कला/साहित्य

बन्ने भयो चलचित्र ‘बम बिहारी’

 नयाँ नेपाली चलचित्र ‘बम बिहारी’ को शुभ मुर्हत गरिएको छ। भक्तपुरको हनुमान मन्दिरमा पुजा गर्दै चलचित्रको मुर्हुत गरिएको हो। साथै चलचित्रको छायांकन पनि सुरु गरिएको छ।

डिएमएस मल्लले चलचित्रकाे निर्देशन गर्दै छन्। उनको यो डेब्यु निर्देशकीय चलचित्र हुनेछ। उनले योभन्दा अघि ५० जति म्युजिक भिडियोको निर्देशन गरेका छन्।

चलचित्रको छायांकन तालिका एक महिना राखिएको निर्देशक मल्लले जानकारी दिएका छन्। उनका अनुसार छायांकन काठमाडौंसँगै नेपालगन्जमा पनि हुनेछ। सुरुमा काठमाडौंमा एक साताको छायांकन चलचित्र युनिट नेपालगन्ज लाग्नेछ।

नेपाली भूमिको आमा र भारतीय भूमिको बुबाको एक छोराको कथा ‘बम बिहारी’ मा छ। ‘बम बिहारी’ एक पात्रको नाम हो। उनकै वरिपरि चलचित्रको कथा घुम्नेछ।

निर्देशक मल्लले भने, ‘पछिल्लो समय चलचित्रमा नयाँ कलाकार भए पनि कथा र मेकिङ राम्रो छ भने दर्शक हलसम्म गएको उदाहरण धेरै छन्। त्यसैले मलाई विश्वास छ चलचित्र राम्रो हुनेछ र दर्शकलाई मन पर्नेछ।’

चलचित्रमा कथा र लगानी पनि निर्देशक डिएमएस मल्लकै रहनेछ।

चलचित्रमा सुरबिर पण्डित, सुमन ज्योति न्यौपाने (ल्यांग्री दादा), ध्रुव बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुस्कर राउत र सम्राट क्षेत्रीको अभिनय रहनेछ।

पछिल्लो समय थुप्रै म्युजिक भिडियोमा व्यस्त कलाकार सुमन ज्योति न्यौपानेले चलचित्रमा आफू नकारात्मक भूमिकामा देखिन लागेको स्पष्ट पारे।

उनले भनेका छन्, ‘म यो फिल्मको बम बिहारी हुँ अर्थात् टाइटल नै मेरो नाम हो। दर्शकले अहिलेसम्म सबैतिर नेगेटिभ भूमिकामै मन पराइदिनुभएको छ। यसमा पनि आशा राखेको छु।’

यस्तै अर्की मुख्य कलाकार झरना रिसालले सात वर्षपछि आफूले चलचित्रमा फेरि काम गर्न लागेको बताइन्।

उनले यसअघि ‘भूमि द ग्रेट लेडी’, ‘परिणाम’ र ‘कसलाई आफ्नो भन्नु’ चलचित्रमा काम गरिसकेकी छन्। झरनाको यो चौथो चलचित्र रहनेछ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहने चलचित्रमा सरोज बुढाथोकीको मेकअप रहनेछ। सुमन काफ्ले प्रोडक्सन म्यानेजर रहेको ‘बम बिहारी’ रामेश्वर हुमागाईंको टिमले खिच्दैछ भने गौतमराज खड्काले सम्पादन गर्दै छन्।

मुख्य सहायक निर्देशक विनयराज पौडेल हुन् भने सहायक निर्देशक पुरुषोत्तम पण्डित हुन्। चलचित्रमा अनुपम चौधरीको गीत रहनेछ। चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन।

प्रकाशित: १७ पुस २०८२ १०:१४ बिहीबार