मध्ययुगीन समाजमा महिलामाथि हुने यौन हिंसाका पीडितले न्याय पाउन सक्दैनथे र समाजबाट अपमानित हुनुपर्थ्यो भन्ने आम धारणालाई १५औँ शताब्दीकी एक महिलाको घटनाले चुनौती दिएको छ। सन् १४७२ मा फ्रान्सको डिजोन सहरमा यौन आक्रमणको सिकार भएकी जेहानले आफूलाई न्याय दिलाउन गरेको संघर्षले त्यस समयको न्याय प्रणाली र सामाजिक व्यवहारबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ।
इतिहासकार सारा म्याकडुगलको नयाँ पुस्तक 'जष्टिस फर जेहान'मा उल्लेख भएअनुसार, घटनाका बेला जेहान गर्भवती थिइन्। उनी फ्रान्सको उत्तरपूर्वी क्षेत्र लोरेनमा जन्मिएकी थिइन् र गरिब परिवारबाट आएकी थिइन्।
गर्भवती अवस्थामै आक्रमण
सन् १४७२ जनवरी ३ को साँझ जेहान र उनी बसेको घरकी महिलाले ढोकामा ठूलो आवाज सुने। ढोका खोल्दा दुई स्थानीय पुरुषले उनीहरूलाई आफूसँग जान दबाब दिए। महिलाहरूले अस्वीकार गरेपछि तीमध्ये एक व्यक्ति ड्युकका भाडाका सैनिक ल्याउन नजिकैको सरायमा गएको जेहानले बयान दिएकी थिइन्।
जेहानका अनुसार, त्यसपछि उनलाई नजिकैको खेतमा घिसारेर लगियो र यौन आक्रमणको प्रयास गरियो। आक्रमणकारीहरूले उनको गर्भावस्थाको समेत बेवास्ता गरेका थिए। उनीमाथि कुटपिट गरिएको र भुइँमा पछारिएको थियो। आफू र गर्भमा रहेको शिशुको सुरक्षाबारे उनी निकै त्रसित थिइन्।
घटनाको भोलिपल्टै उजुरी
घटनाको भोलिपल्ट नगर अधिकारीका तर्फबाट अनुसन्धान गरिरहेका ज्याक बोरेस्टेलले जेहानको बयान लिए। उनी घटनापछि ओछ्यानमा थलिएकी थिइन् र गर्भमा रहेको शिशुको अवस्थाबारे चिन्तित थिइन्। त्यसको अर्को दिन उनले छोरीलाई जन्म दिइन्।
जेहानले आक्रमणकारीबारे आफूलाई थाहा भएको विवरण अनुसन्धानकर्तालाई दिइन्। उनको बयानका आधारमा प्रहरीले अधिकांश संदिग्धलाई पक्राउ गर्न सफल भयो।
पूछताछका क्रममा ती पुरुषहरूले सुरुमा आरोप अस्वीकार गरे। त्यसपछि जेहानलाई उनीहरूको सामुन्ने उपस्थित गराएर बयान दोहोर्याउन लगाइयो। उनीहरूले अपराध स्वीकार नगरेपछि नगर अधिकारीहरूले कठोर अनुसन्धान विधि अपनाउन अनुमति दिए। एक संदिग्धलाई पानी प्रयोग गरेर यातना दिइएको थियो। अन्ततः सबैले अपराध स्वीकार गरेको अभिलेखमा उल्लेख छ।
त्यस समय अपहरण र आक्रमणका लागि मृत्युदण्डको व्यवस्था भए पनि अधिकांश अपराधमा अभियोजन हुने गरेको थिएन। यस घटनामा पनि दोषीहरूलाई सजाय दिलाउने प्रयासले राजनीतिक र कानुनी अवरोध सामना गर्नुपर्यो।
पीडित महिलाकै जीवनबारे अनुसन्धान
आक्रमणकारीहरूलाई मृत्युदण्ड दिनुपर्ने निष्कर्षमा नगर अधिकारी पुगेका थिए। ती पुरुषहरू बरगन्डीका ड्युकअन्तर्गतका सैनिक भएकाले अन्तिम निर्णयमा ड्युकको अधिकारसमेत जोडिएको थियो। ड्युकका अधिकारीहरूले उनीहरूलाई रिहा गर्न सिफारिस गरे।
त्यसपछि नगर अधिकारीहरूले जेहानको सामाजिक हैसियत र विश्वसनीयताबारे छुट्टै अनुसन्धान सुरु गरे। उनी विवाहित र सम्मानित महिला थिइन् वा समाजले अनैतिक ठान्ने जीवन बिताइरहेकी थिइन् भन्ने पत्ता लगाउने प्रयास गरिएको थियो।
अनुसन्धानका क्रममा जेहानका श्रीमान् वर्षौँअघि युद्धमा गएको र त्यसपछि उनी एक पादरीसँग सम्बन्धमा रहेको तथ्य बाहिर आयो। ती पादरीबाट उनका दुई सन्तानसमेत जन्मिएका थिए।
जेहानले सुरुमा आफ्नो जीवनबारे केही कुरा लुकाएको स्वीकार गरिन्। उनले जीविकोपार्जन गर्न आफूले कठिन निर्णय गर्नुपरेको बताएकी थिइन्।
व्यक्तिगत जीवनका कारण न्यायको अधिकार खोसिएन
इतिहासकार म्याकडुगलका अनुसार, जेहानको व्यक्तिगत जीवनबारे तथ्य सार्वजनिक भए पनि अधिकारीहरूले उनीमाथिको आक्रमणसम्बन्धी उजुरी फिर्ता लिएनन्। पादरीसँग सम्बन्ध रहेको वा विवाहबाहिर सन्तान जन्माएको तथ्यलाई उनको उजुरी अस्वीकार गर्ने आधार बनाइएन।
यस घटनाले मध्ययुगीन समाजमा यौन हिंसाका पीडितलाई सधैँ दोषी ठहर गरिन्थ्यो वा उनीहरूलाई समाजबाट बहिष्कार गरिन्थ्यो भन्ने धारणामाथि प्रश्न उठाएको छ।
यद्यपि, घटनामा संलग्न सैनिकहरू करिब दुई महिनासम्म जेलमा बसेपछि रिहा भए। ड्युकका अधिकारीहरूले उनीहरू पादरी भएकाले धार्मिक कानुनअन्तर्गत पर्ने दाबी गरेका थिए। यो दाबी विवादास्पद भए पनि नगर अधिकारीहरूको कारबाही सीमित भयो।
जेहानको त्यसपछिको जीवनबारे ऐतिहासिक अभिलेखमा पर्याप्त जानकारी छैन। उनी पछि वेश्यावृत्तिमा संलग्न भइन् वा अन्य जीवन बिताइन् भन्ने कुरा निश्चित गर्न नसकिने अनुसन्धानकर्ताहरू बताउँछन्।
६०० वर्ष पुरानो घटनाले दिएको सन्देश
म्याकडुगलले डिजोनको नगर अभिलेखालयमा सुरक्षित करिब ७० पृष्ठका पुराना दस्तावेज अध्ययन गरेर जेहानको घटनालाई पुनः उजागर गरेकी हुन्।
उनका अनुसार, जेहानको कथा मध्ययुगीन महिलाहरूको अवस्था कठिन भए पनि उनीहरू पूर्ण रूपमा अधिकारविहीन थिए भन्ने धारणालाई चुनौती दिन्छ। जेहानले उजुरी दिइन्, अनुसन्धानकर्तासामु बयान गरिन् र कठिन परिस्थितिमा समेत आफ्नो पक्षमा उभिइरहिन्। छिमेकी तथा परिचितहरूले पनि उनलाई लुक्न र सुरक्षित रहन सहयोग गरेका थिए।
इतिहासकार म्याकडुगलका अनुसार, उपलब्ध अभिलेखमा जेहानलाई यौन आक्रमणको सिकार भएकै कारण समाजले दोष लगाएको वा लज्जित बनाएको स्पष्ट प्रमाण भेटिँदैन।
उनको मुद्दाले पूर्ण न्याय प्राप्त गर्न नसके पनि महिलाले आफ्नो व्यक्तिगत जीवन र सामाजिक प्रतिष्ठाभन्दा अलग रूपमा पनि न्याय माग्न सक्थे भन्ने महत्त्वपूर्ण ऐतिहासिक पक्ष उजागर गरेको छ। करिब ६०० वर्ष पुरानो यो घटनाले यौन हिंसाका पीडितको बयान, सामाजिक पूर्वाग्रह र न्यायमा पहुँचबारे आज पनि बहस गर्नुपर्ने विषयहरू सम्झाउँछ। -बीबीसी
प्रकाशित: ६ कार्तिक २०८३ १६:५२ शुक्रबार