१) हिँड्ने रहर
हिँडिरहुँ
डुलिरहुँ
निरन्तर सिर्जनाले
पालुवा भरिरहुँ
अनुभवी तारहरू गाँसिरहुँ
पाइला तिमीसँग चलिरहुन्
उसै गरी हातेमालो गरिरहुँ
बेथितिका पहाड उधिनेर
उर्जाशील मैदान खनिरहुँ
जुट्दै जुट्दै पाखुराहरू
संवेदनशील सुसेलीहरू
गाउँदै गाउँदै भञ्ज्याङ चढिरहुँ
निरन्तर उस्तै हिजाेजस्तै
राेग र भाेक मेटाउने
विश्वासले सामल बाेकेर
काँडा टेक्दै टेक्दै
अधर उघारेर कर्मयाेगी
पाेयाहरूमा देखिने गरी
जीवन जाेड्दै जाेड्दै
हिँडिरहुँ निरन्तर
डुलिरहुँ अविच्छिन्न साहस
बटुलेका गतिशील पाइलाहरू
उठाइरहुँ, उठाइरहुँ
ऊ त्याे
उज्यालो पाेख्ने देउरालीसम्म
उस्तै हिजोजस्तै आज पनि!
२) खुसी
ए पानी !
लुगा फेर्नु छ मैले
आऊ न नुहाइदिन
ए पसिना !
बढाउनु छ उत्पादन
नुहाइदेऊ न मलाई
ए जीवन !
बाँच्नु छ मैले
देऊ न मलाई
हलाे काेदालाे र हँसिया
ए अत्तर !
बन्नु छ मैले
विलास-विजेता
घस्रन जिउभरि
ए स्वार्थ !
डकार्नु छ मैले
खान देऊ न खाेसी छिनी
ए काम !
आँखा जुधाउनु छ मैले
देऊ न हातगाेडामा जाँगर
ए खुसी !
मुस्कुराउनु छ मैले
खाेलिदेऊ न अधरहरू !
प्रकाशित: २९ कार्तिक २०८३ ०९:३९ आइतबार



