कला/साहित्य

अर्काको श्रम पसिनाले जुनीजुनी पोल्छ!

मुक्तक

१) मुक्तक

शिर झुकाउँदै बढ्छ फर्सी ठुलाठुला फल दिन्छ

सानैदेखि ठाडो शिर छ बाँस त थारै निहुरिन्छ

मानिसको सार विद्वता हो विद्याले ऊ झुकीझुकी

सत् र असत् राम्रै चिन्छ सत्कर्ममा ज्यानै दिन्छ।

२) मुक्तक

गन्हाएर बस्ने होइन मगमगाउँदै जानू

एक्लै होइन कसैलाई भाग लगाउँदै खानू

अर्काको श्रम पसिनाले जुनीजुनी पोल्छ।

श्रमले आफ्नै रक्तस्वेद बगाउँदै खानू।

३) मुक्तक

त्यो दिलभित्र यो दिल सारेँ गल्ती मेरै भयो

दुख पोखेँ आँसु झारेँ गल्ती मेरै भयो

कसाहीको अघिल्तिर रुने बाख्रो बनी

म र जहान बरबाद पारेँ गल्ती मेरो भयो।

४) मुक्तक

दिनमा देख्थेँ तिमीलाई दाइँबिनाको मियो

रातमा लाग्थ्यो तिमी मलाई तेलबिनाको दियो

घ्यू छोडेर गोबर छान्न पुगेँ अभागिनी

पछुताउँदै सोच्छु दिनदिन पहिलो असल थियो।

५) मुक्तक

हजुरबुबाले बडासामु धक मानेर नाम राखे

बाहरूले बकम्फुसे गफ हानेर नाम राखे

युगानुसार नाम कमाउन सक्नुपर्छ जसले पनि  

छोराछोरी शहर पसे ड्रग तानेर नाम राखे।

प्रकाशित: २९ असार २०८३ १३:३२ सोमबार