कला/साहित्य

तापसीले खुलाइन् फिल्मबाट आफूलाई निकालिनुको कारण

बलिउड अभिनेत्री तापसी पन्नूले फिल्म उद्योगमा आफूले भोगेका तीतो अनुभवबारे ठूलो खुलासा गरेकी छन्।

एक अन्तर्वार्तामा तापसीले एकपटक फिल्मको सुटिङ मिति समेत निश्चित भइसकेपछि पनि केवल फिल्मका हिरोकी श्रीमतीले आफूलाई मन नपराएका कारण फिल्मबाट निकालिएको बताएकी छन्।

तापसीका अनुसार उनले फिल्मबाट निकालिनुको कारण सोध्दा निर्माताहरूले उक्त कारण बताएका थिए। उनले कुनै अभिनेता वा फिल्मको नाम नलिई करियरको सुरुवाती दिनमा आफूले बिना कारण फिल्मबाट हटाइएर अर्को कलाकार राखिएको अनुभव सुनाएकी छन्।

तापसीले फिल्मबाट निकालिएको घटना सम्झिँदै भनिन्, 'मलाई भनियो कि फिल्मको हिरोले मलाई रिप्लेस गरेका छन्। भगवान्लाई मात्र कारण थाहा होला। म भने कारणहरू अनुमान गरिरहन्छु। सायद उनीभित्र असुरक्षाको भावना थियो वा उनी आफूभन्दा नजिकको व्यक्तिलाई फिल्ममा राख्न चाहन्थे।'

उनका अनुसार उनलाई कुनै ठोस कारण बताइएको थिएन। बारम्बार फिल्मबाट हटाइनुको कारण सोध्दा आफूलाई केवल 'हिरोले फिल्ममा तपाईंलाई चाहँदैन' भनिएको थियो।

तापसीले थप भनिन्, 'मलाई रिप्लेस गर्ने सबैभन्दा खराब कारण यो बताइएको थियो कि ‘हिरोकी श्रीमती तपाईंलाई मन पराउँदिनन्, आजसम्म पनि मलाई थाहा छैन, उनलाई म किन मन पर्दिनथेँ।'

प्रकाशित: १० आश्विन २०८३ ११:१९ शनिबार