कला/साहित्य

देश आज रुँदैछ!

गजल

१) गजल

देश आज रुँदैछ, परदेशीको पीडामा छ,

आफ्नै सन्तान हराएको यो गहिरो पीडामा छ।।

कुर्सीको खेल खेल्दै छन् नेताहरू सत्तामै,

जनताको हरेक सपना आज अवहेलनामा छ।।

युवा सबै विदेशिँदा रित्तिए गाउँघर पनि,

बाआमाको दिनरात आँसुको धारामा छ।।

भ्रष्टाचार मौलायो हरेक सास र पाइतालामा,

सत्य अनि न्यायसमेत आज किनारामा छ।।

श्रमको मूल्य हरायो, पसिनाले मान पाएन,

गरिबको भाग्य सधैँ दुःखको भेलामा छ।।

२) गजल

सडक र संसदमा उस्तै छ लफडाको हाल,

नेताहरूको पाराले देश नै भएको कंगाल।।

दिनहुँ युवाहरू विदेशिन्छन् रगत–पसिना बगाई,

जनताको पीडामाथि निदाउँछन् कुर्सीका दलाल।।

भ्रष्टाचारको भेलले बगायो आशाको हरियो खेत,

न्याय खोज्ने आवाजमाथि कसिन्छ झन् जञ्जाल।।

जनताको मत लिएर आफ्नै स्वार्थमा रमाउँछन्,

सत्ताको खेल खेल्दै बेचिन्छ राष्ट्रको भविष्यकाल।।

'विप्लवी' को कलम अझै सत्यकै पक्षमा बोलिरहन्छ,

झुक्दैन कुनै शक्तिसामु, यही हो उसको कमाल।।

- विप्लवी तेन्जु योन्जन

प्रकाशित: २ श्रावण २०८३ १३:४३ शनिबार