कला/साहित्य

महाज्ञानी योगमायाको परम सत्य रूप

पुस्तक

योगमाया अपरिचित नाम होइन। उनका बारेमा धेरैले लेखिसकेका छन्, बोलिसकेका छन् र क्रान्तिकारी, अग्रणी, चमत्कारी, आँसु कवियत्रीका रूपमा चिनाइसकेका छन्।

२०८३ मा प्रकाशित प्रस्तुत परम महादेवी योगमाया अवतार पुराणका लेखक पवित्रराज सेवक (खत्री) ले भगवती, शक्तिमाता, महाज्ञानी योगमायाका रूपमा प्रस्तुत गरेका छन्, जुन कुरा अहिलेसम्म बाहिर आएको थिएन। यस पुराणमार्फत योगमायाको परम सत्य रूप, ज्ञान र ईश्वरीय व्यक्तित्व सार्वजनिक भएको छ।

प्रस्तुत पुराणमा योगमायाको बालविवाहदेखि जल समाधिसम्मका व्यक्तिगत, पारिवारिक, सामाजिक, राजनीतिक, साहित्यिक, आध्यात्मिक, दैविक आदि पक्षलाई विभिन्न शीर्षक दिएर उनको सिंगो जीवन प्रस्तुत गरिएको छ तर पनि उनको ध्यान, जप, तप र ईश्वरीय अवतार पक्षलाई प्रकाश पार्नु यस पुराणको मूल ध्येय रहेको छ।

यस पुराणको श्रीगणेश योगमायाकै अमृतवाणीबाट गरिएको छ। योगमायाले कवितालयमा पनि भक्तहरूलाई धेरै वाणी दिएकी थिइन्, तीमध्ये अधिकांश संकलन गरी २००६ सालतिर प्रकाशन गरिएको सर्वार्थ योगवाणी यसै पुराणमा साभार गरिएको छ। यो ८३ पृष्ठको रहेको छ। ‘श्री योगमाया शक्तिमाता (शिवशक्ति) को दर्शन’ शीर्षकमा लेखकले सपनामा योगमायासँग गरेको अन्तरसंवाद प्रस्तुत गरिएको छ। अन्तरसंवादबाट पनि योगमाया को हुन् भन्ने धेरथोर जानकारी दिइएको छ।

यसैगरी योगमायाका बारेमा प्रथम चरणदेखि तीसौं चरणसम्म प्रस्तुत गरिएको छ। प्रथम चरणमा ‘परम सत्य अनादि योगमाया परमात्मा’ शीर्षकमा सृष्टिकालदेखि हालसम्म जेजति भगवान्–भगवतीको अवतार भएका छन्, ती सबै परमात्माका लाखौं रूप हुन् भन्ने देखाइएको छ। योगमायालाई भगवती र उनको तपस्यास्थल मझुवावेसीलाई पशुपतिनाथ क्षेत्र, मुक्तिनाथजस्तै पवित्र तीर्थधाम वा तीर्थस्थलका रूपमा प्रस्तुत गरिएको छ।

दोस्रो चरणमा योगमायाको बालविवाह र पतिघर त्यागेको विषय उल्लेख छ। पहिलो विवाह भएको घरमा उनले पीडा, अवहेलना, अपमान, तिरस्कार मात्र पाइन्। त्यो महादुःखबाट मुक्त हुन उनले त्यो घर त्यागेको देखाइएको छ।

घर त्याग्दा मध्यरातको समय थियो। मुसलधारे पानी परिरहेका बेला जंगलको बाटो हिँड्नुपर्‍यो। बिच जंगलमा पुग्दा बाघ देखापर्‍यो। बालिका योगमाया बेहोस भइन् तर बाघले नजिकै आएर उनलाई परिक्रमा गरी ढोगेको, बाघ गएपछि कोही बालिकाले योगमायालाई उठाएर खाना खुवाएको, रातभर योगमायासँग कुरा गर्दै यात्रा गरेको, उज्यालो भएपछि बालिका एकाएक हराएको रोचक प्रसंग प्रस्तुत गरिएको छ।

योगमाया भारत र नेपालका मुख्य तीर्थस्थान भ्रमण गरी मझुवाबेसी आइपुगिन्। त्यसपछि नै उनले तपस्या सुरु गरेकी थिइन्। यसपछि उनको बाँकी जीवन जप, तप, ध्यान र भक्तहरूलाई प्रेम र अमृतवाणी दिएर बितेको देखाइएको छ।

योगमायाको तप यात्रालाई तीन चरणमा विभाजन गरिएको छ। तेस्रो चरणमा नौ दिन पञ्चाग्नि तप गरेको र यही समयमा उनको अन्तरहृदयबाट मन्त्र प्रस्फुटित भएको छ। त्यो हो– सत्य ॐ नमः शिवशक्ति सचेत सत्य शरण सत्य शरणागतः प्रभु शरणागतः। यही मन्त्र आज पनि योगमाया धाम मझुवाबेसी र सत्य शिवशक्ति धाम बुम्लिङ्गमा भजनका रूपमा कीर्तन र जप गरिन्छ।

आठौं चरणमा पर–त्रिलोक यात्रा वर्णन छ। सत्रौं चरणमा डिल्लीबहादुर दम्पतीले छोराछोरीसहित जल समाधि लिएको विषय उल्लेख छ। योगमायाप्रति अगाध प्रेम, विश्वास र आस्था भएका डिल्लीबहादुरले मोक्षका निम्ति छोराछोरी, पत्नीसहित सपरिवार जल समाधि लिएको घटना उल्लेख छ।

बीसौं चरणमा सत्य धर्म परायण (धर्मराज्य) मागपत्र श्री ३ मा पेस गरेको विवरण छ। चौबीसौं चरणमा सत्य शिवशक्ति अवतार रूप श्रीराम (सत्य शिवशक्ति) भेट्न पटकपटक बुम्लिङ्ग गएको र पच्चीसौं चरणमा शिवको प्रत्यक्ष दर्शन पाएको विवरण छ।

सत्ताइसौं चरणमा योगमाया र उनका भक्तहरूलाई पक्राउ गरी जेल चलान गरेको सन्दर्भ छ। तत्कालीन भोजपुर ब्यारेकका मेजर माधवशमशेर नेतृत्वको फौजले १९९५ साल कात्तिकमा योगमायासहित २५–३० जना भक्तहरूलाई पक्राउ गरी भोजपुर र त्यसपछि धनकुटा जेल पुर्‍यायो। जेलमा रहँदा योगमायाले भजनकीर्तन गरिरहिन्।

एक दिन जेलमा आश्चर्यजनक घटना भयो। सिपाहीहरू योगमायालाई जेलभित्र थुनेर बाहिर आउँथे, योगमाया बाहिर देखिन्थिन्। सिपाहीहरू फेरि योगमायालाई जेलघरमा थुनेर ढोकामा ताल्चा लगाई खडा बस्थे। एकछिनपछि योगमाया फेरि बाहिरै देखिन्थिन्। यस्तो घटना पटकपटक दोहोरिएपछि सिपाही र जेलका कर्मचारी आश्चर्यचकित परे। यो खबर श्री ३ सरकारसम्म पुग्यो। यो घटनाको खबर पाएपछि राणा सरकारले डराएर केही दिनमै योगमायालाई जेलमुक्त गरिदिएको छ।

तत्कालीन समयमा जसले राणाशासनको विरोध गर्थ्याे, त्यसले कठोर जेल सजाय पाउँथ्यो। यस्तो निरंकुशताका कारण राणा सरकारसँग समाज सुधारका कुरा राख्न जोकोही डराउँथे तर योगमाया डराइनन्। उनले हाकाहाकी जुद्धशमशेरसँग धर्मराज्यको प्रस्ताव राखेकी थिइन्। त्यो अदम्य साहस उनीभित्रको ईश्वरीय शक्तिले दिएको थियो। भोजपुर जेल घटना पनि योगमायाको त्यही ईश्वरीय शक्तिका कारण भएको थियो। राणाहरू डराएर योगमायासँग झुक्नुको कारण पनि उनको ईश्वरीय शक्ति नै थियो।

उनन्तीसौं चरणमा योगमायाले भक्तलाई चार बाहुलीको दर्शन दिएको विवरण उल्लेख छ। गौडिनी जंगलभित्र एउटा गुफा छ, जसलाई गौडिनी गुफा भनिन्छ। एक दिन योगमाया मुख्य भक्तहरूलाई साथ लिएर यसै गुफामा गइन्। यही गुफामा योगमायाले जल समाधिमा जाने निर्णय गरेकी थिइन्। साथसाथै भक्तहरूलाई आफ्नो चार बाहुली रूपको दर्शन पनि दिएकी थिइन्, जुन गुफाको तस्बिर पनि यसै पुराणमा समावेश छ। यस पुराणमा लेखकले योगमायालाई महादेवी, भगवती, शक्तिमाता, जननी, जगदिश्वरी, परमेश्वरी आदि शब्दले सम्बोधन गरेका छन्।

यी शब्दले योगमायालाई सम्बोधन गर्दा पाठक वर्गलाई अनपत्यार लाग्ला तर यी शब्द भक्तहरूका हुन्। आश्रममा भक्तहरू यिनै शब्दले योगमायालाई सम्बोधन गर्थे? योगमायासँग जुन ईश्वरीय शक्ति थियो, बेलाबेलामा त्यसको प्रत्यक्ष दर्शन भक्तहरू पनि पाउँथे र त्यसैअनुसार योगमायालाई यिनै शब्दले सम्बोधन गर्थे। भक्तले योगमाया ईश्वरीय शक्तिमाता हुन् भनेर चिन्ने अवसर पाएका थिए।

भक्त र भगवान्बिचको भक्ति कृष्ण–अर्जुन–सुदामा र राम–हनुमानका बिचमा जति छ, योगमाया र उनका भक्तका बिचमा पनि त्यति नै छ। यी शब्द पनि त्यही भक्ति र प्रेमले नै जन्माएको थियो। यो पुराण पढेर योगमायाका बारेमा छेउटुप्पो बुझ्न त सकिएला। चिन्नकै लागि उनको भक्ति, प्रेम, ध्यान, जप, तप र ईश्वरीय अवतारसम्म पुग्नैपर्छ।  

योगमायाले मझुवाबेसीस्थित अरूण नदीमा १९९८ साल असार २२ गते एकदशीका दिन जल समाधि लिएकी हुन्। जल समाधि लिएको ठाउँमा एउटा ठुलो ढुंगा छ, त्यही ढुंगामा उभिएर योगमायाले ६७ भक्तसहित एकै समय जलसमाधि लिएकी थिइन्।

यतिका भक्त योगमायासँगै किन जल समाधिमा गए? यसको तात्पर्य के थियो? यसको यथार्थ यस पुराणमा उल्लेख छ। जल समाधि लिनेहरूको नामावली पनि यस पुराणमा उल्लेख गरिएको छ।

सर्सर्ती पढ्दा पाठक वर्गलाई धार्मिक पुस्तक जस्तो लाग्ला, तर योगमायाको ध्यान, जप, तप र ईश्वरीय अवतार पक्षलाई उजागर गरिएको आध्यात्मिक पुराण हो यो। यो पुराण पढेपछि मूलतः योगमायाका बारेमा जान्नुपर्ने कुरा बाँकी नरहला। प्रथमपटक प्रकाशित ५७० पृष्ठको यो पुराण सहारा प्रिन्ट कनेक्सन डिल्लीबजारले छापेको हो। यिनै र यस्तै घटनावली समेटेर लेखिएकाले यसमा सरल वाक्य छन्। प्रेम र भक्तिरसले भरिएको यो पुराण पाठकका लागि मननीय, पठनीय र संग्रहणीय पनि छ।

प्रकाशित: २७ भाद्र २०८३ ११:५१ शनिबार