विश्वचर्चित नेटफ्लिक्स सिरिज स्ट्रेन्जर थिंग्सको अन्तिम शृङ्खला प्रसारण भएसँगै यसको अन्त्यलाई लिएर फ्यानहरुले आ-आफ्नै थ्योरी बनाएका छन्।
यिनै प्रसंगहरुमा कुराकानी गर्दै यसका सर्जक डफर ब्रदर्स (म्याट र रस डफर) ले अन्त्यको रहस्य र पात्रहरूको भविष्यबारे विस्तृतमा बताएका छन्। नेटफ्लिक्सको आधिकारिक वेब ‘टुडुम’ मा अन्तर्वार्ताका क्रममा उनीहरुले यसबारे खुलेर कुराकानी गरेका हुन्।
नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको फिनाले एपिसोड ‘द राइटसाइड अप’ मा हकिन्सका बालबालिकाहरूले आफ्नो बाल्यकाललाई बिदा गर्दै वयस्क उमेरमा प्रवेश गरेको देखाइएको छ।
सिरिजको अन्त्यमा म्याक्स, लुकास, डस्टिन, विल र माइकले अन्तिम पटक ‘डन्जन्स एण्ड ड्रागन्स’ खेल खेलेर ह्विलरको बेसमेन्टबाट बाहिर निस्कन्छन् र अन्त्यमा माइकले बेसमेन्टको ढोका बन्द गर्छन्।
म्याट डफरका अनुसार यस दृश्यले पात्रहरूले आफ्नो बाल्यकाललाई पछाडि छोडेको र नयाँ सुरुवातका लागि अघि बढेको सङ्केत गर्छ।
नयाँ पुस्ताले खेल सुरु गर्दा माइकले अब जिम्मेवारी हस्तान्तरण गर्ने समय आएको बुझ्ने र ढोका बन्द गर्नु भनेको उनीहरूको कथा सकिनु भएको डफरले बताएका छन्।
पहिलो सिजनमा पनि डि एण्ड डि खेलबाटै सिरिज सुरु भएको थियो। अन्त्य पनि त्यहीँबाट गरेर कथालाई पूर्णता दिइएको छ।
फिनालेको अर्को मुख्य पाटोको रूपमा इलेभेन (मिली बबी ब्राउन) साथीहरूसँग नबसी टाढा गएको देखाइएको छ। यो रियालिटि हो या माइकको थ्योरी मात्रै ? यसबारे भने सिरिज माैन छ।
यसबारे स्पष्ट पार्दै रस डफरले इलेभेन जादु र बाल्यकालको प्रतीक भएको र पात्रहरू अघि बढ्न तथा हकिन्सको कथा टुंग्याउन उनी जानु आवश्यक रहेको बताए।
उनको अन्त्यलाई अस्पष्ट राखिएको भए पनि माइकले उनी कतै गाउँमा शान्तसँग बसेको कथा सुनाउँछन्। जसलाई डफर ब्रदर्सले एक आशाका रुपमा ब्याख्या गरेका छन्।
यसले दर्शकलाई इलेभेन सुरक्षित छिन् भन्ने विश्वास दिलाउने उनीहरूको भनाइ छ। साथै, हपर र इलेभेनको संवादमार्फत छोरीलाई आत्मनिर्भर बन्न दिनुपर्ने र बाबुले अत्यधिक सुरक्षाको घेराबाट मुक्त गर्नुपर्ने सन्देश पनि फिनालेमा दिइएको छ।
अन्तिम एपिसोडमा पात्रहरूको भविष्यलाई पनि प्रस्ट पारिएको छ। माइक भविष्यमा लेखक बनेका छन् भने डस्टिन कलेज गए पनि स्टिभसँगको उनको मित्रता कायमै रहेको देखाइएको छ।
विल स्वीकार्यताको खोजीमा ठुलो सहरतिर लागेका छन् भने हपर र जोइसले इन्गेजमेन्ट गरेर मोन्टाक सर्ने योजना बनाएका छन्।
मोन्टाक सिरिजको सुरुवाती कन्सेप्ट लोकेसन भएकोले यो फ्यानहरूका लागि विशेष सरप्राइज थियो। यसैगरी, स्टिभ हकिन्समे बसेर लिटल–लिग कोच बनेका छन्।
न्यान्सी कलेज छोडेर बोस्टनको पत्रिकामा काम गर्न थालेकी छिन् भने जोनाथन एनवाइयुमा फिल्ममेकर बनेका छन्। म्याक्स र लुकासको जोडी पनि अन्ततः एक भएको देखाइएको छ।
अन्तिम लडाइँका क्रममा टावरबाट खस्नै लाग्दा स्टिभलाई जोनाथनले बचाएको दृश्यलाई लिएर पनि सर्जकहरूले प्रस्टीकरण दिएका छन्।
फ्यानहरूले स्टिभ मर्ने अनुमान गरे पनि डफर ब्रदर्सले स्टिभ र जोनाथनबिचको तनाव अन्त्य गर्न र उनीहरूलाई एक ठाउँमा ल्याउन यो दृश्य राखिएको बताए।
यसका साथै, सिरिजका मुख्य खलपात्र भेकना (हेनरी) माइन्ड फ्लेयरको नियन्त्रणमा रहेको वा आफ्नै इच्छाले काम गरेको भन्ने विषयलाई दर्शकको बुझाइमा छोडिएको छ।
हेनरीले आफूले गरेका कामहरूको औचित्य पुष्टि गर्न ‘यो मेरै छनोट हो’ भन्ने बाटो रोजेको देखिन्छ। अन्त्यमा डेभिड बोवीको चर्चित गीत हिरोज बजाएर सिरिजलाई भावुक र सुखद अन्त्य दिइएको छ भने डस्टिनले भ्यालेडिक्टोरियन भाषणमार्फत आउटसाइडरहरू एकजुट भएर खराब शक्तिलाई परास्त गर्न सक्छन् भन्ने सन्देश दिएका छन्।
प्रकाशित: २० पुस २०८२ २०:२० आइतबार