१) मुक्तक
कहिले जातको खेती हुन्छ कहिले धर्मको खेती हुन्छ
संस्कृति सम्पदामा प्रहार गर्दै यहाँ मर्मको खेती हुन्छ
दुराचारी भए सबै भएनन् देश चलाउने नेता गतिला,
यहाँ सधैं राजनीति गर्ने दाउमा कुकर्मको खेती हुन्छ।
२) मुक्तक
सके हाम्रो संस्कृति रीतिरिवाज लागि सबै उदाङ्गो बनाए
जात धर्म भजाएर आफ्नालाई आफ्नैसँग बाङ्गो बनाए
फोहोरी राजनीतिको खेल खेलेर दलाल भ्रष्टाचारले,
सके कला सौन्दर्य प्रकृति सम्पदा देशलाई नाङ्गो बनाए।
३) मुक्तक
कहिले उत्तर कहिले दक्षिणतिर चाकरी चाप्लुसी गरेर
जनताको दिमागमा जात धर्मको विषयुक्त वाणी भरेर
बालिरहन्छन् सधैं देशमा अराजकता र दण्डको आगो,
दलाल तस्कर भ्रष्टाचारीले भ्रम अनि झुटको बिउ छरेर।
४) मुक्तक
देश र जनताको सेवा गर्छौं भन्ने सबै विचारहरू हराए
भोट माग्न आउँदा बनाएका फेरिस्ताका सारहरू हराए
चुनाव आउँदा आश्वासनका फोस्रा भाषण छाँटिरहन्थे,
सबै झुटा भए नेताहरू विश्वास गर्ने ती आधारहरू हराए।
५) मुक्तक
सकिन्छ नि जनतालाई सजिलै भेडा बनाउन सकिन्छ
जसरी दूधमा बिस्कुट मिसाएर पेडा बनाउन सकिन्छ
सदियौंदेखि चल्दै आएको यो राजनीतिको खेल हो,
झुक्याई अर्को पाँच वर्ष पनि जगेडा बनाउन सकिन्छ।
६) मुक्तक
भत्किन्छन् ती भौतिक घरहरू रहर कहिल्यै भत्किँदैन
अटल हुनुपर्छ दृढ बनी भरोसा र भर कहिल्यै भत्किँदैन
सक्दैन कसैले छेक्न ती लक्ष्य भेट्न हिँडेका यात्रीलाई,
परिश्रम पसिना मेहनत पौरखको घर कहिल्यै भत्किँदैन।
७) मुक्तक
बन्द कोठाभित्र अनकन्टार कारागारमा छ जिन्दगी
अचानोमाथि राखिएको खुकुरीको धारमा छ जिन्दगी
विवशता बाध्यतामा बाँधिएको छ जन्जिरहरूले जेलिएर,
सधैंको दुःखपीडा अभाव यातना र हारमा छ जिन्दगी।
८) मुक्तक
जीवन भन्नु त केही खुसी केही पिरहरूको संगम रहेछ
अविछिन्न सामना गर्नुपर्ने जन्जिरहरूको संगम रहेछ
सुख खुसी र मिलन भन्नु त दुई दिनका पाहुना रहेछन्
जिन्दगी त छिचोल्नै नसकिने भिरहरूको संगम रहेछ।
९) मुक्तक
मिलाईमिलाई हजुर पनि हान्नुहुन्छ थाहा छ
दुनियाँलाई आफू जस्तै ठान्नुहुन्छ थाहा छ
बाउले ठगे देवर अनि ठगिन भाउजूले नि,
चोर हो तपाई चोरकै खुट्टा तान्नुहुन्छ थाहा छ।
१०) मुक्तक
देशै खाए कोहीले चाहिँ कोहीले बारी खाए
कोहीले चाहिँ चिया बगान सहकारी खाए
नातागोता बाउ र छोरा देवर भाउजू मिल्दै,
गरिब निर्धो तन्नम जनता मारीमारी खाए।
११) मुक्तक
दाइँ गरेर जनतामाथि सिनेट पनि खाए
मिलीजुली मासु चिउरा चकलेट पनि खाए
जङ्गल खोला गिट्टी बालुवा खाए नेता मिली,
घाटको लागि छुट्याइएको बजेट पनि खाए।
१२) मुक्तक
हिजो जसले यो देश सके तिनै भन्छन् जान्ने
मै हुँ भन्दै हरदम आफूलाई महाराजा ठान्ने
होक्काँ गर्दै अझै तिनै डुटुक्रिँदैछन् हेर्नुस्,
जनता ढाँट्ने सधैँभरि उखान टुक्का हान्ने।
प्रकाशित: २२ कार्तिक २०८२ १२:०० शनिबार



