कला/साहित्य

‘नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान’ काे तीसाैं शृङ्खला सम्पन्न

‘नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान’ अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा गरिँदै आएको मासिक कथा वाचन कार्यक्रमको तीसौं श्रृङ्खला सम्पन्न भएकाे छ।

सधैँ जस्ताे कुनै दिवंगत स्रष्टाको सम्मानमा एउटा कथा वाचन गरेर कार्यक्रम आरम्भ गर्ने गरिए अनुसार सर्वप्रथम कथाकार हृदयचन्द्र सिंह प्रधानको ‘सौता’  कथा ऐतिहासिक साहित्यिक पत्रिका शारदा मासिकको वर्ष १३ सङ्ख्या ९ (२००४ ) पौषको अङ्कबाट डा. पवित्रा अधिकारीले वाचन गरेकी थिइन्। त्यसपछि अन्य तीन प्रतिष्ठित कथाकारले २०७० को दशकका विभिन्न वर्षमा प्रकाशित आआफ्ना कथा वाचन गरेका थिए।

कथाकार रमेशजङ्ग थापाले २०७९ असोज २९ को गोरखापत्रमा प्रकाशित ‘हाम्रा बा हुन्नन्’ शीर्षकको कथा, कथाकार प्रमोद प्याकुरेलले साहित्यिक मासिक ‘आलेख‘ को २०७७ असारको अङ्कमा प्रकाशित कथा ‘छ्याक लोह’ र कथाकार इन्दिरा प्रसाईले २०७१ को युवामञ्चमा प्रकाशित भई पछि आफ्नै कथासङ्ग्रह ‘मेरो कथा नलेखिदिनू’ (२०७४) मा सङ्गृहीत ‘श्री’ शीर्षकको कथा वाचन गरेका थिए।

कार्यक्रमको परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथा साहित्यमा पुनर्जागरण ल्याउने पवित्र उद्देश्यले दुई जनाको परिकल्पनामा थालेको यो अभियान कथाकारहरू र कथाका गम्भीर पाठकहरूबिच लोकप्रिय हुँदै गएकोमा खुसी व्यक्त गरेका थिए।

यसमा प्रतिष्ठित कथाकारहरू र भर्खर कथा प्रकाशन गर्न थालेका नयाँ पुस्ताका प्रतिभावान् स्रष्टाहरूलाई पनि मौका दिने गरिएको स्मरण गराए।

तीसौं श्रृङ्खलासम्म आइपुग्दा विभिन्न प्रयोग गरिएको कुरा उल्लेख गर्दै उनले कहिले विश्वविद्यालयका प्राध्यापक, कहिले प्रसिद्ध समालोचकहरू आमन्त्रण गरी वाचन गरिएका कथाको समीक्षा गर्ने काम भइरहकाे बताए।

गत महिनादेखि कथाका प्रबुद्ध पाठकहरू र कथाकारहरूका बीचमा अन्तर्क्रिया गर्ने गरिएको कुरा पनि उल्लेख गरे।

स्रष्टाहरूसँगको अन्तर्क्रियामा कथाकार र कथानुरागीहरू शैलेन्द्र साकार, हरिबोल आचार्य, निर्मला ढुंगाना, जेठा वैरागी लगायतले भाग लिएका थिए।

उपन्यासकार शुकदेव उपाध्यायले सञ्चालन गरेकाे कार्यक्रममा अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले धन्यवाद ज्ञापन गर्दै प्रस्तुत कथाहरूको सङ्क्षिप्त चर्चा गरेका थिए। उनले दिवंगत स्रष्टा हृदयचन्द्र सिंह प्रधानको कथाले असी वर्षअघिको नेपाली समाजको यथार्थ चित्रण गरेको बताए।

त्यस्तै ‘हाम्रा बा हुन्नन्’ कथाले कर्णाली प्रदेशको जनजीवन बोलेको र ‘छ्याक लोह’ ले नेपाल एकीकरणको बेलामा कीर्तिपुरको एउटा घटनाको स्मरण गराएको उल्लेख गरे। त्यस्तै  ‘श्री’ कथाले विज्ञानको नौलो आविष्कारको विषयवस्तु रोचक ढङ्गले प्रस्तुत गरेको हुनाले स्रोताहरूले फरकफरक स्वादका कथा सुन्न पाएको चर्चा गरे। 

प्रकाशित: २७ वैशाख २०८३ १२:४१ आइतबार