कला/साहित्य

चौथो कोसी प्रदेशस्तरीय कविता प्रतियोगितामा उछिने कवि रिमालले

 चौथो कोसी प्रदेशस्तरीय कविता प्रतियोगिता २०८२ को उपाधि केशव रिमालले हात पारेका छन्। ११७ औं लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसर पारेर पूर्वेली साहित्यिक मञ्च, बराह-६, चक्रघट्टी, सुनसरीले आयोजना गरेको प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै सुनसरीका रिमालले उक्त उपाधि हात पारेका हुन्।

प्रतियोगितामा सुनसरीकी सगुन पोखरेल दोस्रो, भोजपुरकी दीपा लुइटेल तेस्रो र सुनसरीकी पुष्पा बोगटीले चौथो स्थान प्राप्त गरेका थिए। त्यस्तै सुनसरीकी मिलनकुमारी नायकलाई प्रतियोगितामा प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितामा प्रथम हुनेले १२ हजार नगदसहित प्रमाणपत्र, द्वितीयले ७ हजार नगदसहित प्रमाणपत्र, तृतीयले ४ हजार नगदसहित प्रमाणपत्र र सान्त्वनाले २ हजार नगदसहित प्रमाण पत्र प्राप्त गरेका थिए।

प्रतियोगितामा प्रदेशभरिबाट प्राप्त भएकाे ८४ रचना मध्ये बाट उत्कृष्ट २० छुट्याइएको आयोजक संस्थाका अध्यक्ष सन्तोष चम्लागाईंले बताए। वरिष्ठ कवि मनु मञ्जील प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, सिर्जनामा इनरुवाका सचिव रमेन्द्र कोइराला, नेपाल प्रज्ञाप्रतिष्ठान काव्य विभागका सदस्य रामप्रसाद खरेल, स्रष्टाहरू रोशन परियार र टङ्कु भट्टराई लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अनुसन्धाता केशु विरहीले लक्ष्मीप्रसाद देवकोटाका विषयमा चर्चा गरेका थिए। उनलेजीवनी र व्यक्तित्वका विभिन्न पाटाबारे अध्ययन गर्दै देवकोटा जस्ता व्यक्तिका कारण नेपाली भाषा र साहित्यको उचाइ माथि पुगेको बताए।

पूर्वेली साहित्यिक मञ्चका अध्यक्ष सन्तोष चम्लागाईंको सभाध्यक्षता र युवराज भट्टराईकाे सञ्चालनमा भएकाे कार्यक्रममा कोसी प्रदेशका विभिन्न जिल्लाका स्रष्टा/ कलाकारहरूको उपस्थिति रहेको थियाे।

उक्त कार्यक्रममा नवराज पोखरेल ‘नवशिला’, प्रिन्स प्रमोदकुमार ढकाल, रमेन्द्र कोइराला, अच्युत भट्टराई, हिक्मत खड्का, दुर्गा बस्नेत, साजन कोइराला लगायतले अप्रतियोगी रचना वाचेका थिए।

कवि भरत बर्बरिक, कवि तथा समीक्षक टीका आत्रेय र अनुसन्धाता रमेश काफ्ले प्रतियोगितामा निर्णायककाे भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा पत्रकारिताको माध्यमबाट साहित्यमा योगदान पुर्‍याएकाेमा सङ्गम विष्ट र अर्जुन श्रेष्ठ र उक्त संस्थाको विकासमा उल्लेखीय योगदान पुर्‍याएकाेमा गजलकार रोमु अधिकारीलाई सम्मान गरिएको थियो।

प्रकाशित: ५ कार्तिक २०८२ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App