धेरै दर्शकले ‘वरिष्ठ बलराम’ चलचित्रले मनोरञ्जनसँगै सामाजिक सन्देश दिएको प्रतिक्रिया दिएका छन्। कतिपयले यसलाई “माटो सुहाउँदो कथा” भएको बताएका छन्।
तिहारको भाइटीकाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ ले देशभरका सिनेमा हलमा उत्साहजनक अकुपेन्सी हासिल गरेको छ। दयाहाङ राई र विजय बराल स्टारर यो चलचित्रले पहिलो दिनदेखि नै दर्शकको उल्लेख्य साथ पाएको निर्माण पक्षले जनाएको छ।
निर्माताका अनुसार चलचित्रले रिलिजको पहिलो दिन ७० देखि ८० प्रतिशतसम्म अकुपेन्सी हासिल गरेको छ भने राजधानीदेखि बाहिरी सहरका सिनेमा हलहरूमा समेत दर्शकको भीड देखिएको छ। अकुपेन्सी राम्रो भएपछि केही हलले शो पनि थपेका छन्।
निर्माता आशिष एच तामाङका अनुसार ‘वरिष्ठ बलराम’ का अधिकांश शो हाउसफूल रहेका छन्।
उनले भने, “पहिलो दिन बिहानैदेखि धेरै शो हाउसफूल भएका थिए। आज दोस्रो दिन पनि सिनेमा हलमा दर्शकको उपस्थिति उच्च छ। चलचित्र हेर्ने अधिकांशले राम्रो प्रतिक्रिया दिएका छन् र वर्ड अफ माउथ निकै सकारात्मक छ।”
दयाहाङ र विजयको स्क्रिन केमिस्ट्री, संवाद र कथा प्रस्तुतिलाई दर्शकले मन पराइरहेका छन्। दोस्रो दिन शुक्रबार पनि बिहानैदेखि टिकट काउन्टरमा दर्शकको चहलपहल देखिएको छ।
सकारात्मक रिभ्युसँगै निर्माणपक्ष चलचित्रको व्यापारप्रति आशावादी देखिएको छ। निर्माता तामाङले भने, “दर्शकको प्रतिक्रिया हेर्दा चलचित्र लामो समयसम्म हलमा चल्ने विश्वास बढेको छ।”
‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ।
चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन्। निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी. घिमिरे छन्। लाइन प्रोड्युसर राम विष्ट हुन्।
मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको हो।
प्रकाशित: ८ कार्तिक २०८२ ०६:२६ शनिबार