कला/साहित्य

राष्ट्र बन्नै बाँकी छ

पुस्तक

२०८३ साउन ६ गते ‘चक्रप्रसाद बाँस्तोला:  बौद्धिकता र विद्रोह’ वार्तालाप पुस्तक प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा विमोचन भयो। प्रसिद्ध साहित्यकार कृष्ण धरावासीद्वारा सम्पादित र चक्र बाँस्तोलाकी धर्मपत्नी कुसुम बाँस्तोला प्रकाशक हुन्। यस पुस्तक विमोचनमा डा. यादवले भने– ‘मलाई अचम्म लागेको छ। हिजोआज अधिकांश लेखक तथा स्तम्भकार किन मौन छन् ? के देश ठिक बाटो हिँडेको छ? विगतका कठिन राजनीतिक समयमा सशक्त कलम चलाउने बुद्धिजीवी कहाँ छन्?’

प्रथम राष्ट्रपतिका यी सवाल बिपी कोइराला र बाँस्तोलाबिचको पुस्तकसँग पनि जोडिन्छन्। यसमा बिपीले बाँस्तोलालाई भनेका छन्– ‘हेर ! इतिहासमा धेरै राष्ट्र बने। कति राष्ट्र पहिलो विश्वयुद्धमा रहेनन्। दोस्रो विश्वयुद्धपछि कति नयाँ बने, कति पुराना हराए, के–के भए? त्यसो भए नेपालको नियति के छ त? एउटा राष्ट्र भएर बसिरहने नियति छ कि छैन? ...हाम्रा सारा लडाइँ नेपाल राष्ट्रसँग त जोडिन्छन्। अधिकारसम्पन्न नेपाली जनताका लागि हुन्। सुन्यौ ! नेपाल राज्य बनेको छ, राष्ट्र बन्नै बाँकी छ।’

यसको व्याख्या बाँस्तोलाले गरेका छन्।

धर्मपत्नी कुसुम बाँस्तोलाले चक्र बाँस्तोलाको ६ वर्षसम्म अचेत अवस्थामा गरेका सेवा मर्मस्पर्शी छन्। एक क्षण पनि ओझेलमा नपारी, अत्यावश्यकताले बाहिर जाँदा पनि घर फर्कने हतारो हुन्थ्यो। राजनीतिमा सक्रिय हुँदा कुसुमले आगन्तुकप्रति गरेका व्यवहारको प्रशंसा गर्थे। चर्को स्वरमा बहस वा वादविवाद भए पनि कोठामा आएपछि कुसुमबाट पाएको शीतलताले शान्त हुन्थे।

कहिल्यै दुःखी नदेखिने चक्र बाँस्तोलाले पोखरा पार्टी महाधिवेशनमा भोगेको पराजय पीडादायी भएको कुसुमले बताएकी छन्। प्रहरीले गरेको घर खानतलासी, सरिता प्रसाईं र उनकी आमा दिव्य प्रसाईंको गिरफ्तारी, टोरुप प्रसाईंले पठाएको ‘पम्प्लेटको आपतबोरा’ र चलाखीपूर्वक बिना प्रसाईंको घरमा स्थानान्तरण गरेका २०४६ आन्दोलनको राजनीतिक पाटो, परिवारप्रतिको जिम्मेवारी, विवाह तथा पदीय राजनीतिलगायत कुसुमसँगको संवादले पुस्तकले केही पूर्णता पाएको धरावासीको कथन छ।

भोला चेटर्जीसँगको एक अन्तर्वार्तामा बिपीले चक्र बाँस्तोलालाई ‘तेजस्वी युवक’को संज्ञा दिएका छन्। उनको राजनीतिक जीवन भारतको बनारसबाट सुरु भयो। बनारसको बिएचयुमा पढ्दै गर्दा बिपीसँगको भेटघाट तथा प्रदीप गिरीसँगको संगतको गहिरो प्रभाव थियो। प्रदीप गिरीले सदस्य लिन नभनी उनी कांग्रेसी कार्यकर्ता भएछन्।

साहित्यमा रुचि राख्ने व्यक्तिलाई उनले राजनीतिक शास्त्र पढ्न उत्प्रेरित गरे। युनिभर्सिटीको चुनावमा पहिलो पटक कांग्रेसबाट प्यानल उठाएर प्रदीप गिरी अध्यक्ष र उनी उपाध्यक्ष भएको प्रसंग रोचक छ। यसअघिको विपरीत विचारधारा भए पनि ‘कोठामित्र’ तेजराज खतिवडाको (कम्युनिस्ट पन्थी) भनाइमा कम्युनिस्टलाई भोट हालेछन्।

चक्र बाँस्तोला निडर र क्रान्तिकारी विचार बोकेका युवा थिए। एक प्रसंगमा उनले भने– ‘कुसुम, राजनीतिमा खुट्टा कमाउने हो भने घरै बसे हुन्छ, मैदानमा उत्रेपछि डराउनु हुन्न।’

आमकांग्रेसीभन्दा फरक थिए उनी। बिपीका कुरा सुन्न मात्र नभई बौद्धिक प्रश्न गर्ने क्षमता राख्थे। थप जवाफ खोज्न मन्त्रीमण्डलमा राज्यमन्त्री भइसकेका योगेन्द्रमान शेरचनलाई बिपीले ‘उहाँ वाकिङ इन्साइक्लोपिडिया हुनुहुन्छ’ भनेर परिचय गराएका थिए।

२०२८ सालमा नेपाली कांग्रेसले सशस्त्र क्रान्तिको घोषणा गरेपछि बिपीको निर्देशनमा हतियार खोज्ने र भण्डारण गर्ने जोखिमपूर्ण काममा लागे। पाकिस्तानी सरकारसँग सशस्त्र संघर्षरत मुक्तिवाहिनीको अनुरोध र जयप्रकाश नारायणको सल्लाहमा बिपीले क्रान्तिका लागि राखिएको हतियार बंगलादेशमा पुर्‍याएको र मृत्युको मुखबाट बालबाल बचेको कथा रोचक छ। यसको जानकारी प्रधानमन्त्री इन्दिरा गान्धीलाई भएको अनुमान उनले गरेका छन्।

२०३० जेठ २८ गते बिहान साढे ८ बजे दक्षिण एसियामा नेपालमा भएको हवाईजहाज अपहरण पहिलो हो। यसका योजनाकार गिरिजाप्रसाद कोइराला थिए। सेकेन्ड–सेकेन्डका योजनामा अपहरण भयो। अपहरणकारीसँग चक्र बाँस्तोलाको चिनजान थिएन। जे आदेश भयो, त्यही गरे। देशभित्र क्रान्ति गर्न भारु तीस लाख हात पार्न यो मिसन सफल भयो। चक्र बाँस्तोला गिरिजाबाबुको ‘साइलेन्ट सिपाही’ थिए।

ओखलढुंगाबाट पहिलो आक्रमणबाट सुरु गरिएको क्रान्ति तत्कालीन पञ्चायती शासनले असफल पार्‍यो। जुम्लिया युवा दाजुभाइ रामलक्ष्मणसहित २६ होनहार युवाले ज्यान गुमाए। सशस्त्र क्रान्तिको योजना तुहियो। यसका कमान्डर यज्ञबहादुर थापा र सहकमान्डर अमरसिंह राई थिए। पाकिस्तानमा भुट्टोलाई फाँसी दिएको १५ दिनअघि थापालाई गोली हानी मृत्युदण्ड दिएको थियो।

अपहरण काण्डबाट ‘डकैतीको मुद्दा’ चल्यो। फलामे बेडी हातखुट्टा र घाँटीमा लगाई डाँकासास्ती तथा लखनउ जेलमा दादाका यातना अपत्यारिलो थियो। आरएसएसमा लागेका एक सहपाठी भेटेपछि १० दिनको बसाइँ केही सहज भयो। हातखुट्टाका साङ्लीसहितको हत्कडी भुइँमा र रेलमा घिसार्दै हिँड्नु र बस्नुपर्थ्याे। सन् १९७५ मा एक राजनीतिक समझदारीपछि उनी रिहा भए। २०३७ वैशाख १ गते आममाफी घोषणापछि नेपाल फर्किए। २०४६ सालपछिको पहिलो चुनावमा पराजय भोगे तर दोस्रोमा जितेर मन्त्री भए। माओवादीसँगको वार्तामा पहिलो सरकारी सहजकर्ता थिए।

सन् १९९६ ताका, एम्नेस्टी इन्टरनेसनलले चीनको मानवअधिकारको सम्बन्धमा ‘चीनमा कोही सुरक्षित छैनन्’ प्रकरणसहित विश्व अभियान चलायो। नेपाल शाखाको म सभापति थिएँ। एक जुलुससहित चिनियाँ दूतावासमा जाने योजना बन्यो। न्युरोडबाट जुलुस सुरु नहुँदै पक्राउ पर्‍यौं, भृकुटीमण्डपमा राखियो। पहिलेदेखि नै करिब तीन–चार सय तिब्बती शरणार्थीलाई ठाउँ–ठाउँबाट त्यहाँ ल्याइएको रहेछ। ‘फ्रि तिब्बत’को संलग्नता देखाउन सरकारले त्यसो गरेको थाहा भयो। राति १२–१ बजेतिर हामी करिब २० जना र १५ शरणार्थीलाई हनुमानढोकामा सारियो।

हामी छुटेपछि दबाबमा ती बन्दीलाई चीन फर्काउने निर्णय सरकारले गर्न लागेको चाल पायौं। चक्र बाँस्तोला शेरबहादुर देउवा क्याबिनेटमा एक शक्तिशाली मन्त्री थिए। बिहान ६ बजे थापागाउँ निवासमा पुगेँ। हामीबिच निकै चर्काचर्की भयो।

मानवअधिकारका दृष्टिले गलत हुँदैछ भन्ने मेरो राय थियो तर सरकारको बचाउ उनले गरे। कुसुम भाउजूले ल्याएको चियासमेत नपिई तनावबिच म हिँडेँ। पछि थाहा भयो, सरकार पछि हटेछ। सायद उनले प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गरे होलान्। यस घटनाले घरमा केकस्तो असर पार्‍यो भन्ने मलाई चिन्ता थियो तर यो पुस्तक पढेपछि कुसुम भाउजूका अगाडि उनी शान्त हुने स्वभाव भएकाले केही ‘रिलिफ’ महसुस गरें।

प्रकाशित: १६ श्रावण २०८३ १२:०४ शनिबार