कला/साहित्य

रोकिएको ‘वीर गणेशमान’ मंसिर ४ देखि पुनः मञ्चन हुँदै

भदौ १० मा गएको विनाशकारी भोटेकोसी बाढीका कारण केही दिनमै मञ्चन रोकिएको नाटक ‘वीर गणेशमान’ फेरि मञ्चन हुने भएको छ।

मंसिर ४ देखि १९ गतेसम्म कालिकास्थानको सर्वनाम थिएटरमा नाटक मञ्चन हुने भएको हो। मञ्चनअघि निर्माण पक्षले नाटकको औपचारिक ट्रेलर पनि युट्युबमा सार्वजनिक गरेको छ।

गणेशमान सिंह फाउण्डेसनको आयोजना र सर्वनामको प्रस्तुतिमा तयार पारिएको नाटकको परिकल्पना, नाट्य रूपान्तरण र निर्देशन वरिष्ठ रङ्गकर्मी अशेष मल्लको रहेको छ।  

नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५ बजे प्रदर्शन हुनेछ। शनिबार दिउँसो १ बजे अतिरिक्त शो राखिएको छ। नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जीवन, सङ्घर्ष, त्याग, साहस र निष्ठामा आधारित नाटक रहेको छ।

सत्ता र शक्तिका अगाडि नझुकेका क्रान्तियोद्धा गणेशमान सिंहको जीवन र संघर्षमा आधारित नाटकले १०३ वर्ष लामो राणाशासनविरुद्ध नागरिक अधिकारका लागि उनले देखाएको साहसलाई प्रस्तुत गर्छ। जन्मकैदको सजाय पाएका गणेशमान भद्रगोल जेलबाट भागेको घटना र २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्रीको पद त्यागेको ऐतिहासिक क्षण नाटकमा समेटिएको छ।

स्क्रिप्ट सम्पादन प्रा.डा. सावित्री कक्षपतीले गरेकी हुन्। करिब दुई घण्टा लामो नाटकमा निर्देशक मल्लले ५० वर्षको नाट्ययात्रामा पहिलोपटक विम्ब र प्रतीकको शैली छाडेर यथार्थपरक प्रस्तुति अँगालेका छन्।

नाटकमा वीर गणेशमानको भूमिका अभिनेता अभयराज बरालले निभाएका छन्। पहिलेको मञ्चनमा उनको निकै प्रशंसा भएको थियो।

नाटकमा नुषा लिङ्देन लिम्बू, माया मानन्धर, मीना पूर्णिमा, मनिष अर्याल, राम दाहाल, राजन मोक्तान, दुर्लभ सिंह कार्की, निश्चल डी इन्फिनिटी, रमेश वज्राचार्य, प्रदीप भट्ट, अरमान शाही, अनिश बोगटी, शिशिर घर्ती मगर, दिवस गौतम, भक्त श्रेष्ठ, निर्मल शाही, समीर आचार्य, शाश्वत सापकोटा, रुबिन सुनार र रोलेक्स राईको पनि अभिनय छ।

निर्देशक मल्लका अनुसार ‘वीर गणेशमान’ केवल कुनै ऐतिहासिक व्यक्तित्वको जीवनीमा आधारित नाटक मात्र नभइ निष्ठा, इमानदारी, त्याग र देशप्रतिको समर्पणको कथा हो।

प्रकाशित: १ मंसिर २०८३ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App