मानव जीवन आफैँमा एउटा अविरल र रहस्यमय यात्रा हो, जहाँ समयका सानातिना फुर्सदहरूले पनि नयाँ भूगोल र जीवनदर्शनसँग साक्षात्कार गराउने चेतनाको ढोका खोलिदिन्छन्। सरकारले उपलब्ध गराएको साताको दुई दिने बिदा र छोराको प्रथम त्रैमासिक परीक्षापछिको फुर्सदलाई हामीले केवल आराममा सीमित राखेनौँ। त्यसलाई नयाँ भूगोल र संस्कृति बुझ्ने अवसरमा बदल्ने उद्देश्यका साथ कोशी प्रदेशको सबैभन्दा सानो तर उच्च बसाइँसराइको समस्या झेलिरहेको पहाडी जिल्ला तेह्रथुमतर्फ पाइला मोड्ने दुई दिने खाका कोरियो।
मानव जीवनमा इच्छाशक्ति नै त्यो आन्तरिक ऊर्जा हो, जसले मानिसलाई हरेक भौतिक र प्राकृतिक बाधासँग जुध्ने सामर्थ्य प्रदान गर्छ। जब मनभित्र घुम्ने र प्रकृतिलाई स्पर्श गर्ने अगाध चाहना जाग्छ, तब परिस्थितिका चुनौतीहरू फिक्का बन्दै जान्छन्। आकाशबाट निरन्तर बर्सिरहेको मुसलधारे झरीले सडक हिलाम्मे बनाएको थियो, तर त्यसले हाम्रो यात्रा - तृष्णा र दृढ आत्मबललाई पखाल्न सकेन।
भौतिक यात्रा सुरु हुनुअघि नै नियतिले हाम्रो धैर्यको परीक्षा लिन थाल्यो। गाडीको ट्याङ्कीमा इन्धनको आहार भरिसकेपछि, खै कुन अविश्वासको कारण हो-चालकले अकस्मात जान अस्वीकारे तर हाम्रो सङ्कल्प पछि हट्न मानेन। तत्काल अर्का चालकको व्यवस्था गरियो। जब गाडीको इन्जिन गुन्जियो, तब एउटा डरलाग्दो यथार्थ अगाडि आयो - गाडीको ब्रेक राम्रोसँग लागिरहेको थिएन।
घुमाउरो पहाडी बाटो, निरन्तरको झरी र गाडीमा सवार सम्पूर्ण परिवारका सदस्यहरू - यी सबैको सुरक्षा हाम्रा लागि प्राविधिक विषय मात्र थिएन, जीवनप्रतिको गम्भीर दायित्व र विवेकको प्रश्न थियो। साहसी हुनु भनेको अन्धो जोखिम मोल्नु मात्र होइन: परिस्थिति, समय र जीवनको मूल्य बुझेर सही समयमा विवेकपूर्ण निर्णय लिनु पनि हो। यदि यात्रा नै जीवन हो भने, सुरक्षा त्यसको प्रथम पूर्वसर्त हो। जोखिमयुक्त साधनमा सवार भएर गन्तव्यमा पुग्ने हतारोभन्दा, सुरक्षित र सचेत भएर पाइला बढाउनु नै बुद्धिमतापूर्ण हुन्छ। हामीले तुरुन्तै त्यो गाडी त्याग्ने निर्णय गर्याैं र अर्को सुरक्षित साधनको खोजीमा लाग्यौँ। यसरी, विभिन्न अलमल र प्राविधिक चुनौतीहरू पन्छाउँदै हाम्रो तेह्रथुम यात्राले नयाँ र आशावादी मोड लियो।
‘अजिङ्गरको आहार दैवले पुर्याउँछ’ भनेझैँ हाम्रा अगाडि पहाडी भूगोलका लागि उपयुक्त अर्को गाडी आइपुग्यो। हाम्रा लागि थप आश्वस्त पार्ने कुरा त के थियो भने, चालक हाम्रा पूर्वपरिचित र धेरै पहाडी यात्राहरूमा सहयात्रा गरिसकेका अनुभवी मित्र हुनुहुन्थ्यो। जब हामी इटहरी पुग्यौँ तबसम्म आकाशले पनि आफ्नो बादलको घुम्टो उघारिसकेको थियो - झरी रोकिएर मौसम कञ्चन बन्यो। ढिलाइ भइसकेको समय पछ्याउँदै, बाटोभरि छोराले सोधेका कौतूहलपूर्ण प्रश्नहरूको उत्तर दिँदै हामी निरन्तर गन्तव्यतर्फ लम्किरह्यौँ। धरान प्रवेश गरेसँगै हाम्रो यात्राले साहित्यिक आयाम पनि ग्रहण गर्याे।
त्यहाँ ‘चियासँग कविता अभियानका अभियन्ता एवम् धनकुटाका अग्रज साहित्यिक पत्रकार गोपाल बराइलीसँग हाम्रो अप्रत्याशित भेट भयो। उहाँको आत्मीय अडान र स्नेही हठका अगाडि हाम्रा पूर्वनिर्धारित समयतालिकाहरू फिक्का बने। धनकुटामा आयोजना हुन गइरहेको ‘चियासँग कविता‘ कार्यक्रममा सहभागी गराएरै छाड्ने उहाँको प्रेमिल ढिपीले हाम्रो यात्रालाई नयाँ उचाइ दियो।
हाम्रो अगाडिको यात्रा अब पहाडका घुम्तीहरू पार गर्नुमा मात्र सीमित रहेन, कोशी प्रदेशमा नेपाली साहित्यको वर्तमान अवस्था, चुनौती र सम्भावनामाथि केन्द्रित रहेर एउटा जीवन्त विमर्श बन्यो। गाडीको गतिसँगै हाम्रा विचारहरू पनि साहित्यका गम्भीर पाटाहरूमा पौडिन थाले,
- पठन संस्कृतिको क्षयीकरण: आधुनिक प्रविधिको तीव्र प्रभावसँगै पछिल्लो समय पठन संस्कृति कसरी खस्कँदै गएको छ र साहित्यका निष्ठावान् पाठकहरूको सङ्ख्या किन घट्दै छ भन्ने विषयमा गहन चिन्तन भयो।
- स्रष्टा र गुटबन्दी: लेखकहरू स्वयं विचार र सिर्जनाको व्यापकताभन्दा माथि उठ्न नसकेर सानातिना गुटबन्दीमा रमाउँदा साहित्यको मौलिक आत्मा कसरी घाइते भइरहेको छ भन्नेमा दुःख व्यक्त गरियो।
- पुरस्कार र सम्मानको विकृति: सम्मान तथा पुरस्कारहरू निश्चित मापदण्ड र साधनाभन्दा पर गएर आफन्तवाद, चाकडीवाद र साटासाटको चक्रव्यूहमा जकडिएको तितो यथार्थमाथि आलोचनात्मक मन्थन भयो।
विचारहरूको यस्तै गहन र जीवन्त संवादमा हराउँदा(हराउँदै समय बितेको पत्तै भएन। थाहै नपाई हामी भेडेटारको चिसो र मनोरम काखमा पुगिसकेका रहेछौँ। भेडेटारको सिरसिर हावा र शीतल वातावरणमा गाडी रोकेर हामीले बिहानको भोजन गर्याै। शरीरमा नयाँ ऊर्जा र मनमा साहित्यिक विचारका तरङ्गहरू बोकेर हामी पुनः तेह्रथुमको गन्तव्यतर्फ अघि बढ्यौँ।
यात्राको गतिसँगै हाम्रा विचारका तरङ्गहरू अझ गम्भीर बन्दै गए। बाटोभरि साहित्यिक संस्था र गतिविधिहरूलाई जीवित राख्न स्रष्टाहरूले गर्नुपर्ने कठिन सङ्घर्ष, अनि कसैको प्रगतिमा टेको दिनुको साटो खुट्टा तानी हाल्ने हाम्रो सङ्कुचित सामाजिक प्रवृत्तिमाथि हामीले मन्थन गर्याैं। नेपाली समाजमा अझै जरा गाडेर बसेका जातीय, लिङ्गीय, क्षेत्रीय, भाषिक र वैचारिक विभेदका काला छायाहरूले समग्र साहित्य र चेतनाको धरातललाई कसरी क्षतविक्षत बनाइरहेका छन् भन्ने विषयमा गहन संवाद भयो।
धनकुटाको माटोमा पाइला टेकेपछि हाम्रो मनमस्तिष्क एउटा विशेष प्रेरणाको स्रोततर्फ आकर्षित भयो। हामी शारीरिक सीमाहरू पूर्णतः परास्त गर्दै, खुट्टाका औँलाहरूका माध्यमबाट नेपाली साहित्यमा कालजयी इतिहास रच्न सफल राष्ट्रिय प्रतिभा - भेट्न कचिडेतर्फ मोडियौँ। उहाँ नेपाली साहित्यकी एक जाज्वल्यमान नक्षत्र हुनुहुन्छ, जसको जीवन स्वयंमा जिजीविषा र साधनाको दर्शनको रूपमा स्थापित छ।
सदरमुकामबाट करिब डेढ किलोमिटरकै दूरीमा रहेको उहाँको निवाससम्म पुग्ने बाटोको दयनीय अवस्था देख्दा हाम्रो मन अमिलो मात्र भएन, राज्यको दृष्टिकोणमाथि गम्भीर प्रश्न पनि उब्जियो। उहाँको गृह - आँगनमा पुगेपछि उहाँको शारीरिक अवस्था नजिकबाट नियाल्दा, विपद् र बिरामी पर्दा उपचारको न्यूनतम पहुँच कसरी सम्भव हुन्छ होला भन्ने चिन्ताले मनलाई भावुक बनायो। जहाँ सडकको अस्तित्व नै छैन, त्यहाँ पक्की पुलहरू ठडाउने राज्यको विद्रुप विकास- मोडेललाई हेर्दा लाग्यो - भूगोल र प्रतिभालाई जोड्ने चेतनाको बाटो अझै कति टाढा छ१
झमकसँगको त्यो भावुक र चेतनादायी भेटपछि हाम्रा पाइलाहरू मित्र गीताचारी आचार्यको न्यानो आतिथ्यतर्फ मोडिए। उहाँको निवासमा पस्दा पहाडी माटोको सुगन्ध बोकेको अर्गानिक खाजाले मात्र होइन, उहाँको वैचारिक क्षितिजले पनि हामीलाई मोहित बनायो। विज्ञानका शोधार्थी र प्रकृतिका अध्येता भएकाले - मानव शरीर, खानपान र स्वस्थ जीवनका रहस्यहरूप्रति उहाँको दृष्टिकोण निकै गहिरो र वैज्ञानिक थियो। ‘हामी जे खान्छौँ, त्यही बन्छौँ’ भन्ने शाश्वत सत्यलाई आत्मसात् गर्दै, दैनिक भोजन र जीवनशैलीलाई कसरी प्राकृतिक सन्तुलनसँग जोड्ने भन्ने विषयमा उहाँका धारणाहरू सुन्दा लाग्यो - स्वास्थ्य केवल रोगको अनुपस्थिति मात्र होइन, यो त प्रकृतिसँगको सचेत सामञ्जस्य पनि हो।
तत्पश्चात्, हाम्रा पाइलाहरू ‘चियासँग कविता’ को कार्यक्रमस्थलतर्फ अघि बढे। भौतिक आहारले शरीरलाई सन्तुष्ट बनाएपछि, अब मन र आत्मालाई काव्यिक चेतनाको खुराकले तृप्त पार्ने समय भइसकेको थियो। धनकुटाको साहित्यिक प्राङ्गणमा आयोजित ‘चियासँग कविता’ को चौतारी शब्दहरूको जमघट मात्र थिएन, त्यो त चेतना र संवेदनाको एउटा सघन उत्सव थियो। स्थानीय कवि ध्रुव एलेक्सको सशक्त मुख्य प्रस्तुतिले गुञ्जिएको उक्त सभामा मेरा अनन्य मित्र एवम् छथर साहित्य समाजका सचिव रोशन यात्री र मेरो पनि विशेष काव्यिक प्रस्तुति रह्यो। काव्य-प्रवाहसँगै अग्रज साहित्यकार केजीन सुब्बा, दिनेश थापा ‘बेगारी’ लगायतका वरिष्ठ सर्जकहरूबाट समकालीन नेपाली कविताका प्रवृत्ति र यसको भावी दिशाबारे गहन चिन्तन प्रस्तुत भयो। साहित्य केवल कल्पनाको उडान नभएर समाजको यथार्थ ऐना र परिवर्तनको संवाहक हुनुपर्छ भन्ने निष्कर्षले हामीलाई उद्वेलित बनायो।
कार्यक्रमको समापन पछि छथर साहित्य समाज (तेह्रथुम) को न्यानो आतिथ्य शिरोधार्य गर्दै, अध्यक्ष दिनेश थापा ‘बेगारी’ को अभिभावकीय नेतृत्वमा हाम्रा पाइलाहरू ‘शुक्रबारे बजार’ तर्फ अघि बढे। रातको छिप्पिँदो अन्धकार, बाक्लो कुहिरोको घुम्टो र पहाडका घुमाउरा अप्ठ्यारा उकालाहरू भौतिक रूपमा यात्राका ठूला चुनौती थिए। तर, जब मनभित्र गन्तव्यप्रतिको निष्ठा हुन्छ, तब सबै प्रतिकुलताहरू फिक्का बन्दै जान्छन्।
बाटोमा पर्ने सिधुवामा स्थानीय व्यापारी राधिका दिदीको पसलमा सात्विक भोजन ग्रहण गर्याैं। भोजनमा मिसिएको त्यो स्थानीयपन र आतिथ्यको मिठासले दिनभरिको शारीरिक थकान क्षणभरमै मेटाइदियो। अन्ततः रातको नीरबताबीच शुक्रबारे पुगेर हामीले त्यस दिनको उपलब्धिपूर्ण यात्रालाई विश्राम दियौँ।
बिहानीको प्रथम किरणसँगै छथर साहित्य समाजका पदाधिकारी तथा सदस्यहरूले प्रस्तुत गर्नुभएको न्यानो आतिथ्यले नयाँ ऊर्जाको सञ्चार गर्योह। काठमाडौँकेन्द्रित साहित्यिक बहसबाहिर, मोफसलको विकट भूगोलमा रहेर पनि छथर साहित्य समाजले जेजस्तो जीवन्त साधनामूलक उपस्थिति जनाइरहेको छ, त्यो उच्च छ। आर्थिक विध्नबाधाहरूलाई चिर्दै हरेक वर्ष राष्ट्रिय स्तरका गोष्ठीहरू आयोजना गर्नु, भावी पुस्तामा साहित्यिक चेतनाको बिजारोपण गर्न ‘विद्यालयमा साहित्य’ जस्ता दूरदर्शी कार्यक्रमहरू सञ्चालन गर्नुले संस्थाको निष्ठालाई उजागर गर्छ।
यस संवादका क्रममा कला, साहित्य र संस्कृतिप्रति स्थानीय सरकारको दृष्टिकोण अत्यन्तै आशावादी देखियो। साहित्य र संस्कृति कुनै अमूर्त विषय नभएर समाजको आत्मिक समृद्धि, पहिचान र चेतनाको जग हुन् भन्ने सत्यलाई बुझेर स्थानीय पालिकाले गरेको लगानी प्रशंसनीय थियो। जब राज्यले भौतिक विकाससँगै विचार र संस्कृतिको पूर्वाधारमा पनि समान लगानी गर्छ, तब मात्र एउटा सचेत र सभ्य समाजको निर्माण सम्भव हुन्छ भन्ने निष्कर्षका साथ संवाद समापन भयो।
छथरको बौद्धिक संवाद सिद्धिएपछि हाम्रा पाइलाहरू प्राकृतिक सौन्दर्यकी शाश्वत रानीतीनजुरे पहाडको काखतिर सोझिए। पहाडी छाती छिचोल्दै अगाडि बढ्दा लाग्थ्यो - हामी केवल दूरी मात्र नापिरहेका छैनौँ, समयको कुनै गूढ आयामभित्र प्रवेश गर्दैछौँ।
सुन्दर प्रकृतिको काखमा उन्मुक्त मुस्कुराइरहेका लसुने र जिरीखिम्तीका नागबेली घुम्तीहरू पार गर्दै गर्दा दिनेश थापा ‘बेगारी‘ का ओठहरूबाट इतिहास, संस्कृति र दर्शनका धाराहरू अविरल बगिरहेका थिए। उहाँले बाटोका प्रत्येक मोड, ती ठाउँको ऐतिहासिक गरिमा, अनि त्यहाँको धार्मिक, सामाजिक र सांस्कृतिक चेतनाका पानाहरू पल्टाउनुभयो। तेह्रथुमको साहित्यिक सन्ततिले खडा गरेको वैचारिक विरासतको महिमा सुन्दा लाग्थ्यो - प्रत्येक भूगोलको आफ्नै एउटा मौन आख्यान हुँदो रहेछ, जसलाई सुन्न चेतनाको विशेष कान चाहिन्छ।
बाटोका दायाँबायाँ र क्षितिजसम्म फैलिएको त्यो अद्भूत प्राकृतिक छटा केवल आँखाका लागि दृश्य मात्र थिएन, त्यो त आत्माका लागि एउटा गहन दार्शनिक उद्घोष थियो। सुन्दरता जब पराकाष्ठामा पुग्छ, तब शब्दहरू निःशब्दतामा परिणत हुन्छन्। प्रकृतिको त्यो भव्य र अटल उपस्थितिअगाडि मानव अस्तित्व र उसका अहम् कति क्षुद्र र क्षणभङ्गुर प्रतीत हुन्थे! यदि जीवनको कुनै अध्याय यही प्राकृतिक चेतनाको काखमा बिताउन पाइएको भए, सम्भवतः साहित्य सिर्जनाका लागि अलग्गै प्रयत्न नै गर्नु पर्दैनथ्यो होला - किनकि प्रकृति स्वयं नै एउटा जीवन्त र पूर्ण महाकाव्य हो।
यात्राको अर्को बिसौनीम्याङलुङपुगेपछि तेह्रथुम साहित्य समाजका अध्यक्ष दीपक कट्टेल ‘आयाम‘ को हार्दिक आत्मीयले हामीलाई स्वागत गर्यो्। उहाँका विचारोत्तेजक शब्दहरूमार्फत म्याङलुङ र ऐतिहासिक फेदापको वर्तमान साहित्यिक धरातल हाम्रासामु उजागर भयो। साहित्यिक गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्दै उहाँले भविष्यका नवीन साहित्यिक योजनाहरूको स्पष्ट खाका बताउनुभयो।
उहाँकै नेतृत्वमा हामीले म्याङलुङ बजारका ऐतिहासिक तथा धार्मिक धरोहरहरूको अवलोकन गर्याैं। त्यही क्रममा जब हामी स्थानीय ढाका बुनाइ उद्योगहरूको प्राङ्गणमा पुग्यौँ, तब मलाई लाग्यो - नेपाली माटोमा घरेलु र रैथाने उद्योगहरूको सम्भावना सकियो भनेर निराशा बाँड्नेहरूका लागि यो ठाउँ एउटा सशक्त उत्तर र जीवन्त प्रतीक हो। तानमा बुनिएका ती ढाकाका धागोहरू केवल कपडा बुनाइका साधन मात्र थिएनन्, ती त नेपाली आत्मनिर्भरता र मौलिक सौन्दर्यका अनुपम अभिव्यक्ति थिए।
तत्पश्चात्, उहाँले हामीलाई ‘राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान‘ को भवनमा लैजानुभयो। आधुनिकताको नाममा पूर्वेली लोकभाका र सङ्गीत ओझेल पर्दै गएको यो विषम समयमा, यसको संरक्षण र सम्बर्द्धनका लागि यो प्रतिष्ठान खडा गरिएको कुरा सचिव गोविन्द दाहालले बताउँदा स्वाभिमानले छाती ढक्क फुलेर आयो। हाम्रा सुविधायुक्त सहरहरू पश्चिमा संस्कृतिको अन्धानुकरणमा आफ्नो पहिचान गुमाउँदै चुर्लुम्म डुबिरहेका बेला, मोफसलका यी दूरदराजहरूमा रैथाने कला, संस्कृति र साहित्यको अस्तित्व जोगाउन भइरहेका यस्ता सामूहिक प्रयत्नहरू देख्दा लाग्छ- हाम्रो सांस्कृतिक जग अझै मरेको छैन, यो त झन् बलियो गरी चेतनाको नयाँ उज्यालो छरिरहेछ।
भौतिक रूपमा तेह्रथुमको यो दुई दिने यात्रा पहाडी भूगोलका घुम्तीहरू र दूरी नाप्नु मात्र थिएनस यो त यात्राका सुरुवाती भौतिक तथा प्राविधिक प्रतिकूलतामाथि विवेकको विजय, विकृत बन्दै गएको साहित्यिक धरातलभित्र निष्ठाको खोजी र रैथाने कला-संस्कृतिको जीवन्त चेतनासँगको आत्मीय साक्षात्कार थियो। झमककुमारी घिमिरेको सङ्घर्षशील जीवनदर्शनदेखि मोफसलका निष्ठावान् स्रष्टाहरूको अनवरत साधनासम्मले के स्पष्ट पार्छ भने- सभ्यताको वास्तविक सौन्दर्य र विकास केवल भौतिक पूर्वाधारमा मात्र सीमित हुँदैन। प्रकृति, संस्कृति र मानव चेतना जोड्ने आत्मिक बाटो नै कुनै पनि समाजको वास्तविक पहिचान र अमर टेको हो।
प्रकाशित: ८ श्रावण २०८३ ०९:५३ शुक्रबार