दोर्पास्थित मेरो घरछेउमा एउटा बोहोरीको रुख वर्षौंदेखि ठिंग उभिएको छ। समयका अनगिन्ती पदचाप गुजार्दै वर्षा, तुसारो र घामसँग सिँगौरी खेलेर सतिसालझैं उभिएको त्यो बोहोरी गाउँको इतिहास, पाँच पुस्ताको स्मृति र प्रकृतिको जिउँदो मौन इतिहास हो।
म जन्मिनुभन्दा धेरै पहिले मेरा पिताजी लक्ष्मीप्रसाद र माताजी पद्मकुमारीले सानो बिरुवा रोप्नुभएको थियो। त्यतिबेला बोहोरीको विरुवा ख्याउटे टिठलाग्दो थियो होला। आज त्यो रुख गाउँकै ज्येष्ठ नागरिकझैं अभिभावक बनेर उभिएको छ। उसका जराले माटोलाई जोगाएका छन्, पहिरो रोकिएको छ। बोहोरीका हाँगाहरूले गौंथली र अन्य चराचुरुंगीलाई आश्रय दिएको छ। वर्षौंदेखि उकाली–ओराली गर्ने बटुवालाई छहारी बनेको छ। उसको मौन उपस्थितिले दोर्पालीलाई धैर्यको पाठ सिकाइरहेको छ।
ज्ञानबहादुर विश्वकर्माको साँध सिमानाको डिलमा उभिएको त्यो बोहोरीले वर्षौंदेखि दोर्पाको राजनीति र समाजलाई नजिकबाट नियालेको छ। प्रधानपञ्च परशुराम राई ‘बुढोप्रधान’ को रवाफ, उत्तरबहादुर राईको समाजसेवी व्यक्तित्व, माझकिरातका ब्राह्मण प्रधानपञ्च पीताम्बर आचार्यको गरिमा र अडिमर्दन आचार्यले तमसुक लेख्दा साक्षी किनारामा ल्याप्चे लगाएका दृश्यहरू बोहोरीले मौन भएर हेरेको हुनुपर्छ।
बोहोरीकै गाउँले भवकृष्ण ढकाल र मझुवाका भवप्रसाद बास्तोलाको विद्वता, गुरुप्रसाद खनालको पुरेत्याइँ र ज्योतिखर आचार्यजस्ता चलाख ब्राह्मणको सहासिलो शैलीको उसले पक्कै पनि लेखाजोखा गरेको थियो। ती अधिकांश अग्रजहरू आज यस धर्तीबाट अर्कै लोकमा विलय भइसक्नुभएको छ तर बोहोरी भने अझै पनि त्यही डिलमा मौन उभिएको छ।
हिउँदे साँझमा नाकेडाँडा र छहरेबाट गाईवस्तु फर्कंदा
घोरेटो बाटोमा धुलो उड्थ्यो। तमाहाको चिसो हावा सुसाउँथ्यो। नाके डाँडा परतिरको दाप्सा खोला टोलाउँथ्यो। बडेमानको बोहोरीको छहारीमुनि बसेर गाउँका बुढापाका गफ गर्थे। खखेरा अर्थात् खेमराज खनाल र तोयानाथ खनाल खरबारीबाट आउँदा बोहोरीको बोटमुनि बसेर बुढाथोकी गाउँको ठुलढुंगाको कथा सुनाउनुहुन्थ्यो। खनालद्वयका ती घतलाग्दा कथा बोहोरी चुपचाप सुनिरहन्थ्यो। मानौं ऊ गाउँको कुनै मौन इतिहासकार हो।
असार–साउनको झरीले उसलाई दिनरात भिजायो। दर्के पानीसँगै झरेका असिना र चट्याङ पर्दा त्यसको बाछिटा पनि बेहोरेको छ। पुस–माघको तुसारोले धेरै कठ्यांग्रियो होला। चैत–वैशाखको कछाडको चर्को घामले पोल्यो होला तर उसले कहिल्यै हार मानेन। गुनासो गरेन बरु बर्सेनि हरिया मुनाहरू पलाइरहे। बिस्तारै झाँगिदै गयो। फूल फुल्यो र फल पनि लटरम्मै फल्यो। त्यसैले त प्रकृतिले पनि उसलाई सहनशीलताको प्रतिमूर्तिका रूपमा अविचलित उभ्याइरह्यो।
बाल्यकाल र अनुभूति
मेरो बाल्यकालका धेरै स्मृतिहरू त्यो बोहोरीसँग गाँसिएका छन्। जेठा दाजु गुणराजले वर्षौंसम्म बोहोरीको फल कोलमा पेलेर तेल निकाल्नुभयो। त्यो तेलबाट साहिँली दिदी इन्दिराले पकाउनुभएको तिहारको सेलरोटीको स्वाद अझै पनि मेरो जिब्रोमा झुन्डिरहेको छ। कान्छी दिदी गीताले पकाएर कोदाको ढिँडो, भुटेको मकै, भटमास, लट्टे र सिमेसागको तरकारी खुवाउनुहुन्थ्यो। बोहोरीको तेलको भुटुन लगायत पकाइएका ती परिकार आज मेरा लागि इतिहास बनेका छन्।
न अहिले बोहोरी रोप्ने बुबा लक्ष्मीप्रसाद र आमा पद्मकुमारी हुनुहुन्छ, न कोलमा बोहोरी पेल्ने जेठा दाजु गुणराज। मसँग बाँकी छन् त केवल स्मृतिका पानामा गुम्सिएका विगतका कथाहरू।
चिउरीडाँडाको उकालोमा सुगुरुवालीहरू तोरीको गुन्द्रुकको बास्ना फैलाउँदै हिँड्थे। जौको सातु र घोडेमासको दाल लिएर मेरा साइला काका भीमप्रसाद गहुँबारीबाट गह्रुङ्गो भारीसँग औलमा झर्नुहुन्थ्यो। गाउँलाई जीवन्त बनाउने ती दिन कहाँ हराए होलान् ? न त्यो संस्कृति बाँकी छ आज, न त्यो सद्भाव र सहिष्णुता।
मेरो घरमाथिको तत्कालीन विद्योदय निमावि र हालको माविमा पढ्न जाने विद्यार्थीले बेला–बेलामा बोहोरीका दाना झार्न ढुंगा र झटारो हान्थे। मानिसले बोहोरीको हाँगा निमोठेर भाँच्दा वा खुकुरीले छमछमी काट्दा पक्कै पनि उसले पीडा महसुस गरेको होला तर वृक्षका आँसु कसले देख्ने ? बिचरा ! बोहोरी ती यातना र पीडा सहन्थ्यो। हुन त ऊसँग अरू विकल्प पनि त थिएनन् नि !
सामाजिक परिवेश र स्मृति
नास्तुमे पदमबहादुर चौहानको हिम्मत, पर्खनबहादुर राईको गतिशीलता, पदम हिंगमाङको सुरिलो भाकाको झ्याउरे गीत र पर्वत राईको आँटिलो व्यक्तित्वलाई बोहोरीले नजिकबाट अनुभूति गरेको थियो। मेरो कान्छो काका रामप्रसादको जीवनदर्शन, वडाध्यक्ष महन्त राईको निसाफ गर्ने शैली र हरिप्रसाद चौलागाईंको लगनशीलतालाई उसले निरन्तर नियालिरहेको हुनुपर्छ। गाविस अध्यक्ष राईद्वयसँग पनि बोहोरीले नजिकबाट साक्षात्कार गर्ने अवसर मिल्यो। अघिल्लो र पछिल्लो पुस्ताका सहरमान, दिलचक्र र जोशीचन्द्रको साहससँग पक्कै पनि बोहोरी चिरपरिचित छ नै होला।
बालकवि श्रीराम राईले सानोमा विद्यालय आउँदा सायद बोहोरीमा अडेस लागेर दोबेला र बुबासँगका विषयमा कविता लेखेका थिए होलान्। पक्कै पनि खरबारीस्थित कालीखोलाको बालकथा कापीमा उतारे होला। त्यही मेहनतका कारण आज श्रीराम राई राष्ट्रिय स्तरमा चर्चित बालकथाकार तथा साहित्यकारको उपल्लो दर्जामा पुगेका छन् तर बोहोरी भने अहिले पनि औंसीको रातझैं निष्पट अन्धकारमा ठिंग उभिएकै छ।
थापा गाउँ जाने उकाली–ओरालीमा निष्ठावान् नेता धिरन बुढाथोकी, शिक्षकहरू पेशल आचार्य, गणेश खनाल, लक्ष्मी खनाल र हेम प्रधानजस्ता पदयात्रीहरू बोहोरीको फेदमा छहारी खोज्दै आउँथे र बौद्धिक बहस गर्थे। उभौली र उधौली पर्वको समयमा साकेलाथान पुगेर ढोल र झ्याम्टाको तालमा नाच्ने बुढाबुढी, बालबालिका र तरुनी–तन्नेरी मेरो घर नजिकै रहेको धाराको पानी खाएर बोहोरीमुनि टुसुक्क बस्थे। ‘सैसैला हौ सैसैला’ भन्दै कम्मर मर्काएर नाच्थे। खुबै रमाउँथ्यौं गाउँलेसँग। हामी सानो छँदा दुःख–सुखको साथी र सबैको सहाराको प्रतीक थियो बोहोरी। हो त्यसैले अहिलेसम्म पनि निरन्तर छहारी दिइरहेको छ पदयात्रीहरूलाई।
प्रकृतिको भोगाइ
असार–साउनको झरीले उसलाई दिनरात भिजाइरहन्छ। दर्के पानी, असिना र आकाशबाट झर्ने चट्याङका बाछिटा पनि सहनुपर्छ। पुस–माघको तुसारोले कठ्यांग्रिँदा उसैलाई पीडा हुन्छ। चैत–वैशाखको घामले पोल्छ तर उसले कहिल्यै हार मान्दैन। बिलौनाका पट्यारलाग्दा गाथाहरू सुनाउँदैन। बरु चोटका डोबलाई बिर्सिएर बर्सेनि हरिया मुनाहरू पलाइरहन्छन्। हाँगाहरू झाँगिन्छन्। फूल फुलेर फल पनि दिन्छन्। त्यसैले असीमित सहने शक्ति भएको हुँदा प्रकृतिले उसलाई सहनशीलताको प्रतिमूर्ति बनाइरहेको छ।
बोहोरी केवल वृक्ष मात्र होइन, जैविक विविधताको जिउँदो संग्रहालय हो। उसका हाँगामा भँगेरा, रुपी र ढुकुर बसेर कुर्लन्छन्। पदयात्रीहरू त्यसको छहारीमा पुग्दा थकाइ मार्छन् र प्रकृतिसँग प्रत्यक्ष संवाद पनि गर्छन्। त्यहाँको चिसो हावा, चराको कर्णप्रिय आवाज, जन्मथलोको प्रेम र हरियाली वातावरणले मानव जगत्लाई आनन्दित बनाउँछ।
वर्तमानको संकटमा बोहोरीको महत्त्व
आज विश्व वातावरणीय संकटबाट गुज्रिरहेको छ। वन विनाश, जलवायु परिवर्तन र हराउँदै गएको जैविक विविधताले पृथ्वी रोइरहेको छ। यस्तो बेला दोर्पा चिउरीडाँडाको मेरो घरछेउको बोहोरी जैविक विविधताको प्रतीक बनेर उभिएको छ।
अहिले गाउँमा नयाँ सडक बनेका छन्। पुराना गोरेटो बाटो हराउँदै गए। कोही बाध्यताले त कोही सुविधाका लागि गाउँ छोडेर परदेश हिँडिरहेका छन्। उसकै छहारीमा ओतिनेहरू माथिल्लो ओहोदामा पुगिसके तर बोहोरी भने अझै त्यहीं निःस्वार्थ उभिइरहेको छ।
निष्कर्ष
दोर्पा जाँदा जब म बोहोरीलाई हेर्छु। त्यसलाई एउटा रुख मात्र देख्दिनँ। म त्यहाँ आफ्ना पुर्खाहरूको पसिना र योगदान सम्झन्छु। गाउँको सभ्यता, हराउँदै गएको रैथाने सिप र संस्कृति देख्छु। आफ्नै बाल्यकालको भावनाको स्मरणमा हराउँछु। मेरा बुबा, आमा, दाजुको त्यही बोहोरीको फेदमा प्राण गयो। वार्षिकी गर्यौं। वर्षदेखिको इतिहास सम्झँदै म दोर्पालाई जीवन्त राख्ने अग्रजहरूको अनुहार सम्झन्छु।
पत्नी कुमारी, भाइ–बुहारी परशुराम र कल्पना, पिकेश, अध्ययन, प्रेशिका र अनुसन्धानसँग जोडिएका पारिवारिक सम्बन्धहरू पनि बोहोरीको छहारीभित्र सुरक्षित छन् जस्तो अनुभूति भइरहन्छ। कोसौं टाढा पुगेको समय कुन रुख देखेँ भने घरनजिकैको त्यही बोहोरी रुखजस्तो लाग्छ। अद्भुत रुख म बिर्सन खोज्छु तर बिर्सनै सक्दिनँ। सायद कुनै दिन म पनि यस धर्तीमा रहनेछैन। यो प्रकृतिको नियम नै हो तर बोहोरी विगतझैं भविष्यसम्म यसैगरी उभिइरहनेछ। युगौंसम्म छहारी दिइरहनेछ किनकि गाउँ, स्मृति र प्रकृति बाँच्नलाई पनि बोहोरीजस्ता वृक्षहरू अनिवार्य छन्।
म बाँचौं या नबाँचौं तर बोहोरी बाँचे गाउँ, संस्कृति, सभ्यता र स्मृति हाँसिरहन्छन्, बाँचिरहन्छन्।
–भट्टराई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख हुन्।
प्रकाशित: २ श्रावण २०८३ ०८:२६ शनिबार