कला/साहित्य

सिद्धान्त

लघुकथा

‘‘वियोग, तिमी वियोगान्त छौ कि के हो? सधैं फ्रस्टेशनको मात्रै कुरा गर्छौ त।” विजेताले वियोगसमक्ष जिज्ञासा राखी।

‘‘म वियोगान्त छैन विजेता। परिस्थितिअनुकूल नहुँदा फ्रस्टेशनको कुरा गर्नु स्वभाविक हैन र?” वियोगले विजेतालाई प्रष्टीकरण दियो।

वियोग भोजपुरे हो। विजेता पाल्पाली हो। यी दुईको भेट टीयू कीर्तिपुरमा भएको हो। दुवैले नेपालीमा मास्टर्स गर्दै छन्। वियोग गम्भीर देखिन्छ। विजेता चञ्चल देखिन्छे।

वियोग अलि भावुक छ। भावनामा बगिदिन्छ।

विजेता भावनामा बग्दिनँ। उ कठोरता प्रकट गर्छे। वियोग कथा पढ्न र लेख्न रुचाउँछ। विजेता कविता पढ्न र लेख्न रुचाउँछे।वियोग स्ववियु उपाध्यक्ष हो। विजेता स्ववियु सचिव हो। यी दुई भिन्नाभिन्नै विद्यार्थी सङ्गठनको नेतृत्व गर्छन्।

वियोग अनेरास्ववियु र विजेता अनेरास्ववियु क्रान्तिकारीको तर्फबाट स्ववियु मा निर्वाचित भएका हुन्। दुइटैले आफूलाई वामपन्थी ठान्छन्। सैद्धान्तिक धरातल एउटै भए पनि नीति र व्यवहार फरक परेको कारण वियोग र विजेता तर्कवितर्क गर्छन्।मार्क्सवादी दर्शनबाट निर्देशित यी दुई माओवादी विचारधाराबारे फरक दृष्टिकोण राख्छन्।

पारिवारिक पृष्ठभूमि, रहन सहन र जीवनशैली एकै किसिमको छ।यी दुई निम्न मध्यमवर्गीय परिवारका सदस्य हुन्। दुइटैका बाबु शिक्षण गर्छन्। आमा सिलाइबुनाइ गर्छन्। संयोग पनि विचित्रको छ।

यी दुई बिच भावनात्मक निकटता बढिरहेकै छ। वियोग र विजेताको मन एक हुन सिद्धान्तले छेक्ला र?

प्रकाशित: ९ जेष्ठ २०८३ ०७:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App