चेतन राईको स्वर तथा संगीत रहेको गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ। नेपाली मौलिक संगीत, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मेरो देश नेपाल’ गीत तथा भिडियो सार्वजनिक गरिएको हो।
पूर्व उपसचिव तथा भाषा आयोगकी सदस्य साहित्यकार उषा हमालकाे प्रमुख आतिथ्य र कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठकाे विशिष्ट आतिथ्यमा कार्यक्रम भएकाे हाे।
कार्यक्रममा नेपाल संगीत कल्याण कोषका अध्यक्ष, गायक तथा संगीतकार रमेश पाठक, राप्ति समाजका अध्यक्ष, गायक तथा संगीतकार गोविन्द मधुर आचार्य र निर्देशक तथा कोरियोग्राफर कृष्ण रसालको विशेष उपस्थिति थियो।
गीतकार राजाराम पौडेलकाे गीतकाे एरेञ्ज सबिर कार्की र मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका हुन्।
गीतको भिडियोमा चेतन राई, प्रवीण पुरी, सागर बासेल, अनिता पराजुली, समीक्षा पौडेल, रिता आच्छामी र सुमी लामाको अभिनय देख्न सकिन्छ।त्यस्तै बालकलाकार चिरायुविक्रम राई र चाहना राईले पनि कलात्मक रूपमा अभिनय प्रस्तुत गरेका छन्।

भिडियोको छायांकन सविन तिमल्सिनाले गरेका छन् भने ड्रोन छायांकन योगराज विश्वकर्माले गरेका छन्।
भिडियो सम्पादन तथा रंग संयोजन राज धामीले गरेका हुन्। सहायक निर्देशन प्रवीण पुरीले सम्हालेका छन्। निर्देशन स्वयं चेतन राईले गरेका हुन्। सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य सेकाइ इन्टरटेन्मेन्ट मार्फत सम्पन्न भएको छ।
गीत तथा एल्बमले नेपाली समाजका यथार्थ, संवेदना र मौलिक संस्कृतिलाई संगीत र दृश्यको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेको छ। सिर्जनाले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
प्रकाशित: १९ पुस २०८२ १०:३४ शनिबार



