खरानीको छहारीमा निधारको रङ अवश्य चम्किलो हुँदैन। उज्यालो खुसी र रङमय सप्तरङ्गी सौन्दर्य त्यसमा देखापर्दैन। उत्सवले उमङ्गको स्वरूप वरण गर्न सक्दैन। देश नै शोकमा, शंकामा, षडयन्त्रमा फँस्दै गइरहेको बेला बल्लतल्ल घरदैलोमा भित्रिएको उत्सवले पनि खुसी पार्न नसक्दोरहेछ। जहाँ मन कतै आँसुको दहमा डुबिरहेको थियो। जहाँ खुसी कसैले खोसेर सिमाना कटाइसकेको थियो। जहाँ आफन्त नै पराइ भएर दुःख दिइरहेको थियो।
यसपालिको भाइटीका! आहा! यसको सम्झना हृदयमा एउटा अमूर्त चित्र बनेर बसेको छ, जसमा खुसीको रङ फिक्का छ र आशाको धर्साहरू मधुरो देखिन्छन्। हो, २०८२ सालको भाइटीका यस्तै रह्यो– केही खुसी र केही दुःखको अमिल्दो सङ्गम, केही आशा र धेरै निराशाको शीतलता।
देश नै खरानीबाट बिस्तारै बामे सर्ने तरखर गरिरहेको बेला, प्रकृति नै अस्तव्यस्तताको आँसुमा रोइरहेको समयमा, दिदीभाइको भेट हुनु वा नहुनुले खासै अर्थ नराख्दोरहेछ। जब मनभित्रैको खुसी अनायासै आएको बाढीले बगाएर लैजान्छ, तब सप्तरङ्गीको सौन्दर्य पनि अर्थहीन भइदिन्छ। त्यो इन्द्रेणीको रङ पनि उदासीन लाग्न थाल्छ। झिलिमिली बत्तिको उज्यालो पनि अन्धकार जस्तै लागिरह्यो यसपालि।
आकाशमा चङ्गाहरू उडेनन्, तिनका चङ्गा–चेटका आवाजहरू टोलभरि विजयको उन्मादमा गुञ्जिएनन्। पिङ खेल्नेहरूले लिङ्गो छुने प्रतिस्पर्धा गरेनन्। ती अग्ला लिङ्गोहरू यसपालि शून्यले छोपिएर उभिएका थिए। बारीका पाटा, कान्ला र पेटीपर्खालहरूमा फुलेका पहेँलपुर गोदावरी, मखमली र सयपत्रीका फूलहरूले यसपालि कसैको गलामा सजिन पाएनन्, कुनै मालाले सौभाग्य पाएनन्। निधारले पूजा पाएनन ती फूलहरू त्यत्तिकै ओइलिएर माटोसँगै हराए । बाटोमा मान्छेहरूको आउजाउ पनि खासै भिडामभिड भएन। एक किसिमको मौन सन्नाटाले चाडपर्वको बाटो छेकिदिएको थियो।
कतिपयले त भाइटीका मनाउने तयारी गर्दागर्दै पनि, अपसगुनको आगमनले निधार खाली नै राख्नुपर्यो। गलाले माला पहिरिन पाएन। माइती र चेलीको पुनर्मिलनले हाँसो र खुसी भित्र्याउन सकेन। त्यो स्नेह, त्यो समर्पणको पूजा यसपालि मनभित्रै अँध्यारोमा जेलिएर रह्यो।
अरूहरूको जस्तै मेरो आफ्नै भाइटीका पनि यस्तै निराशाको कालो बादलभित्र मडारिएर अधकल्चै रह्यो। त्यो अधुरोपनको पीडा मनभरि बोकेर हिंडियो यसपालि। खालिपनको शून्यता भन्नु निराशाको घोर नमिठो क्षण हो तर यसपालिको उत्सवमा अधिकांश नेपालीको निधार खालिपनले नै खालिखालि रह्यो।
अचम्म त यो छ कि शारदीय सौन्दर्यले मौसमलाई साथ दिएकै थियो। आकाश पनि निर्धक्क खुलेर आफ्नो नीलोपनलाई अझ गाढा रूपमा देखाएकै थियो। बादलहरू परपर कतै दूर देशमा भागेकै थिए। प्रकृतिले हाँसेर चाडपर्वको उमङ्गलाई उल्लासमा मनाउन आह्वान गरेकै थियो तर प्रकृतिले बोलाए पनि मनले साथ दिएन।
देश जलाउनेहरू धेरै भए। अर्काको घर जलाएर देश बनाउँछु भन्नेहरू धेरै देखिए। तिनले कसरी देश बनाउँछन्? घर जलाउनेले, सार्वजनिक सम्पत्ति ध्वस्त पार्नेले र अर्काको घरमा दिनदहाडै लुटपाट गर्नेले कसरी नयाँ नेपालको निर्माण गर्न सक्छन्?
उल्लिखित उत्तरविहीन प्रश्नहरूको झटारोले म घाइते हुन्छु। घाइते मनको ओखति हुँदैन। ओखति नपाएर मेरो घाउ बल्झिंदै मलाई नै सताएर हायलकायल पार्न उद्दत छ। म चुपचाप सहन बाध्य हुन्छु तर सहनु पनि कहिलेसम्म? ‘पर्ख र हेर’ अर्थात् सहनुको र पर्खिनुको आशा गर्नुको पराकाष्टा नाघिसकेको छ।
मनभरिको भारी, चारैतिरको अस्तव्यस्तता र अनिश्चित भविष्यको त्रासले गर्दा यसपालिको भाइटीका भनेजस्तो कहाँ हुनु र!
यसपालिको भाइटीका यस्तै रह्यो। निधार खाली नै भयो, गलामा माला पहिरिनै नपाइ भाइटीका सकियो। त्यो खाली निधार यसपालिको पर्वको सबैभन्दा ठूलो प्रतीक बनेर रह्यो– एउटा यस्तो प्रतीक, जसले भन्छः जहाँ मन खुसी छैन, त्यहाँ हजारौं रङको कुनै अर्थ रहँदैन। यो भाइटीका एउटा पाठ बनेर रह्यो– मनको शान्ति नै सबैभन्दा ठूलो चाड हो। र, त्यस शान्तिको प्रतीक्षामा, अर्को सालको भाइटीकाको पूर्णताको कल्पना मनमा अङ्कित छ।
यसपालिको भाइटीका कुनै उत्सव होइन, एउटा मौन प्रतीक्षा मात्रै बन्यो– जसमा उज्यालो पनि अन्धकार जस्तै लाग्थ्यो र हाँसो पनि अश्रुसँग मिसिँदै गइसकेको थियो। हरेक वर्षको जस्तै मिठास, माला, टीका र हाँसोको लहर यो वर्ष किन हो किन, अधुरो रह्यो। समय नै मानौं थकित थियो र देश पनि खरानीबाट बामे सर्ने प्रयत्नमा, ढलपलिएको मन लिएर जीवनको अर्थ खोज्दै थियो।
देशको अस्तव्यस्तताले चाडपर्वको आत्मालाई कतै हरायो। अनिश्चितता र अपसगुनले मनहरूलाई कुम्मलिंदै लगे। टिका लगाउने हात काँप्थे र आशीर्वाद दिने मुखहरूमा शब्द गुम्थे। भाइटीकाको त्यो सुगन्धित परम्परा – जहाँ दिदीको माया र भाइको उमङ्ग मिसिन्थ्यो। बहिनीको आशा र भाइको श्रद्धा सार्वजनिक हुन्थ्यो।
परन्तु यसपालिको पर्व कुनै अज्ञात नीरवताभित्र हरायो तर यो मौनतामाथि पनि प्रकृतिले कहिलेकाहीँ मुस्कुराउँथ्यो। आकाश खुल्थ्यो, हावा न्यानो लाग्थ्यो र परपरका पहाडहरू सुनौलो उज्यालोमा नुहाउँथे। मानौँ प्रकृतिले भनिरहेको थियो, ‘म त तयार छु, तिमीहरूले मात्र हर्ष कायम राख्न उत्सव मनाउन बिर्सियौ।’
त्यो आवाज सुन्दा मनमा एउटा सानो प्रश्न गुञ्जिन्थ्यो – के हाम्रा चाडहरू अब चलनका सम्झना मात्र बन्ने हुन्? के भाइटीका जस्ता ममताभरिका दिनहरू पनि राजनीति र पीडाका धुलोमा पुरिँदै जाने हुन्? वा कुनै दिदीबहिनी अथवा दाजुभाइ टाढिँदैमा उत्सवको उमङ्गले पनि नेटो काट्ने हो? भैली र देउसेको जमघटले पनि माया मार्ने हो? फूलमालाको औचित्य सकिने हो? झिलिमिली बत्ती र सप्तरङ्गीको सुन्दरताले पनि विदा लिने हो?
यसपालिको भाइटीका, त्यसैले, एउटा चित्र बनेर रह्यो– अधकल्चो, अधुरो र आत्माको पीडाले छोपिएको। निधार खाली रह्यो, माला गलामा नपाइयो, तर सम्झना भने गहिरो रह्यो। त्यो सम्झनामा दिदीको स्नेह, भाइको मौन दृष्टि र मनभित्र थुनिएको असहाय मुस्कान अझै जीवित छन्।
सके अर्को वर्ष, जब देशले फेरि उठ्ने साहस पाउनेछ, जब मानिसहरू एक अर्कामा माया र भरोसा फर्काउनेछन्, तब भाइटीकाले फेरि अर्थ पाउनेछ। फेरि आकाशमा चङ्गा उड्नेछ, फेरि पिङमा प्रतिस्पर्धा हुनेछ र मखमल, सयपत्रीहरू पुनः हाँस्ने छन्। तिनले दाजु र भाइका गलामा सुगन्ध फैलाउँदै सजिने अवसर पाउनेछन्। दिदी र बहिनीको ओठमा खुसीको चमक ल्याउनेछन्।
परन्तु अहिलेका लागि– यसपालिको भाइटीका त्यही मौन दृश्य हो, जहाँ बत्तीको उज्यालोले पनि अन्धकार झल्कायो, जहाँ चेलीको हातको टीका सुक्खा रह्यो, माइतीको निधारमा विछोडको रेखाहरूमा कोरियो। जहाँ मुटुका भावनाहरूले मात्र त्यो दिनलाई अर्थ दिए – देखिने, नबोलिने, तर गहिरो मानवीय संवेदनाले भरिएको अर्थ अर्थिने।
प्रकाशित: ७ कार्तिक २०८२ ११:२७ शुक्रबार