कला/साहित्य

समाज रुपान्तरणको आवाज बोलेको ‘महारानीको जात्रा’

समाज रुपान्तरण र सामाजिक न्यायको चेतलाई अहिले कलाकारिता क्षेत्र उजागर गर्दै आएको छ । समाजका देखिएका विकृत सोच र ती सोचको रुपान्तरणमा व्यक्तिले चाल्नुपर्ने कदमका विषयलाई केन्द्रमा राखेर आजभोलिका नाटक तथा रंगमञ्चका कथा तयार हुने गर्छन् ।  

यसरी नेपाली समाजमा देखिएका सामाजिक छविको विषय, सत्ता र शक्तिको आटमा हुने दम्भ र त्यसले पार्ने प्रभावलाई निर्देशक दीपाल बरालले नाटकमा देखाएका छन् । ग्योफ बामबेरले लेखेको कथालाई पारिवारीक माहौलमा रमाउने योजनासहित तयार हुँदै गरेको सामग्रीलाई अभ्यास, कलाकारको साथ र कथाको दृश्यले थिएटर नाटकमा रुपान्तरण गरेको छ ।  

निर्देशक बराल भन्छन्,‘चार पाँचवटा शो गर्छु भनेर थालेको हो । दशैं अघि पारिवारीक माहौलमा दशैंको शुभकामना आदानप्रदानमा केन्द्रित रहेर केही शो गर्ने भन्ने थियो । बीचमा जेन-जी आन्दोलन भयो । आफ्नो योजनाभन्दा फरक बन्यो । यहाँ साथीहरूले गर्नुभएको मेहनत र नाटकले दिने सन्देश समाजका लागि केही हुनसक्छ भन्ने पनि लाग्यो । रियलसलले नै आज महारानीको जात्रा तपाईंहरूमाझ पस्कन सक्यौँ । एक पटक हेरेर हाम्रो कामको टिप्पणी गरिदिनुहोला ।’

शक्तिको खोजी आडम्बरमा होइन सत्यतामा हुन्छ भन्ने मुल भाव नाटकले बोकेको छ । सतहको चमकभन्दा गहिरो मानवीयता र सत्यको खोज नै साँचो शक्ति हो भन्ने सन्देश यो नाटकबाट बुझ्न सकिन्छ ।  

‘महारानीको जात्रा’ नाटकले वर्तमान नेपाली समाजलाई गहिरो प्रतीकात्मक र सामाजिक सन्देशका साथ सम्बोधन गर्छ। यो नाटकले बाहिरी चमक, सामाजिक छवि र सत्ताको खोजमा हराउँदा सत्य र मानवीय मूल्यहरू कसरी ओझेलमा पर्छन् भन्ने कुरा देखाउन खोजेको छ ।  

महारानीको कथाले नेपाली समाजमा देखिने सतही मूल्य, सञ्चारमाध्यमको प्रभाव, सत्ताको आडमा हुने खोक्रो आडम्बरलाई प्रतिबिम्बित गर्न खोजिएको छ ।  

नाटकमा महारानीको ‘मिनिमलिज्म’ को चाहना र पुराना सामान हटाउने अभियानले नेपाली समाजमा परम्परालाई आधुनिकतासँग जोड्ने प्रयासलाई देखाउँछ। तर, उनको यो प्रयास सतही छवि निर्माण र सञ्चारमाध्यमको ध्यानाकर्षणमा सीमित हुन्छ । जुन आजको नेपाली समाजमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमले बनाउने छविलाई देखाएको छ । नेपाली समाजका व्यक्ति र नेता प्रायः बाहिरी छवि र लोकप्रियतामा केन्द्रित हुन्छन्, जसले गहिरो सामाजिक समस्या समाधान उन्मुख नभएको सन्देश दिन खोजिएको छ ।  

नाटकमा प्रस्तुत श्रीपेचको कथाले सत्ताको प्रतीकलाई देखाउँछ । जुन फोहोर र उपेक्षित भए पनि समाजले पवित्र ठान्छ। भिखारी पात्रको दृश्यमा मुकुटलाई अस्वीकार गर्नु र महारानीको सत्यको खोजले नेपाली समाजमा सत्ताको खोक्रोपन र सत्यको आवश्यकतामाथि प्रश्न उठाउँछ। नेपाली समाजमा पनि सत्ता र परम्परालाई पवित्र ठान्ने प्रवृत्ति छ । तर त्यसको वास्तविक मूल्य र प्रभावमाथि प्रश्न उठाउन उत्तिकै जरुरी छ।

नाटकमा जोसेफ पी स्क्राप र युर्चिनजस्ता पात्रहरूले समाजको तल्लो वर्गलाई प्रतिनिधित्व गर्छन् । जसलाई प्रायः सामाजिक रुपमा उपेक्षा गरिन्छ। नेपाली समाजमा पनि यस्ता वर्गहरू छन् । जसको आवाजलाई सत्ताले सुन्दैन। डाँकाहरूको उपस्थितिले सामाजिक असुरक्षा र नैतिकताको ह्रासलाई देखाउँछ । जुन आजको नेपाली समाजमा बढ्दो अपराध र अव्यवस्थासँग जोडेर कथा बुनिएको छ ।  

यो नाटकमा कलाकार उषा रजक, राज न्यौपाने, सुहाना आचार्य, निकिता आचार्य, दिपेश गजुरेल, विकल्प ओली, ज्योती लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, विमल यादव, मनोज तामाङ, बिरान दहनी, स्वेता चौलागाईं र कुशल बास्कोटाको जीवन्त अभिनय छ ।

को हुन दीपाल बराल ?

सन् २०१५ मा भारतको महाराजा सयाजीराव विश्वविद्यालय वडोदराबाट नाट्यकलामा स्नातक भएका दीपाल बरालले आफ्नो जीवन रंगमञ्च र अभिनय शिक्षालाई नै समर्पण गरेका छन्।  

करिब दुई दशकदेखि नाटक, अभिनय र निर्देशनको क्षेत्रमा सक्रिय बराल अहिले नेपालका विभिन्न संस्थामा नाट्यकला शिक्षक, निर्देशक र कलाकारका रूपमा निरन्तर काम गरिरहेका छन्।

उनले थिएटर भिजेल, गुकुल नाट्यालय, नेपाल फिल्म क्याम्पस, कान्तिपुर फिल्म एकाडेमीलगायत संस्थामा अभिनय र निर्देशनको प्रशिक्षण दिँदै आएका छन्। बरालले ३५ भन्दा बढी नाटकमा अभिनय र निर्देशन गरिसकेका छन् भने ५० भन्दा बढी रंगमञ्चीय प्रस्तुतीमा प्रकाश तथा सेट डिजाइनसमेतको काम गरेका छन्।

प्रकाशित: २८ कार्तिक २०८२ १४:४९ शुक्रबार