कला/साहित्य

‘झरीपछिको इन्द्रेणी’ को शुभमुहूर्त

चर्चित टेलिभिजन सिरियल भद्रगोल निर्माण तथा निर्देशन गरेर चर्चामा आएका अर्जुन घिमिरे (पाँडे) निर्देशक बनेका छन्। उनले बिहीबार साउन १५ अर्थात् खीर खाने दिनको अवसर पारेर ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा डेव्यु निर्देशकीय सिनेमा ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त गरेका हुन्।

गत वर्षसम्म उनी चर्चित टेलिभिजन सिरियल सक्किगोनि निर्माण तथा निर्देशन गरिरहेका थिए। गत वर्षको फागुन १३ मा उनको टिम जेपिटी क्रियसनले निर्माण ‘लाज शरणम्’ प्रदर्शनमा आएको थियो। यो सिनेमामा अर्जुन घिमिरे (पाँडे) ले मुख्य भूमिकामा अभिनय समेत गरेका थिए। उक्त सिनेमा बक्स अफिसमा हिट भएपछि उनी आफैं निर्देशनमा अग्रसर भएका हुन्।

‘झरीपछिको इन्द्रेणी’मा सक्किगोनि टिमबाट प्रियाना आचार्य (मुन्नी) लाई मात्र समावेश गरेका छन्। अन्य कलाकार पनि कथाले मागे भित्रिन सक्ने सिनेमाको मुहूर्तपछि निर्देशक पाँडेले बताए। यो सिनेमाबाट करिब ९ वर्षपछि कलाकार गणेश उप्रेतीले नेपाली रजतपटमा कमव्याक गर्दै छन्। एउटा राम्रो टिमबाट कमव्याक गर्न पाउँदा आफू निकै उत्साही रहेको कलाकार उप्रेती बताउँछन्।

यो सिनेमामा गणेश र प्रियानासहित निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय रहने छ। सिनेमामा अर्जुन घिमिरे (पाँडे) को अभिनय रहने  नरहने खुलाइएको छैन। शुभमुहूर्तसँगै आजैबाट छायांकन सुरु गरिएको सिनेमा काठमाडौं, ललितपुर र भक्तपुरमा खिचिनेछ।

पारिवारिक कथावस्तुमा निर्माण हुने सिनेमाको छायांकन सेड्युल ४५ दिनको रखिएको छ। सिनेमामा कुमार व्यञ्जनकार (कुमार बेन) को कथा तथा अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा छ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो सिनेमालाई बुद्ध थापाले छायांकन र सुशील कडरियाको लगानी रहनेछ। रास्वापा नेता गणेश कार्कीको समेत गीत रचना रहने सिनेमाको एउटा गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप रहने जनाइएको छ। सिनेमाको शुभमुहूर्तमा समेत बालेन पत्नी सविना काफ्ले उपस्थित भएर सफलताको शुभकामना समेत दिएकी थिइन्।

प्रकाशित: १५ श्रावण २०८२ ११:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App