भाषा फरक होला, तर निखिल उप्रेतीको ट्रेलर रिलिज कार्यक्रममा प्राप्त जवाफको आशय यही थियो।
पत्रकारले पटक–पटक सञ्चिता लुइँटेलको उपस्थिति खोजिरहेका थिए, निखिलको श्रीमतीको हैसियतले होइन, निर्माताको रूपमा। श्रीमती नै खोज्ने भए त उनकी एक पूर्वपत्नी पनि खोजिन्थ्यो होला नि! तर खोजी ‘आचार्य’ फिल्मको ट्रेलर रिलिज कार्यक्रममा निर्माताका रूपमा रहेकी सञ्चिताको थियो।
प्रश्न तुच्छ भएको भन्दै जवाफमा उनी घर सम्हालेर बसेको भनिदिए। निखिल भौँतारिएको एक दशकभन्दा बढी भयो र तीतो सत्य, घर सञ्चिताले नै सम्हालिरहेकी छन्। निखिलको ड्रीम प्रोजेक्टमा जग हाल्दै गर्दा पनि सञ्चिताले घर सम्हालेरै निर्माताको अब्बल भूमिका निभाएकी थिइन्। तर अब निखिल कामको प्रशंसा त टाढाको कुरा, सञ्चिताको नाम नै लिन नहुनेझैँ देखिएका छन्।
सञ्चिताको योगदानबारे ध्रुव कोइरालासहित उपस्थित दुई नायिकाले खुलेरै प्रशंसा गरे। तर निखिललाई उनको नाम मात्रैले यसरी चिढ्यायो कि पत्रकारिताकै लामो पाठ पढाउन भ्याए। तर निर्मातामा किन नाम छैन भन्नेचाहिँ भन्न सकेनन्। रटाएको सुगाझैँ थियो उनको जवाफ, जसका लागि लाग्थ्यो, उनी नसुतेरै त्यही प्रश्नको जवाफ तयारीमा थिए।
विज्ञता नभएर परिवार र सम्बन्धको प्रश्न घुसाएको भन्ने आरोप पत्रकारलाई लगाउने निखिलमा पत्रकारको अति सामान्य प्रश्न बुझ्ने क्षमता समेत नरहेको स्पष्ट भयो। होइन भने ‘निर्माता खोइ?’ को जवाफ ‘मेरी स्वास्नीलाई चुरा लगाइदिएर घरमै थन्क्याएको छु’ भन्ने जवाफ पक्कै हुँदैनथ्यो।
ट्रेलरभरि महिला, अझ स्पेसिफिक भएर भन्नुपर्दा युवती र आमाको पीडा बुझ्ने महिमा गाउने निखिलको रियालिटीमा सोच कस्तो रहेछ, स्पष्टै भयो। आधुनिक महिला दोहोरो कामको चपेटामा छन्। घर र बाहिरको काम सम्हालेर थाकेको बेला ‘तिमीलाई कस्तो छ?’ सम्म नसोध्ने पुरुष भनेको निखिल र निखिल पात्रहरू नै हुन्। होइन भने त्यही कलाजगतमा जगमगाएर घरकी श्रीमतीसमेत भुलेर भित्र्याएकी सञ्चिताको उपस्थितिले निखिललाई बुझाउँदैन थियो र?
अध्यात्मका कुरा निखिलको मुखबाट धेरै सुनियो। तर व्यवहारमा निचोपन, छुद्रता, जलन र ‘मपाईं’ प्रवृत्ति स्पष्ट देखियो।
त्यसैले यस्तो संकीर्ण सोच बोकेका मेकरले जस्तोसुकै फिल्म बनाए पनि दोहोरो चरित्रका कारण स्वीकार्न भने सचेत नागरिकलाई कठिन नै पर्छ।
प्रकाशित: ६ आश्विन २०८३ ०९:३६ मंगलबार