आज देश गहिरो पीडाको यात्रामा छ। विशेषतः युवाको छटपटीले राष्ट्रको आत्मा नै व्याकुल बनेको छ। कतै आमाको कोख रित्तिएको छ, कतै चेलीहरूको सिन्दूर पुछिएको छ, कतै बुबाआमाका आँखामा प्रतीक्षाको धुवाँ मात्र बाँकी छ। आज लाखौं नेपाली परिवारको साझा कथा एउटै वाक्यमा सीमित भएको छ– ‘आमा, म दुई वर्षमै फर्किन्छु। केही पैसा कमाएर नेपालमै व्यवसाय गर्छु।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आमाको अँगालो कस्दै उच्चारण गरिने यो वाक्य अब केवल बिदाइको संवाद होइन, एउटा राष्ट्रको पीडाको दस्ताबेज बनेको छ।
ती दुई वर्ष धेरैका लागि दश वर्षमा बदलिन्छन्, कतिपयका लागि त कहिल्यै नफर्किने यात्रामा। गाउँमा आमा र बाबु अझै पनि मूलढोकातिर आँखा लगाएर बसिरहेका हुन्छन्। घरको ढोका खुलै हुन्छ तर फर्किने पाइला आउँदैन। फर्किन्छ त केवल रेमिट्यान्स, फर्किंदैन परिवारको हाँसो, गाउँको चहलपहल, आमाको आशा, चेलीको सिन्दूर र देशको युवा ऊर्जा। यही सन्दर्भमा अर्को एउटा कथा जोड्न चाहन्छु– आजको नेपालको यथार्थ बोल्ने एउटा कथा।
इन्जिनियरिङमा स्नातक गरेका २६ वर्षीय युवा आकाश (नाम परिवर्तन) को सपना आफ्नै गाउँमा केही गर्ने थियो। उनले व्यावसायिक योजना बनाए, साथीहरूसँग अनुनय गरे, बैंकका ढोका ढकढक्याए, सरकारी कार्यालय धाए तर जहाँ पुगे पनि एउटै प्रश्न सोधियो– धितो कहाँ छ? उनको सिप, शिक्षा, योजना र सपनाको मूल्यांकन भएन। मूल्यांकन भयो त केवल सम्पत्तिको। ६ महिनासम्म निरन्तर प्रयास गर्दा पनि न ऋण पाइयो, न आवश्यक सहयोग। अन्ततः एक साँझ उनले शिर झुकाउँदै आमालाई भने– ‘आमा, म हार्न चाहन्नँ तर मेरो देशले मलाई जित्ने अवसर पनि दिएन। अब विदेश जानुबाहेक अर्को विकल्प देख्दिनँ।’
केही हप्तापछि आकाश पनि हजारौं युवाजस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे। आज उनी विदेशको एउटा प्रतिष्ठित कम्पनीमा काम गरिरहेका छन्। त्यही सिप, ज्ञान, मेहनत, जुन नेपाललाई समृद्ध बनाउन सक्थ्यो, आज अर्को देशको अर्थतन्त्र बलियो बनाउन प्रयोग भइरहेको छ।
यहाँ प्रश्न आकाश किन विदेश गयो ? भन्ने होइन। प्रश्न हो– आकाशले आफ्नै देशमा अवसर पाएको भए उसले कतिलाई रोजगारी दिन्थ्यो ? कति कर तिर्थे ? नेपालको अर्थतन्त्रलाई कति माथि उठाउन सक्थ्यो?
आकाशको कथा एउटा व्यक्तिको कथा होइन। यो हजारौं शिक्षित युवाको साझा कथा हो। फरक केवल नाममा छ, पीडा एउटै छ। शिक्षित होस् वा अशिक्षित, आज हरेक घरमा आशा र निराशाको द्वन्द्व चलिरहेको छ।
नेपालको सबैभन्दा ठुलो पीडा गरिबी मात्र होइन। हाम्रो सबैभन्दा ठुलो पीडा त बिस्तारै हराउँदै गएको सपना हो, मर्दै गएको आशा हो।
आज गाउँका खेत बाँझिएका छन्। मेलापात गर्ने हातहरू हराएका छन्। साना बजारहरू सुनसान बन्दै गएका छन्। जहाँ उद्योगका चिम्नीहरू धुवाँ उडाउँथे, त्यहाँ आज झार उम्रिएको छ। ‘देशमै बसेर केही गर्छु’ भन्ने अठोट बोकेका गणेश नेपालीजस्ता युवाले आत्मदाह गर्नुपरेको छ। यो केवल एउटा व्यक्तिको मृत्यु होइन, राष्ट्रको सम्भावनाको दाहसंस्कार हो।
‘जसको शक्ति, उसकै भक्ति’ भन्ने विकृत संस्कृतिले भ्रष्टाचारलाई संस्थागत बनाइरहेको छ। गरिबले न्याय पाउन सकेका छैनन्। आर्थिक अभावका कारण प्रतिभाशाली विद्यार्थी उच्च शिक्षा पूरा गर्न सकिरहेका छैनन्। उत्पादनको अथाह सम्भावना भएको देश आयातमा निर्भर बन्दै गएको छ। यो केवल आर्थिक समस्या होइन, यो सामाजिक, नैतिक र राष्ट्रिय अस्तित्वसँग जोडिएको संकट हो।
विरोधाभास हेरौं– हामीसँग अनन्त नदी छन् तर विद्युत्, सिँचाइ, स्वच्छ जलको पर्याप्तता छैन। उर्वर भूमि छ तर फलफूल र तरकारी विदेशबाट ल्याउनुपर्छ। हिमाल, संस्कृति र अनुपम प्राकृतिक सौन्दर्य छन् तर पर्यटनको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न सकेका छैनौं। हरेक वर्ष हजारौं इन्जिनियर, डाक्टर, सूचना–प्रविधि विज्ञ र व्यवस्थापनका स्नातक उत्पादन गर्छौं तर उनीहरूको ज्ञान र सिप विदेशी अर्थतन्त्र निर्माणमा खर्च भइरहेको छ।
त्यसैले फेरि पनि प्रश्न उही हो– युवा किन विदेश गए ? भन्ने होइन, नेपालले आफ्ना युवालाई किन रोक्न सकेन ? भन्ने हो। धेरै युवा व्यवसाय गर्न चाहन्छन् तर उनीहरूले सहुलियतपूर्ण पुँजी पाउँदैनन्। बैंकले धितो खोज्छ, राज्यले प्रक्रिया लम्ब्याउँछ, नीति पटक–पटक बदलिन्छ, बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन्छ अनि अन्ततः सपनाले भरिएको युवा निराश बन्छ। यस्तो अवस्थामा विदेश जानु धेरैका लागि रहर होइन, बाध्यता बन्छ।
यही अँध्यारोबिच केही उज्याला उदाहरणहरू पनि छन्। नेपालमै बसेर प्रविधि, कृषि, पर्यटन, सूचना–प्रविधि, उद्यमशीलता र नवप्रवर्तनका क्षेत्रमा आफ्नै मेहनतले सफल व्यवसाय स्थापना गर्ने युवाहरू पनि छन्। उनीहरूले प्रमाणित गरेका छन्– सही वातावरण, उचित मार्गदर्शन र अवसर पाए नेपाली युवा विश्वसँग प्रतिस्पर्धा मात्र होइन, नेतृत्वसमेत गर्न सक्छन्। यसले स्पष्ट देखाउँछ– समस्या प्रतिभाको होइन, प्रणालीको हो।
हामीले शिक्षालाई डिग्रीसम्म सीमित गरिदियौं। अब शिक्षालाई सिर्जना, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्नैपर्छ। विश्वविद्यालयबाट केवल प्रमाणपत्र होइन, समाधान जन्मिनुपर्छ, केवल स्नातक होइन, स्टार्टअप र नयाँ उद्योग जन्मिनुपर्छ। विद्यार्थीलाई ‘जागिर कसरी खोज्ने ?’ भन्दा पहिले ‘अवसर कसरी सिर्जना गर्ने?’ भन्ने सोच सिकाउनुपर्छ।
सरकारले पनि आफ्नो भूमिका पुनः परिभाषित गर्नुपर्छ। युवाका लागि सहुलियतपूर्ण स्टार्टअप ऋण, सरल दर्ता प्रक्रिया, प्रारम्भिक कर सहुलियत, अनुसन्धानमा लगानी, बजार पहुँच र निर्यात प्रवर्धनको स्पष्ट नीति अपरिहार्य छ। निजी क्षेत्र, विश्वविद्यालय, बैंक र सरकारबिच बलियो सहकार्यको संरचना निर्माण नगरी समृद्ध अर्थतन्त्रको सपना पूरा हुन सक्दैन।
समाजले पनि उद्यमशीलतालाई सम्मान गर्न सिक्नुपर्छ। भविष्यको अर्थतन्त्र रोजगारी खोज्नेहरूले होइन, रोजगारी सिर्जना गर्नेहरूले नेतृत्व गर्नेछन्। इतिहासले हरेक पुस्तालाई एउटै प्रश्न सोध्छ– तिमीहरूले आफ्नो देशलाई के दिएर गयौ ? यस प्रश्नको उत्तर रेमिट्यान्स, उपभोग र पलायन हुन सक्दैन। हाम्रो उत्तर उत्पादन, नवप्रवर्तन, अनुसन्धान, उद्यमशीलता र आत्मनिर्भर अर्थतन्त्र हुनुपर्छ।
नेपाललाई परिवर्तन गर्ने शक्ति कुनै एक नेता, एक सरकार वा एक संस्थासँग मात्र छैन। त्यो शक्ति हरेक शिक्षक, किसान, उद्यमी, विद्यार्थी, नीतिनिर्माता र सचेत नागरिकको सामूहिक संकल्पमा निहित छ। आज आवश्यकता निराशाको कथा दोहोर्याउने होइन, पीडालाई परिवर्तनको ऊर्जामा रूपान्तरण गर्ने हो। युवा जोगाऔं, उत्पादन बढाऔं, उद्यमलाई सम्मान गरौं, शिक्षालाई सिर्जनासँग जोडौं, महिलाको आर्थिक सहभागिता विस्तार गरौं, नवप्रवर्तनलाई राष्ट्रिय अभियान बनाऔं। नत्र हजारौं आकाशहरू विदेशी आकाशमुनि हराइरहनेछन् र हजारौं गणेशहरू आफ्नै सपनाको चितामा जलिरहनेछन्।
देश केवल भूगोलले बन्दैन, देश त आफ्ना युवाको विश्वासले बन्छ। जब युवाको सपना आफ्नै मातृभूमिमा फुल्न छोड्छ, तब राष्ट्रको भविष्य पनि ओइलाउन थाल्छ। त्यसैले अब प्रश्न परिवर्तनको होइन, संकल्पको हो किनकि इतिहासले अवसर बारम्बार दिँदैन तर गुमाएको अवसरको मूल्य पुस्तौंसम्म चुकाउनुपर्छ।
अब अर्की कुनै आमाले विमानस्थलमा छोराको बिदाइलाई अन्तिम भेट सम्झिनु नपरोस्। अर्को कुनै युवाले आफ्नो सपना बचाउन देश छोड्न नपरोस् र अर्को कुनै गणेशले आफ्नो पीडालाई आगोमा परिणत गर्न नपरोस्। यही कामना, संकल्प र भविष्यप्रतिको हाम्रो उत्तरदायित्व हो।
प्रकाशित: ९ श्रावण २०८३ ०६:१२ शनिबार