१) गजल
घाउ नै घाउ छ मुटुभरि, कति चोट परेको हो,
आँखाभरि नमी किन आज यति झरेको हो।।
नरोऊ भन्छ मनले आफैँ भक्कानिँदै पनि,
पीडाले आँसु बनी कुन बाटो रोजेको हो।।
क्षितिजपारि तिमी हुँदा मुटु किन जल्छ यहाँ,
सम्झनाले हरेक श्वासमा कस्तो विष भरेको हो।।
पूजेर पनि भगवान्ले भाग्य मेरो फेरिएन,
चोट दिने त गए टाढा, तक्दिर किन हरेको हो।।
२) गजल
मिलन–बिछोड, हाँसो–रोदन जिन्दगीका रीत बने,
अँधेरीमा झरेका आँसु बिहानीका शीत बने।।
पुराना ती घाउ बल्झिँदा ज्वारभाटा उठ्छ मनमा,
कति पीडा गजल बने, कति पीडा गीत बने।।
चाहेर पनि सबैलाई यहाँ खुसी पार्न सकिनँ,
कति आफ्ना पराई भए, कति दुश्मन मीत बने।।
जिन्दगीको यात्रामा यात्री धेरै भेटिए पनि,
मझधारमा एक्लै भएँ, सबै यात्री अतीत बने॥
प्रकाशित: ७ भाद्र २०८३ १०:५२ आइतबार