कला/साहित्य

यो माटाको प्रणाम

कविता

फिक्सनमा राखेका हररहरू

हेर्दैछ सहर

भोकमा राखेका बालकहरू

अझै छन् सडकमा

आकाशले राखेका ताराहरूको उज्यालोमा

हेर्दै छु जमिनको रात

वेटिङ लिस्टमा छ युवाले खोजेको देश

यस बेला राजनीतिका अर्फनहरू माग्दै छन् भिख

पसारेर हात सिमानाबाहिर

देश अझै खोज्दै छ हराएका विद्वान्हरू

फ्याँकिदिएका छन् 

मिनेट, घण्टा र दिनहरू

घण्टाघरले

कतै जनताप्रति राजनीति छैन

के शब्द सुनाउँदै छ

भिडियो

के एक्सन देखाउँदै छ

युट्युब

युवा भन्दै छ टुक्रा नपार

मेरो आस्था मेरो देश

मेरै सभ्यताको

आधार शिविरमा छ

संसार भिन्न

भएको छ कोबाट

अलग भएको छ आँखा

सहरको बत्ती निभ्दा

परेको छ अपराधको

रगत भुइँमा

को भन्दै छ

होसियारीको कथा

यस बेला उसको सहरमा

आफ्नो नामले

सुवास दिन्छ फूल

कुल्चे पनि

आतङ्कीका पयरले

यो माटोमा दर्ता भएको बुद्ध

के हेर्दै छ यस बेला संसारमा

हेर्दै छ सूर्य जमिनमा अहिले

युद्ध र ट्रमाको इतिहास

डिलक्स रुममा छन् 

क्रन्ची फुड लिएर

जमिनमा रगत खसाल्नेहरू

कति लिटर शान्तिको डोज पर्दै छ

शब्द बनाउनेमा यस बेला

झुटलाई सत्य भनेर

विज्ञापन गर्दै छ

मृत्युको समाचार

सुनेर नअघाउने

सहर लिनेको डाइनिङ रुममा फालिएको बन्दुक

कसको नामको हो थाहा छैन

अधिकार माग्ने भन्दै छ

यहुदीलाई बचाऊ

अरूलाई बचाउँदा

दुस्मनलाई मानवताको

नचढाऊ फूल

तिम्रो पनि जमिन छ भने

हेर एकचोटि देश

बजेन भने फेरि साइरन

बजाउने छ व्यासको सन्तान

पशुपतिको घण्ट

सकेपछि संसारसँग

आणविक बहस।

प्रकाशित: २८ असार २०८२ १०:२९ शनिबार

# Poem # Nagarik