कला/साहित्य

दाङको ऐना–दाङ देउखुरीको स्वर्णिम इतिहास

दाङ इतिहासदेखि नै हरेक हिसाबले चर्चामा रहेको जिल्ला हो। राजनीतिक र सामाजिक चेतनाले अग्र स्थानमा रहेको यो जिल्लाले इतिहासका हरेक कालखण्डमा देश परिवर्तन लागि ठुलो योगदान दिएको छ। हावापानी, वातावरण जस्तै यहाँको इतिहास पनि स्वर्णिम र दर्बिलो छ। विशाल उपत्यका भित्रको दाङ आफैमा फरक इतिहास बोकेको जिल्ला हो। 

राजधानी काठमाडौंदेखि सडक मार्गबाट करिब चार सय किलोमिटर पश्चिम–दक्षिणमा रहेको दाङ हवाई दुरीमा भने २८० किलोमिटर छ। दुई हजार ९५५ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो जिल्लाको रोल्पा, सल्यान, प्युठान, अर्घाखाँची, कपिलवस्तु, बाँके र भारतको उत्तर प्रदेशसँग सिमाना जोडिएको छ। दुई उपमहानगरपालिका, एक नगरपालिका, सात गाउँपालिकासहित १० स्थानीय तह रहेको दाङमा तीन संघीय र छ प्रदेश निर्वाचन क्षेत्र रहेका छन्।

तीन दशकदेखि पत्रकारितामा सक्रिय डा. सुदीप गौतमले भर्खरै दाङको राजनीतिक इतिहास समेटेर पुस्तक प्रकाशन गरेका छन्। ४३८ पृष्ठको ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ नामक पुस्तकमा गौतमले राजनीतिक हिसाबले देशका लागि सधैँ लडेको दाङलाई न्याय हुने गरी खुराक पस्केका छन्। 

ऐतिहासिक पृष्ठभूमि, नेपालको एकीकरण कालीन अवस्था, जनक्रान्तिकालीन अवस्था, २००७ सालदेखि २०१५ सालसम्मको अवस्था, २०१५ देखि २०१७ सालसम्मका घटनाक्रम सिलसिलेवार रूपले पुस्तकमा भेट्न सकिन्छ। यसै गरी पञ्चायतकालीन निर्वाचनहरूमा सहभागिता, २०४८ सालको संसद्देखि २०६२ सालको निर्वाचनसम्म र लोकतान्त्रिक आन्दोलन तथा त्यसपछिका निर्वाचनसम्मका विषय गौतमले पुस्तकमा समेटेका छन्। 

ऐतिहासिक पृष्ठभूमि हुँदै पृथ्वीनारायण शाहको सेनाले दाङ जितपछिको अवस्था बारेको चर्चा पुस्तकको प्रारम्भमा छ । २००७ सालको क्रान्ति र त्यसमा दाङको योगदान पनि पुस्तकमा भेटिन्छ। २००७ देखि २०१५ सालबिचको अवस्था,  पहिलो आम निर्वाचन, किसान आन्दोलनका इतिहास र २०१७ सालपछिको विद्रोहबारे गौतमले खुलस्त व्याख्या गरेका छन्। यस्तै त्यसमा नेपाली कांग्रेसको भूमिका, २०४६ सालको जनआन्दोलनसम्मका गतिविधि सूक्ष्म रूपमा केलाएका छन्।

राजा महेन्द्रले २०१७ सालमा सत्ता हातमा लिएपछि नेताहरू निर्वासित भएको, २०१८ सालको मुक्ति दिवसमा भएको सशस्त्र आन्दोलन, पञ्चायत विरोधी आन्दोलनहरूमा दाङको योगदानबारेको चर्चा पुस्तकमा भेटिन्छ। 

२०४६ सालको आन्दोलनपछिको दाङ, १० वर्षे माओवादी द्वन्द्व र त्यसले यो क्षेत्रमा पारेको प्रभाव, राजाको प्रत्यक्ष शासनसँगै २०५८ सालमा माओवादीले दाङ ब्यारेक आक्रमण गरी आधुनिक हतियार कब्जा, माओवादी र दलहरू बिचको सहमतिको वातावरण बारेमा पुस्तकले व्यापक चर्चा गरेको छ। यसै गरी २०६२÷०६३ को आन्दोलन र संक्रमणकालीन न्यायबारे पनि गौतमले लेख्न छुटाएका छैनन्। 

गौतमको अनुसन्धानमूलक उक्त पुस्तकमा ९ खण्ड रहेका छन्। कानुनमा स्नातक गरेका डा. गौतमले राजनीति शास्त्रमा स्नातकोत्तर र राजनीतिक इतिहासमा विद्यावारिधि गरेका छन्। अध्यापन, पत्रकारिता र इतिहास खोजीमा निरन्तर लागेका गौतमले माओवादी द्वन्द्वताका पत्रकारितासँगै नागरिक समाजका हैसियतमा पनि आफ्नो भूमिका निभाएका थिए।

पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेल लेखक डा.गौतमको पुस्तकबारे खुलेर प्रशंसा गर्छन्। ‘दाङ बुझ्न चाहनेका लागि गतिलो खुराकका रूपमा यो पुस्तक आएको छ। अहिलेसम्म रेमा कुरा हुन्थ्यो,’ उनी भन्छन्, ‘यहाँको अवस्था तथ्यमा थिएन। अहिले तथ्यसहित आएको छ।’ इतिहासका विद्यार्थीका लागि मात्र नभएर दाङ बुझ्न चाहने सबैका लागि यो पुस्तक अत्यन्त उपयोगी हुने उनले बताए।

संस्कृतिविद् प्राडा. शिवकुमार सुवेदी लेखक गौतम दाङको इतिहास लेखनमा ठुलो मिहिनेत गरिरहेको बताउँछन्। ‘राजनीतिक इतिहासको खण्ड यो भयो। उहाँले नै तयार गरेको प्रशासन र कानुन खण्डको अर्को पुस्तक पनि आउँदै छ,’ उनले भने, ‘त्यो पनि आयो भने पूर्ण हुन्छ भन्ने लाग्छ।’ 

उनका अनुसार ‘दाङ देउखुरीको न्यायिक तथा प्रशासनिक इतिहास’ नामक अर्को पुस्तक पनि गौतमले बजारमा ल्याउने तयारी गरेका छन्। 

प्रकाशित: ११ कार्तिक २०८२ १६:१३ मंगलबार