सुनकोशी वाङ्मय प्रतिष्ठानले साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन' को 'विदेशमा देश' नियात्रासंग्रहकाे लोकार्पण गरेकाे छ।
राजधानीमा आयोजित कार्यक्रममा घनश्याम राजकर्णिकार, प्राडा लक्ष्मणप्रसाद गौतम, प्रमोद प्रधान, छविरमण सिलवाल, केशव पराजुली,'रोदन' दम्पति लगायतले उक्त कृति लोकार्पण गरेका हुन्।
दर्जनभन्दा बेसी मौलिक कृति र डेढ दर्जन जति कृति सम्पादन गरिसकेका रोदनका प्राय नियात्रा आफूले पढेको बताउँदै घनश्याम राजकर्णिकारले भने, 'रोदन' का कृतिहरू तथ्यको सन्निकट भएको पाएको छु। उनका नियात्राहरू विवरणात्मक मात्र हुँदैनन्, निजात्मक पनि हुन्छन्। अझै उनको निरन्तर भाषा साहित्यको सेवा गर्ने कुरा अनुकरणीय छ।
कृतिमाथि चर्चा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले भने, श्रीओम नढाँटी लेख्ने इमान्दार लेखक हुन्। नियात्राहरू अरूको भन्दा पृथक् पनि लाग्छन्। देखेको कुरा जसले नि लेख्छ तर फरक ढङ्गले लेख्नुपर्छ, उनको लेखनीमा यही फरकपना छ। कृतिमा विदेशका विभिन्न सन्दर्भ र परिवेशआएको बताउँदै उनले अगाडि भने,
तथ्यहरू भएको नियात्रामा पाठकले विभिन्न विषयसँग स्वदेशलाई तुलना गर्न सक्छन्। विकसित देशका राम्रा पक्ष मात्र नभएर कमजोरी पनि केलाइएको छ। नियात्रामा सहयात्रीसँग वार्ता पनि गरिएको छ। सूक्ष्म विषयहरू पनि आएका छन्। काव्यात्मक चेत र दार्शनिक वाक्यहरू पनि प्रयोग भएका छन्।
प्राडा लक्ष्मणप्रसाद गौतमले रोदनमा भएको सिर्जनशील उर्वरताको प्रशंसा गरे। प्राडा गौतमले रोदनका रचनाहरू स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयमा पढाइ हुने गरेको पनि बताए। उनले साहित्यिक क्षेत्रमा देखिएको पुरस्कार लेनदेनको विषयलाई विकृतिको रूपमा औँल्याए।
रोदनकी धर्मपत्नी ललिता श्रेष्ठले १३ औँ कृति प्रकाशन भएकोमा खुशी बाँड्दै पुराना दिनहरू स्मरण गरिन्। उनले रोदनसँगका विभिन्न अनुभूति साझा गरिन्।
भुँडीपुराण प्रकाशनका केशव पराजुलीले अग्रज साहित्यकारको कृति प्रकाशन गर्न पाएकोमा खुशी व्यक्त गर्दै कृतिको निम्ति रोदनलाई बधाई दिएका थिए।
सुनकोशी वाङ्मय प्रतिष्ठानको अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजीकरण महासचिव प्रदीप सापकोटाले गरेका थिए। शुभद्रा अधिकारीले सहभागी प्रियजनलाई शब्दमार्फत स्वागत गरेकी थिइन्।
'रोदन' का नर्बिसने दिनहरू र समुन्द्रवारि, समुन्द्रपारि दुई नियात्राकृति सहित विभिन्न विधाका तेह्र कृति प्रकाशित छन्।
विदेशमा देशलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो।
प्रकाशित: १० आश्विन २०८३ १२:१८ शनिबार