पटाउटी तलकोट गाउँपालिका–४ बझाङको अत्यन्त रमणीय स्थल हो। बेदकाला, भक्तपुर र उपरकोट गाउँबाट पश्चिममा पर्ने पटाउटीको भिरबाट दक्षिण र पश्चिमी भूभाग अत्यन्त मनोरम देखिन्छ। पटाउटी डाँडो चट्टानी भूभाग भएकाले डरलाग्दो पनि छ। सानोमा ग्वालो अवस्थामा धेरैपटक यो ठाउँमा पुगेकाले निकै नै याद आउँछ। धेरै पटक यो भिरको बाटो भएर मताधिकार प्रयोग गर्न तल्ला स्याडास्थित कालिका प्रावि मतदान केन्द्र पुगेको छु। एक पटक त जुत्ता खोलेर हत्केला आकारको भिरको बाटो हातले टेकेर लौरीको सहायताले मुस्किलले पार गरेको छु। समाजसेवी निर्मला जोशी बुहारीले बाटो पार गर्न साहसिक मनोबल दिएकी थिइन्।
तल्लो र माथिल्लो गरी दुई वटा पटाउटीका लोभ लाग्दा डाँडा छन्। माथिल्लो पटाउटीमा स्थानीय सरकारले मोटरेबल कच्ची सडक निर्माण गरेको छ। खौला बजारबाट स्याडी गाउँ पुग्न सडक निर्माण गरे तापनि गाडीहरू सवार भएका देखिँदैनन्। डरलाग्दो भिरको बाटो पार गर्नुपर्ने भएकाले सवारी नचलेको हुन सक्छ । मल्लो पटाउटीको छेउमा सल्लाको घना जंगलको बिचमा हामी ग्वालाहरू त्यस बेला हमाली (पिङ) हाल्थ्यौं। जंगलका वरिपरि गाईवस्तुहरू घन्टी बजाउँदै चर्ने गर्थे । यो चरण क्षेत्र पनि हो। वर्षायाममा हामीहरू घाँस काट्थ्यौं । मल्लो पटाउटीको उत्तरतिर अर्को डरलाग्दो डाँडो छ। जसलाई स्याडी गाउँका मणापोल्ना (मुर्दा जलाउनु) डाँडा भनिन्छ। स्याडी गाउँ बुढामगरहरूको बस्ती हो । बुढामगरहरूको परम्पराअनुसार मानिस मरेपछि यही डाँडोमा लास पुर्याएर खरानी हुनेगरी लासलाई जलाउने गरिन्छ। स्याडीको मणापोल्ना डाँडा भनेपछि हामी ग्वालाहरूलाई निकै डर लाग्ने गथ्र्यो । स्थानीय भाषामा भयाउन्या आउँछ, त्यता जान हुँदैन भन्ने डरले त्यो डाँडोमा हेर्न पनि सकिँदैनथ्यो । त्यही डाँडाको छेउछाउबाट बर्सेनि पहिरो आइरहन्थ्यो । वनदेवीका कृपाले गाईगोरु र हामीहरूलाई चोटपटक लागेको थिएन तर ठुला साना ढोल (ढुंगा) आइरहन्थे। तल्लो पटाउटीभन्दा हामी ग्वालाका लागि गाईगोरु चराउन सहज थियो । तल्लो पटाउटी बेदकाली गाउँबाट तल्लो स्याडी गाउँ जान छोटो पर्छ। तल्ला स्याडाका मुखिया दिलबहादुर सिंह जग्गा जमिनको कर उठाउन त्यही बाटो भएर ओहोरदोहोर गरेका धेरै पटक देखेको छु। कुनै बेला सैनडी भन्ने मेला (भिरमा घाँस काट्ने ठाउँ) बाट गाजो (सुकेको घाँस) को भारी बोक्दै बेदकाली गाउँका आमा–भाउजूहरू ज्यान जोखिममा राखी तल्लो पटाउटीको भिरको बाटो भएर घर पुग्थे। ‘बेदकाली गाउँमा सैंनडीको गाजो’ भन्ने त्यसबेलाको कथन प्रचलित थियो। तल हिमनदी सेती बग्ने, माथि पडाल्त गाउँ जाने भिरको डरलाग्दो बाटो छ । अहिले त वीरहरूले सडक निर्माण गरी गाडी कुदाउने गर्छन् । पुरास (भोट) जाने बाटो पनि यही हो । अहिले पनि केही व्यक्तिहरू न्यानो कपडा र नुनका लागि पुरास (भोट) जाने गर्छन् । सैंनडी गाजो काट्नका लागि पनि गाउँका दिदीबहिनीसँग मेरा साहिँला दाजु जयकृष्णकी धर्मपत्नी अथात् मेरी भाउजू धौलीदेवी पनि जानुभयो । साँझ पर्न लागेको बेला गाजो काट्दै गर्दा भिरबाट भाउजू लड्नुभयो। सेती नदीको किनारामा लास पुगेछ । अकालमा घरकी गृहलक्ष्मी भाउजूको दुःखद निधन भएको घटना जिन्दगीमा बिर्सन सकिन्न। यो घटना २०४१ मंसिरको हो । उहाँको अन्त्यष्टि सेती नदीमा गरियो। उहाँबाट जन्मेका रामेश्वर र लोकेश्वर दुईजना छोरा अहिले आआफ्नो काम गरिरहेछन् । आमा गंगामतीको सल्लाहअनुसार २०५० सालमा दाइले वाझ गाउँ माइत भएकी धनलक्ष्मीसँग दोस्रो बिहे गरी वर्तमानसम्म जिन्दगी बिताइरहनुभएको छ।
पटाउटी डाँडो पर्यटकीय दृष्टिले सारै रमाइलो छ । यससम्बन्धी अवधारणा तलकोटमा मात्र होइन, जिल्लाभरि नै बन्न सकेको छैन। यो डाँडोबाट दक्षिणतिर हिमनदी सेती वर्षामासमा उर्लेर बगेको देखिन्छ । हिउँदमा निलो गगनझैं लाग्छ र सुस्तरी बगेको देखिन्छ। सेती नदीबाट शीतल र स्वच्छ हावा चलेको महसुस गरेर बतासिन मन लाग्छ । काला कौवा कावा खाँदै यहाँका अग्ला अग्ला सल्लाका टुप्पा र बलिया हाँगामा बसी आफ्ना साथीसँगी र परदेशीलाई बोलाएकोझैं लाग्छ । आफ्ना गाउँका काग कराएको पनि सुहाउने रहेछ। गाईवस्तुले आफ्ना चमर डुलाएको, भलादमी चालले घाँस चरेको दृश्यले यो साहित्यिक हृदय लोभ्याउँछ। पानी परेको बेला पाल्तो घुम ओढी बढेमानका सल्लाका फेदीमा ओत लाग्दै ती हरिया डाँडाहरूको दृश्यावलोकन गर्दै किनाराको डाँडाको फेदीसम्म सेती नदी बगेको म हेरिरहन्थेँ । नानाथरी कल्पना गर्दै गीत गाएको भुलेको छैन । २०४१ सालमा रेडियो नेपालमा रेकर्डिङ गरेको पंक्तिकारको ‘घर त मेरो सेती गंगा’ बोलको लोकगीत यही रनवनको उपजको गीत हो । पटाउटीको डाँडोबाट तत्कालीन तलकोटी राजाको कोट निकै सुन्दर देखिन्छ। हुन पनि सेती नदी र तलकोटी गाडको बिचको थुम्कोमा अवस्थित तलकोटी दरबार जिल्लाका धेरै कोटभन्दा सर्वश्रेष्ठ मानिन्छ। दसैंको बेला यहाँ लाग्ने मेला त बिर्सन नसकिने खालको छ।
यसैगरी दुर्गाभवानी माविको चौर, बाबइको घना जंगल, विद्यालयभन्दा उत्तरतिर रहेको माल्वा डाँडो र वरिपरिको दृश्य, डौठीको पानी, गाईवस्तु चर्ने चरण क्षेत्रको दृश्यले पटाउटीको सुन्दरता अग्लिएको महसुस भयो मलाई। पटाउटीपूर्व घना जंगल छ, जहाँ स्यालहरूको वासस्थान छ। पाठा, बाख्रा खान पल्केका स्यालहरू मान्छे देखेपछि कुलेलम ठोक्छन् । त्यही जंगलको दक्षिणतिर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन छन्। जनताका आवश्यक कामहरू यहींबाट गरिने हुँदा मानिसहरूको आवागमन भइरहन्छ। सायद त्यसैले होला, स्यालहरू त्यति सारो कराएको पनि सुनिँदैन वर्तमानमा । दुर्गाभवानी मावि तलकोटी जनताको साझा सम्पत्ति हो, यसका संस्थापक प्रअ देवीचन्द्र जोशी हुन्। दुर्गाभवानी विद्यालयबाट सिधै मेलबिसौनाको अग्लो डाँडो देखिन्छ । टाढाबाट सुन्दर देखिने मेलबिसौनाको यो डाँडोले मस्टा र तलकोट गाउँपालिकाको सिमाना छुट्याउँछ । तलकोटका धेरै बस्ती र चिटिक्क परेका तलकोटी घरहरूको मौलिकता यहाँ जति गरे पनि कमी नै होला।
सेती नदीपारि फेदीदेखि टुप्पासम्म छरिएर रहेका बस्ती र गाउँको नाम रूपातोला हो । रूपातोलाबाट उत्तरतिर सानो बस्ती देखिन्छ, सेती नदीको किनारामा । यो गोप्य रूपमा रहेको गाउँको नाम किर्किट्या हो। त्यहाँबाट घनघोर जंगल छ सिरानीमा। पटाउटीको डाँडोबाट नदीपारीको दृश्य छर्लंङ देखिन्छ। घनघोर जंगल पनि देखिन्छ। यही जंगलको बिच भागमा आस्थाका देवता कुलदेवता मस्टाको मन्दिर छ । जसलाई राउणीको मस्टो भनी नदी वारिपारिका भक्तजनले पुकार्ने गर्छन्। भाद्र कृष्ण जन्माष्टमी तिथिमा यहाँ भक्तिपूर्वक पूजा गरिन्छ। धामीले देवताको अवतार लिने जनविश्वास छ। दुधको दुध, पानीको पानी छुट्याउने मस्टोदेवता सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसका आस्थाका देवता हुन् । यहाँका प्रायः धामीहरूले अक्सर सेतो लुगा लगाउँछन्। टाउकामा लणामा देवता बसेको जनविश्वास गरिन्छ, जसलाई सेतो र सफा कपडाले छोपेको हुन्छ। कुखुरा बासेको पनि नसुनियोस् भन्नका लागि देवता यो अनकन्टार जंगलमा बसेका भन्ने भनाइ रहेको छ । वर्तमानमा भुन्टु धामीमा भन्दा उनका बुबा स्व. शुको धामीमा देवता अवतरिँदाका बखत सत्य–सत्य कुरा बताउने गर्थे रे भन्ने भनाइ रहेको छ।
वर्षामासमा प्रशस्त घाँस पाइन्छ यहाँ । फागुनको आगमनसँगै राष्ट्रिय फूल लालीगुराँस फुलेर जंगल नै राताम्य देखिन्छ। सफा हावापानी, निलो आकाश, निलो नै सेती नदी, हरियाली वनजंगल, स्याउली सोत्तर गर्न आएका छोट्र्या, छोर्याट्टीले स्वच्छन्द तरिकाले गाएका देउडा गीतका कारुणिक भाकाहरूले यो मन आह्लादित हुन्छ।
उच्च शिक्षा अध्ययनका लागि उपत्यका खाल्डोमा प्रवेश गरेको ४८ वर्ष पूरा भयो । अझै गाउँलाई बिर्सन सकिँदैन। पटाउटी मात्र नभई बुधाको डाँडो, काँठाका पानी, रौल्पाका मेला, पतिउटी, स्याडा, रौतिमेला, इजका खाली, टाला बन्सान्नी, अल्लीखातलगायतका मेरा गोरु चराउने वनजंगल भुल्न सकेको छैन।
डाँडा गाउन्या को हो को हो गैरीगाउन्या लक्षू
इन्द्र दुःखी कालो बादल मान्छे दुःखी म छु।
अरु फुलेली फुलेली, अछामका लेक बझाङका धुरा झम्का गुलेली।
प्रकाशित: २८ चैत्र २०८२ ०७:१५ शनिबार