कला/साहित्य

संसार गुमाएकी आमा

सङ्घर्ष

बिहानको ठिक ९ः३० बजेको थियो। बाहिर आकाश अँध्यारो थियो। पानी रोकिएको थिएन। नदीको आवाज क्रमशः ठुलो हुँदै थियो। पहाडबाट माटो बगिरहेको थियो। मानिसहरू घरबाट बाहिर निस्केर एकअर्कालाई चिच्याउँदै थिए– ‘पानी बढ्यो, भाग्नुहोस्!’, ‘बच्चालाई समात!’, ‘त्यता नजानू!’

 तर आमाका लागि ९ः३० केवल एउटा समय थिएन। त्यो उनको जीवन दुई टुक्रामा चिरेर गएको क्षण थियो। त्यसअघि उनी परिवारसहित थिइन्। त्यसपछि उनी एक्ली भइन्। केही समयअघि मात्रै उनले आफ्नो कान्छो छोरा गुमाएकी थिइन्। ऊ नयाँ पुस्ताको आवाज बोकेर सडकमा निस्किएको थियो। घरबाट निस्कँदा उसले आमालाई भनेको थियो, ‘आमा, म छिटै आउँछु।’

आमाले पनि अरू दिनजस्तै उसलाई हेरेर भनिन्, ‘छिट्टै आउनू बाबु !’ उनलाई कहाँ थाहा थियो र, त्यो छिटै आउने वाचा उसको अन्तिम शब्द बन्नेछ भनेर। त्यो दिनपछि छोरा फर्किएन। घरमा उसको जुत्ता रह्यो, किताब रह्यो, ओछ्यान रह्यो, कपडा रह्यो, मोबाइल रह्यो तर छोरा रहेन। छोराको कोठामा पस्दा आमालाई अझै लाग्थ्यो -ऊ कतैबाट ढोका खोलेर भित्र पस्नेछ। ‘आमा, चिया छ?’ भनेर सोध्नेछ। कहिलेकाहीं फोन बज्दा उनी हतारिएर मोबाइल समात्थिन्। एकछिन मुटु ढुकढुकाउँथ्यो तर स्क्रिनमा छोराको नाम हुँदैनथ्यो। अनि उनी फेरि आफैंलाई सम्झाउँथिन्, ‘ऊ अब आउँदैन।’ तर मनले त्यो कुरा मान्न कहाँ सक्थ्यो र? उनको एउटै प्रश्न थियो - किन? किन मेरो छोरा? किन उसको जीवन? परिवर्तनको सपना देख्ने एउटा युवाको मृत्यु किन यति सस्तो भयो? उसको आवाज किन बन्द भयो? सडकमा उठेको एउटा पुस्ताको आक्रोशले किन एउटी आमाको काख रित्तिनुपर्‍यो? प्रश्न धेरै थिए, उत्तर कतै थिएनन्। समय बित्दै गयो तर आमाको समय त्यही दिन रोकियो।

त्यसपछि फेरि अर्को विपत्ति आयो। बिहान ९ः३० बजे पानीले आफ्नो सीमा नाघ्यो। खोलाको आवाज नदीको गर्जनमा बदलियो। पहाड चर्किएझैं लाग्यो। बाटोमा माटो र ढुंगा बग्न थाले। घरका आँगन पानीले भरिए। मानिसहरू सामान होइन, मान्छे बचाउन दौडिए। कसैले बच्चा काँधमा बोकेका थिए, कसैले वृद्धको हात समातेका थिए, कसैले आफ्ना कागजपत्र र नागरिकता छातीमा च्यापेका थिए तर प्रकृतिको वेगका अगाडि मानिसका हात कमजोर थिए। आमाले पनि आफ्नो परिवारलाई समात्न खोजिन्। एउटा हातमा श्रीमान्, अर्को हातमा छोरी। वरिपरि मानिसहरूको चिच्याहट थियो। पानीको गर्जन थियो। कसैले ‘भाग !’ भनिरहेका थिए, कसैले ‘समात !’ भनिरहेका थिए। त्यसैबिच एउटा हात छुट्यो। फेरि अर्को हात पनि। उनी चिच्याइन् - ‘नछोड ! मलाई नछोड !’ आवाज पानीको गर्जनमा हरायो। उनलाई अचानक आफ्नो मृत छोरा सम्झना आयो। छोरा भएको भए उसले के गथ्र्यो होला? सायद दौडेर आएर भन्थ्यो, ‘आमा, डराउनुपर्दैन, म छु।’ तर त्यो छोरा त पहिल्यै गइसकेको थियो। आमाले त्यो दिन पहिलोपटक महसुस गरिन् - विपत्तिको समयमा मानिसलाई सबैभन्दा बढी चाहिने कुरा पैसा होइन, आफ्ना मान्छेको हात रहेछ तर उनको हातबाट आफ्नै संसार छुट्दै थियो। घर भत्कियो। बाटो हरायो। आवाजहरू हराए। पानीसँगै मानिसहरू कहाँ बगे, कसैलाई थाहा भएन। केही घण्टापछि जब पानीको उन्माद केही कम भयो, गाउँमा एउटा अकल्पनीय मौनता छायो। मानिसहरू भग्नावशेषमा आफन्त खोजिरहेका थिए। कोही चिच्याउँदै थिए– ‘मेरा बुबा कहाँ हुनुहुन्छ ?’ कोही रोइरहेका थिए - ‘मेरी छोरी भेटिइन।’ कसैले श्रीमती खोजिरहेका थिए, कसैले बच्चा, कसैले आमाबुबा।

ती आमाले पनि खोजिन्। ढुंगा पल्टाइन्, माटो खोतलिन्, भत्किएको घरका काठ हटाइन्, प्रत्येक आवाजमा कान थापिन्। ‘बाबु?’ उनले बोलाइन्। ‘छोरी?’ फेरि बोलाइन्। ‘तपाईं कहाँ हुनुहुन्छ?’ यस्तो आवाज कतैबाट आएन। केवल नदी सुसाउँदै गरेको नमिठो एकोहोरो आवाज आइरह्यो। त्यस आवाजभित्र एउटी आमाको संसार हराइरहेको थियो। एक समय यस्तो आयो, जब उनले बुझिन्– उनको परिवारमा अब उनीबाहेक कोही बाँकी छैन। उनले पहिला छोरा गुमाइन्, त्यसपछि परिवार गुमाइन्, घर गुमाइन्, सुरक्षित भविष्यको विश्वास गुमाइन्। अन्ततः आफूलाई सम्हाल्ने कारणसमेत गुमाइन्। उनी बाँचेकी थिइन् तर बाँच्नु र जीवन्त हुनु एउटै कुरा रहेनछ। मृत्यु एकपटक आउँछ तर एक्लोपन हरेक दिन आउँछ। एक्लोपन बिहान आउँछ जब उठेर कसैलाई बोलाउन पाइँदैन, एक्लोपन साँझ आउँछ जब घर फर्किएर ‘आमा’ भन्ने आवाज सुनिँदैन, एक्लोपन चाडपर्वसँगै आउँछ जब घरमा हाँसोको ठाउँमा मौनता हुन्छ। छोराको उमेरका युवाहरू बाटोमा हिँडेको देख्दा मुटु चसक्क हुन्छ। कसैको घरबाट बच्चाको हाँसो सुनिँदा आफ्नै घरको शून्यता झन् ठुलो लाग्छ। फोनको घन्टी बज्दा अझै एकछिन आशा पलाउँछ। अनि फेरि सम्झना आउँछ - अब कसैले फोन गर्दैन।

नेपालमा विपत्ति फरक फरक कलेवरमा आइरहन्छ - कहिले भूकम्प, कहिले बाढी, कहिले पहिरो, कहिले आगलागी, कहिले सडक दुर्घटना। कहिले प्रकृतिको प्रहार हुन्छ, कहिले मानवीय असावधानीले विपत्ति जन्माउँछ, कहिले सामाजिक र राजनीतिक असन्तोष हिंसामा परिणत हुन्छ। घटनाहरू फरक छन्, कारणहरू फरक छन् तर प्रत्येक घटनापछि आमाको आँसु उस्तै हुन्छ। बाबुको काख उस्तै रित्तिन्छ। बच्चाको भविष्य उस्तै अधुरो हुन्छ। हामी समाचारमा संख्या पढ्छौं - यति जना मृत्यु, यति जना घाइते, यति घर क्षति, यति परिवार विस्थापित। संख्या आवश्यक हुन्छ, तथ्य आवश्यक हुन्छ तर एउटा संख्यापछाडि एउटा पूरा संसार हुन्छ भन्ने कुरा हामी बिर्सन्छौं। ‘एकजनाको मृत्यु’ भनेर लेखिएको एउटा समाचारभित्र कसैको छोरा हुन्छ, कसैकी छोरी हुन्छे, कसैका श्रीमान् हुन्छन्, कसैका बुबा हुन्छन्, कुनै आमाबुबाको अन्तिम आशा हुन्छ। तथ्यले मृत्यु गन्न सक्छ तर आमाको रित्तिएको काख गन्न सक्दैन।

त्यसैले प्रश्न केवल विपत्ति किन आयो भन्ने होइन। प्रश्न यो पनि हो -हामी किन तयार थिएनौं? जोखिम थाहा हुँदाहुँदै किन सुरक्षित बस्ती बनाउन सकेनौं? खोलाको बहाव थाहा हुँदाहुँदै किन मानिसलाई सुरक्षित ठाउँमा सार्न सकेनौं ? पहिराको जोखिम थाहा हुँदाहुँदै किन बाटो र बस्तीको योजना त्यहीअनुसार बनाउन सकेनौं? पूर्वसूचना किन अन्तिम घरसम्म पुगेन? उद्धार किन समयमै हुन सकेन? विपत्तिपछि पीडित परिवारलाई केवल राहतको बोरा दिएर हाम्रो जिम्मेवारी पूरा हुन्छ कि उनीहरूको जीवन पुनर्निर्माण गर्ने दायित्व पनि राज्य र समाजको हो? प्राकृतिक विपत्ति रोक्न सधैं सकिँदैन। पानी पर्न रोक्न सकिँदैन। पहाडलाई पूर्ण रूपमा पहिरोबाट जोगाउन सकिँदैन। नदीलाई सधैं बाँधेर राख्न सकिँदैन तर क्षति घटाउन सकिन्छ। जोखिम पहिचान गर्न सकिन्छ। सुरक्षित बस्ती बनाउन सकिन्छ। पूर्वसूचना प्रणाली बलियो बनाउन सकिन्छ। उद्धारको तयारी गर्न सकिन्छ। स्थानीय समुदायलाई तालिम दिन सकिन्छ। बालबालिका, वृद्धवृद्धा र जोखिममा रहेका परिवारका लागि विशेष योजना बनाउन सकिन्छ। विपत्तिपछि मानसिक र सामाजिक पुनस्र्थापनालाई पनि राहतकै एउटा हिस्सा बनाउन सकिन्छ।

मानवीय विपत्तिको कथा अझ फरक छ। जब युवाको मनमा निराशा जम्मा हुन्छ, जब उनीहरूको आवाज सुन्ने ठाउँ बन्द हुन्छ, जब संवादको ठाउँ आक्रोशले लिन्छ, तब सडकमा केवल मानिस निस्कँदैनन्, समाजको दबिएको पीडा बाहिर आउँछ, त्यसलाई समयमै सुन्न सकिएन भने त्यसको मूल्य कहिलेकाहीं जीवनले तिर्नुपर्छ। कुनै पनि आमाले आफ्नो छोरालाई आवाज उठाउन पठाएर उसको शव पर्खनुपर्ने अवस्था आउनु हुँदैन।

ती आमालाई अब राजनीति चाहिएको छैन, भाषण चाहिएको छैन, नारा चाहिएको छैन, दोषारोपण पनि चाहिएको छैन। उनको मनमा केवल दुई प्रश्न छन्– मेरो छोरा किन मर्‍यो? म किन एक्लिएँ? यस्ता प्रश्न फेरि कुनै अर्की आमाले सोध्न नपरोस्। साँचो श्रद्धाञ्जली फूल चढाउनु मात्र होइन, मृत्युको कारणबाट पाठ सिक्नु हो, अर्को पुस्तालाई सुरक्षित बनाउनु हो, युवालाई आफ्ना कुरा भन्न सुरक्षित ठाउँ दिनु हो, विपत्तिको जोखिममा रहेका बस्तीलाई सुरक्षित बनाउनु हो, कमजोर पूर्वाधारलाई बलियो बनाउनु हो, विपत्ति आउँदा उद्धार गर्न सक्ने राज्य निर्माण गर्नु हो र विपत्तिपछि बाँचेकाहरूलाई केवल राहत होइन, सम्मानसाथ नयाँ जीवन सुरु गर्ने आधार दिनु हो। हामीले विकासलाई पनि नयाँ आँखाले हेर्नुपर्ने बेला आएको छ। अग्ला भवन, चौडा सडक, ठुला पुल र चम्किला सहर मात्र विकास होइनन्। विकास त्यतिबेला महसुस हुन्छ, जब एउटी आमाले आफ्नो छोरालाई घरबाट बाहिर पठाउँदा ऊ सुरक्षित फर्किन्छ भन्ने विश्वास गर्न सक्छिन्। विकास त्यतिबेला प्रतीत हुन्छ, जब रातभर पानी पर्दा पनि बस्तीका मानिसहरू डराउनुपदैन। विकासको अर्थ त्यतिबेला खुल्छ, जब विपत्ति आउँदा नागरिकले राज्य खोज्नुपर्दैन, राज्य आफैं नागरिकको ढोकामा पुग्छ। विकास त्यतिबेला अनुभूत हुन्छ, जब युवाको असन्तुष्टि गोली, ढुंगा वा मृत्युमा होइन, संवाद, नीति र अवसरमा रूपान्तरण हुन्छ।

ती आमाका लागि बिहान ९ः३० अब कहिल्यै सामान्य समय हुनेछैन। घडीमा ९ः३० बज्दा उनको मुटु फेरि त्यही दिन फर्किनेछ। पानी परेको दिन उनको शरीर काँप्नेछ। खोलाको आवाज सुन्दा उनको निद्रा हराउनेछ। कुनै युवकले ‘आमा’ भनेर बोलाउँदा उनी एकछिन रोकिएर हेर्नेछिन्। अनि सम्झनेछिन् अब कहिल्यै नफर्कने आफ्नो छोरा। उनका परिवारका सदस्यहरू पनि फर्केर आउने छैनन्। उनको यो पीडा केवल उनको व्यक्तिगत पीडा होइन। त्यो हाम्रो सामूहिक चेतावनी हो। हामी कहिले जाग्ने - अर्को घर बगेपछि? अर्को छोरा मरेपछि? अर्की छोरी हराएपछि? अर्की आमा रित्तिएपछि? अर्को गाउँ उजाडिएपछि? अर्को विपत्तिले हाम्रो ढोका नठोकेसम्म हामी चुप बसिरहने ? प्रश्न एक्लिएकी आमाका मात्र होइनन्। प्रश्न हामी सबैका हुन्। अर्को बिहान ९ः३० बजेसम्म पर्खिने कि आजै केही सिक्ने ? हामीले आज पनि केही सिकेनौं भने भोलि फेरि कुनै आमाले आफ्नो घरको भग्नावशेषमा उभिएर यही प्रश्न सोध्नेछिन– ‘मैले के गल्ती गरेकी थिएँ?’ सायद उनको कुनै गल्ती हुनेछैन। गल्ती हाम्रो तयारी, उदासीनता, कमजोर प्रणाली, विपत्तिलाई भाग्य भनेर पन्छाउने हाम्रो संस्कारमा हुनेछ।

कुनै पनि विपत्तिलाई केवल भाग्य भनेर स्वीकार गर्नु पीडितमाथिको अर्को अन्याय हो। प्रकृतिको प्रहारलाई रोक्न नसकिएला तर मानवीय क्षति कम गर्न सकिन्छ। असन्तुष्टिको आवाज दबाउन सकिएला तर त्यसको कारण समाधान नगरी शान्ति आउँदैन। घर भत्किएपछि इँटा जोड्न सकिन्छ तर गुमेको मानिस फर्काउन सकिँदैन। त्यसैले अब हाम्रो प्राथमिकता स्पष्ट हुनुपर्छ– जीवन। कुनै आमाको काख फेरि रित्तिन नपरोस्। कुनै बुबाले आफ्नो सन्तानको शव बोकेर हिँड्न नपरोस्। कुनै युवाले परिवर्तनको सपना देखेकै कारण जीवन गुमाउन नपरोस्। कुनै परिवारले पानीको आवाज सुनेर रातभर ‘भोलि हाम्रो परिवार बाँच्छ कि बाँच्दैन?’ भनेर डराउन नपरोस्। बिहानको ९ः३० बजेको घडी चलिरहन्छ। देश पनि चलिरहन्छ तर आमाको घडी त्यहीं रोकिएको छ। अब प्रश्न यति मात्र हो– उनको घडी रोकिए पनि हाम्रो चेतना रोकिइरहने हो कि हामी समयमै जाग्ने हो?

– ज्ञवाली लेखक एवं सामाजिक तथा आर्थिक अभियन्ता हुन्।  

प्रकाशित: १७ आश्विन २०८३ ०६:०९ शनिबार