काठमाडौंका सडकहरू कुनै समय केवल आवतजावतका लागि मात्र थिए। तर २०४६ सालमा ती सडकहरू इतिहास लेख्नेहरूले भरियो। वर्षौंदेखि दबिएको जनताको आवाज शब्द, गीत र नाराका रूपमा फुट्न थाल्यो।
त्यति बेलाको समय केवल राजनीतिक असन्तुष्टिको विस्फोट मात्र थिएन, त्यो चेतनाको जागरण थियो। लोकतान्त्रिक शासन व्यवस्था, मौलिक अधिकार, बहुदलीय प्रजातन्त्र र जनचेतना मागसँगै मास बढेको थियो। जहाँ साहित्यकारहरूले चलाएका कलमले आमूल परिवर्तन ल्यायो।
२०४६ सालको जनआन्दोलनको बेलामा साहित्यकारहरू कागजमा सीमित रहेनन्। उनीहरू पञ्चायती व्यवस्था अन्त्यको माग गर्दै सडकमा उत्रिएका थिए। त्यति मात्रै नभएर जनताको पीडालाई शब्दमा उतारेसँगै अन्यायविरुद्ध आवाज उठाएसँगै निरंकुशताको अन्त्य र बहुदलीय प्रजातन्त्रको स्थापना गर्नु थियो।
२०४६ को जनआन्दोलन केवल राजनीतिक परिवर्तन नभई चेतनाको आन्दोलन थियो। साहित्य, विचार र सडक संघर्षको संयुक्त प्रभावले निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय प्रजातन्त्र पुनः स्थापना गर्न निर्णायक भूमिका खेलेको थियो।
सडकमा गुन्जिएका नाराहरू केवल शब्द मात्रै थिएनन्, त्यो समयको माग थियो। पञ्चायती व्यवस्थाको कठोर संरचनाले नागरिक स्वतन्त्रतालाई सीमित बनाउँदै लगेको अवस्थामा जनताभित्रको असन्तुष्टि बिस्तारै उर्लदै गयो। अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइएको बन्देज, राजनीतिक दलहरूमाथिको प्रतिबन्ध र मानव अधिकारको निरन्तर हननले समाजलाई मौन बनाएको थियो तर त्यो मौनता स्थायी रहेन।
२०४६ सालमा आइपुग्दा त्यो मौनता विद्रोहमा रूपान्तरण भयो। विद्यार्थीहरू कक्षाकोठाबाट बाहिर निस्किए, मजदुरहरू कारखानाबाट सडकतिर उत्रिए र बुद्धिजीवीहरू आफ्ना विचारलाई सार्वजनिक गर्न थाले।
यस आन्दोलनमा साहित्यकारहरूको भूमिका विशेष रूपमा उल्लेखनीय रह्यो। यस ऐतिहासिक आन्दोलनमा पारिजात, कमल दीक्षित, खगेन्द्र संग्रौला, नारायण ढकाल, विमल निभा, कृष्णसेन इच्छुक, ध्रुवचन्द्र गौतमलगायतका अन्य स्रष्टाहरूको उल्लेखनीय उपस्थिति थियो। उक्त उपस्थितिले कलमलाई केवल सिर्जनाको साधन होइन, परिवर्तनको माध्यम बनाएका थिए। उनीहरूको कविता, गीत र लेखहरूमा जनताको पीडा, आक्रोश र आशा पोखिएको हुन्थ्यो।
साहित्यकार तथा लेखक नारायण ढकालका अनुसार २०४६ सालको जनआन्दोलन केवल हामी असन्तुष्ट छौं, हामी स्वतन्त्रता चाहन्छौं भन्नेमा थियो। जब देशमा बोल्ने स्वतन्त्रता बन्देज भएको थियो, त्यति बेला साहित्यकार र कलाकारहरूले मौनतामै शक्तिशाली आवाज उठाएका थिए।
विद्यार्थी, मजदुर, कर्मचारीदेखि बुद्धिजीवीसम्म सबै वर्गले एकै स्वरमा परिवर्तनको माग गर्न थालेको उनले नागरिकसँग बताए। ‘सडकहरू आन्दोलनका नाराले गुन्जिएका थिए,’ उनले भने, ‘प्रजातन्त्र शब्द केवल विचार होइन, जनताको साझा सपना बन्न पुगेको थियो।’ अन्ततः तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेवकै शासनकालमा भएको उक्त जनआन्दोलनपछि नेपालमा बहुदलीय प्रजातन्त्र पुनः स्थापना भएको उनी बताउँछन्।
२०४६ सालमा काठमाडौंका सडकहरू केवल आवतजावतका लागि मात्र रहेनन्, ती इतिहास लेख्ने मञ्च बने। वर्षौंदेखि दबिएको जनताको आवाज शब्द, गीत र नारामार्फत विस्फोट हुँदै चेतनाको जागरण र लोकतन्त्रको मागमा रूपान्तरण भयो।
नेपाल एकेडेमी अन्तर्गत सरस्वती सदन (नेपाल प्रज्ञा प्रतिष्ठान) को उपकुलपति विमल निभा (विमलकृष्ण श्रेष्ठ)ले त्यस समयको स्मरण गर्दै साहित्यकारहरूको एकता र साहसलाई आन्दोलनको महत्ववपूर्ण आधारका रूपमा प्रस्तुत गर्छन्। साथै त्यो समयको पीडा, प्रतिरोध र परिवर्तनको चाहनालाई जीवन्त बनाएको उनी बताउँछन्।
उनका अनुसार देश लामो समयदेखि अधिकारको अभावमा बाँचिरहेको थियो। अभिव्यक्ति स्वतन्त्रता सीमित थियो, राजनीतिक दलहरू प्रतिबन्धित थिए र मानव अधिकारका आवाजहरू दबाइन्थे। तर यही दमनभित्रै असन्तुष्टिको बिउ उम्रिँदै गयो। जनताले महसुस गर्न थाले, अब मौन बस्ने समय सकिएको छ। सडकमा उत्रिएको भिड केवल विरोधका लागि थिएन, उनीहरू आफ्नो अस्तित्व र अधिकारको खोजीमा रहेको निभाले बताए।
‘देश दशकौंदेखि एउटा मौन पीडामा थियो,’ उनले भने, ‘पञ्चायती व्यवस्थाको कठोर घेराभित्र थुनिएको जनजीवनमा स्वतन्त्रताको सास लिन पाउने ठाउँ क्रमशः साँघुरिँदै गइरहेको थियो। बोल्ने अधिकार सीमित थियो, लेख्ने स्वतन्त्रता निगरानीमा थियो र असहमतिको स्वर प्रायः दमनको छायामा हराएका थिए। न्यायको अपेक्षा गर्नेहरू निराश हुँदै गएका थिए।’ यही असन्तुष्टि, मौन आक्रोश जनआवाजमा रूपान्तरण भएको उनले बताए। साथै निरंकुशताको अन्त्य र बहुदलीय प्रजातन्त्रको स्थापना भएको उनी बताउँछन्।
‘आन्दोलनको एक महत्ववपूर्ण दृश्यात्मक प्रतीक कालोपट्टी थियो,’ उनले भने, ‘विद्यार्थी, शिक्षक र कर्मचारीहरूले हात, मुख वा निधारमा कालो पट्टी बाँधेर शान्तिपूर्ण विरोध गरेका थिए। यो केवल एउटा संकेत थिएन। यो जनताको मौन तर शक्तिशाली घोषणा थियो।’
कविता, गीत र लेखमार्फत जनचेतना फैलाए, निरंकुश शासनको निर्भीक आलोचना गरे, सडक नाटक र सांस्कृतिक कार्यक्रममार्फत आन्दोलनलाई जनस्तरसम्म पुर्याएको उनी बताउँछन्। साथै पर्चा, पत्रपत्रिका र गोष्ठीमार्फत विचारको लडाइँ लडेर साहित्यले आन्दोलनलाई केवल ऊर्जा मात्र नदिई दिशा पनि दिएको निभाले स्वीकार गरे।
त्यस समय सरस्वती सदन एउटा महत्ववपूर्ण बौद्धिक केन्द्रको रूपमा उदाएको थियो। यहाँ लेखक, कवि, कलाकार र बुद्धिजीवीहरू भेला भएर आन्दोलनका विषयमा छलफल गर्थे। त्यति मात्रै नभएर कविता वाचन हुन्थ्यो। सरस्वती सदन केवल एउटा भवन थिएन, त्यो समयको चेतनालाई दिशा दिने मञ्च थियो, जहाँ शब्दहरूले आन्दोलनलाई गहिराइ र स्पष्टता प्रदान गर्थे।
अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज, राजनीतिक प्रतिबन्ध र मानव अधिकार हननले समाजलाई लामो समय मौन बनायो। तर २०४६ सम्म आइपुग्दा त्यो मौनता विद्रोहमा बदलियो, जहाँ विद्यार्थी, मजदुर र बुद्धिजीवी एकसाथ सडकमा उत्रिए।
२०४६ सालको जनआन्दोलनका क्रममा साहित्यकार र कलाकारहरूको सक्रिय सहभागिता निर्णायक बनेको तथ्य लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले स्मरण गरेका छन्।
उनका अनुसार २०४६ साल चैत २४ गते त्रि–चन्द्र क्याम्पस अगाडि लेखक, कलाकार, चलचित्रकर्मी तथा विभिन्न पुस्ताका स्रष्टाहरूको उल्लेखनीय भेला भएको थियो। जसलाई आन्दोलनको सबैभन्दा ठुलो बौद्धिक सहभागिताको रूपमा लिइन्छ। उक्त भेलामा पारिजात, मोहन कोइराला, विमल निभा, ध्रुवचन्द्र गौतमलगायतका स्रष्टाहरू सहभागी थिए।
‘त्यो बेला खुलेर बोल्न पाउने अवस्था थिएन,’ नागरिकसँग उनले भने, ‘त्यसैले हामीले गीत, कविता र नाटकमार्फत आफ्नो असहमति र विद्रोह व्यक्त गथ्र्यौं।’
संग्रौलाले थपे, ‘प्रगतिशील लेखक संघ र साहित्य सन्ध्याजस्ता संस्थाहरूले आन्दोलनलाई वैचारिक ऊर्जा प्रदान गरेका थिए।’ आन्दोलनका क्रममा लेखकहरूले प्रमुख मागहरू बहुदलीय व्यवस्था स्थापना, प्रेस स्वतन्त्रता र उत्तरदायी शासन प्रणाली अघि सारेको उनी सम्झन्छन्।
यसैबिच सरस्वती सदन अगाडि भेला भएका करिब १५० जना लेखकहरूलाई प्रहरीले नियन्त्रणमा लिई सिंहदरबारस्थित बगीखानामा राखेको थियो। सो क्रममा शारीरिक रूपमा अशक्त रहेकी पारिजातलाई भने प्रहरी महिला नभएकै कारण नियन्त्रणमा नलिएको उनले सुनाए।
‘महिला प्रहरीबाहेक अरूले नछुनु भन्दै कडा प्रतिवाद पारिजातले जनाउनुभएको थियो,’ उनले भने, ‘उहाँ करिब दुई घण्टा धर्नामा बस्नुभएको थियो।’
साहित्यकार संग्रौलाले उक्त घटनालाई स्मरण गर्दै पुनः भने, ‘त्यो आन्दोलन केवल राजनीतिक मात्र थिएन, त्यो चेतनाको आन्दोलन थियो, जहाँ कलमले पनि सडकमा उत्रिएर परिवर्तनको आवाज उठायो।’
जनआन्दोलनका क्रममा साहित्यकारहरू कागजमा सीमित रहेनन्, उनीहरू सडकमा उत्रिए। कविता, गीत र लेखमार्फत जनताको पीडा, आक्रोश र आशा व्यक्त गर्दै निरंकुश शासनविरुद्ध वैचारिक तथा सांस्कृतिक आन्दोलनको नेतृत्व गरे।
उनका अनुसार कालोपट्टी बाँधेर गरिएको शान्तिपूर्ण विरोधले जनताको असन्तुष्टिलाई सरल तर शक्तिशाली रूपमा अभिव्यक्त गर्यो। सडकमा उभिएका ती अनुहारहरूमा डरभन्दा बढी दृढता देखिएको थियो। उनीहरू आफ्नो अधिकारको खोजीमा थिए, र त्यो खोजी रोकिने अवस्थामा नभएको उनले नागरिकलाई बताए। सरस्वती सदनजस्ता केन्द्रहरूले बौद्धिक नेतृत्व दिए। अन्ततः जनताको संयुक्त प्रयासले नेपालमा प्रजातन्त्र पुनः स्थापना भयो।
यसरी, २०४६ सालको जनआन्दोलनमा सडक, साहित्य र विचार तीनै पक्ष एक आपसमा गहिरो रूपमा जोडिए। उक्त आन्दोलन समाजको चेतनामा आएको गहिरो रूपान्तरण थियो, जसले नेपाललाई नयाँ युगतर्फ अघि बढायो।
त्यसपछि २०४७ सालमा नेपालको संविधान जारी भएको थियो। यो संविधान नेपालमा लोकतान्त्रिक अभ्यासको एउटा महत्ववपूर्ण आधार बन्यो।
प्रकाशित: ११ वैशाख २०८३ ११:०६ शुक्रबार