूमाथि प्रमुख अतिथि वरिष्ठ बालसाहित्यकार एवं समालोचक प्रधानले एउटै बाबुआमाका छोराछोरीको एकैपटक कृतिहरू सार्वजनिक गर्न पाउँदा खुशी व्यक्त गरे।
उनले संरचनाका हिसावले तीन पुस्तक फरकफरक भएको बताउँदै भने, ‘कृतिहरू बालमनोविज्ञानले भरिएको छ, तर्क गरिएको छ र फरकफरक महत्त्वपूर्ण विषयहरू उठान गरिएको छ।
‘Nesamaj ले तीन पात्र सिर्जना गरी तीन महत्त्वपूर्ण नदी र तिनका सभ्यतासँग जोडेर लेखिएको छ।’
यसैगरी Phosphor जीवनका विभिन्न पलहरूको डायरी जस्तो लाग्छ। उमेर समूहका कुरा पनि त्यहाँ आएका छन्। अनुभूतिमा घोत्लिएर सिर्जना गरिएको छ। अर्को कृति ‘Creative Scribbles’, मा एउटा तीन कक्षामा पढ्ने बालबालिकाको लेखाइ इमान्दार भएर आएको उनले बताए।
उनले यस्ता सिर्जनशील प्रतिभाहरू जन्माएर त्यही खालको वातावरण निर्माण गरिदिने लेखकत्रयका पिता रामकृष्ण जैसी र माता मायालक्ष्मी हमाललाई सबैको तर्फबाट खादा ओढाएर सम्मान गरे।
अर्का वक्ता नेपाल स्रष्टा समाजका अध्यक्ष ‘रोदन’ ले अहिलेका बालबालिका मोबाइल विना केही गर्न नसक्ने उमेर समुहकै बालबालिकाबाट साहित्यमा अङ्ग्रेजी भाषामा कृतिहरू प्रकाशित हुनु आफैँमा ठूलो उपलब्धि भएको बताए। ’यो लेखक बाबुनानीको निम्ति शिलालेख बनेको छ। निरन्तर लेख्नुस्।’ उनले भने।
पुस्तकहरुमाथि चर्चा गर्दै माधव घिमिरे अटलले तीनै किताबमा बालमनोविज्ञान आएको बताए।
कृति Phosphor ले जीवनका विभिन्न सन्दर्भ पस्केको भन्दै आफ्नो उमेर समुहअनुरूप लेखाइ आएको बताए। ‘डायरी शैलीमा लेखिएको, प्रत्येक पार्टमा मिल्ने कुरा रुढीवादी परम्परा भत्काउन खोजेको देख्दा एउटा बालभावमा पनि विद्रोही चेत रहेको छ। तीन कक्षामा पढ्ने बालकले आफ्नो ‘Creative Scribbles’ कृतिमा मनका भावनाहरू सहज, सरल र मजैसँग पोखेका छन्।’ उनले भने।
शुसाङ्कको ‘‘Nesamaj’’ ले भने देशको कोशी, गण्डकी र कर्णाली सभ्यताको विविधता र नेपाली समाजको यथार्थलाई प्रस्तुत गरेको उल्लेख गरे।
कार्यक्रममा सिद्धार्थ बनस्थली स्कुलकी सहायक प्रधानाध्यापक सुनिता सिंहले लेखक बालबालिकाहरूको स्वभाव,लगाव लगायतका विषयमा आफ्नो धारणा राख्दै उनीहरू अत्यन्तै मिहेनती, इमान्दार भएको बताइन्।
लेखकत्रयको तर्फबाट सुक्ष्मयङ्का जैसीले आफ्नो हजुरआमाले सिकाइको भोक बाबामा जागृत गराइदिएको, पढ्नुपर्छ भन्ने भावना बुबाबाट आफुहरुमा सरेको भन्दै आफूहरूले हरेक कुराको निम्ति समय व्यवस्थापन गरि सोहीअनुरुप चलिरहेको र अव पनि चल्ने बताइन्।
प्रकाशन गृह भुँडीपुराण प्रकाशनका केशव पराजुलीले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले गरे।
प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य राखे।
जुम्ला, तातोपानी निवासी रामकृष्ण जैसी र मायालक्ष्मी हमालका तीन छोराछोरीका कृतिहरू जन्मोत्सवको उपहारस्वरूप आएको आयोजकले बताए।
प्रकाशित: १९ आश्विन २०८३ ०९:२६ सोमबार