गुगलमिटका माध्यमबाट साहित्य सन्ध्याको नियमित मासिक ४६७ औँ शृङ्खलामा ‘शुभकामना कविगोष्ठी’ को आयोजना गरिनुका साथै डा. विष्णुप्रसाद दाहालकाे कथासङ्ग्रह ‘कथाको कथा’ को परिचर्चा भएकाे छ।
साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता, उपाध्यक्ष रमेश पोखरेलको सञ्चालन, प्राडा जीवेन्द्रदेव गिरीकाे प्रमुख आतिथ्य र पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवीको विशेष आतिथ्यमा कार्यक्रम भएको हाे।
उक्त कार्यक्रममा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौला, महासचिव नन्दु उप्रेती, राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्याल, साहित्य सन्ध्याका सल्लाहकारहरू - प्राडा कृष्णप्रसाद घिमिरे (नेपालगञ्ज ) र वासुदेव अधिकारी, अग्रज स्रष्टाहरू - डा.राजेन्द्रप्रसाद अधिकारी, उमेश उपाध्याय, गायत्रीकुमार चापागाई, डा. हरिप्रसाद सिलवाल, कथाकार डा. विष्णुप्रसाद दाहाल, महेशराज खरेल लगायत अतिथिकाे रूपमा रहेका थिए।
प्राडा जीवेन्द्रदेव गिरीले डा. विष्णुप्रसाद दाहालकाे ‘कथाको कथा’ काे परिचर्चा गर्दै साहित्य सन्ध्याको यो लामो यात्रामा विविध विषयमा बहस र छलफल गरिरहेको बताए। उनले देवीप्रसाद दाहाल र यमुनादेवी दाहालका सुपुत्रका रूपमा पूर्वी पहाडमा करिब ६४ वर्षअघि जन्मिएका कथाकार दाहालसँग सान्त्वना कलेजमा सहकार्य गरेको र ‘फक्रँदो कोपिला’ साहित्यिक पत्रिकाको सम्पादन गरेकाे सम्झना सुनाए।
संग्रहमा लघुकथाका नजिकनजिक लाग्ने मध्यम आकारका १० कथा समेटिएका छन्। कथाकार आफैं प्रगतिशील चिन्तन राख्ने स्रष्टा भएकाले उनका कथामा जनपक्षीय चिन्तन, समाजमा व्याप्त अन्धविश्वास, रुढि, अगुवा र नेतृत्वले सही काम गर्न नसकेको अवस्था र समस्यासँग भाग्ने प्रवृत्ति जस्ता सामाजिक यथार्थ कथामा समेटिएकाे बताए।
त्यस्तै प्राडा जीवेन्द्रदेव गिरीले सरल भाषाशैलीमा असल विचार दिने कथाकारको प्रयत्न निकै सराहनीय रहेको बताए। कतैकतै अझ स्पष्ट भनिदिएको भए हुन्थ्यो भन्ने पनि लाग्छ तापनि आफैं सरल लेखकको सम्प्रेषणीय शैली आशालाग्दो देखिएकाे छ।
समारोहमा सावित्री श्रेष्ठ, डा. हरिप्रसाद सिलवाल, विन्दु अधिकारी ढकाल, कुमार नेपाल, महेशराज खरेल, डा.राजेन्द्रप्रसाद अधिकारी, ओमप्रसाद कोइराला, जयन्ती स्पन्दन, गायत्रीकुमार चापागाई, नर्मदेश्वरी सत्याल, गोपालकुमार मैनाली, उमेश उपाध्याय, वासुदेव अधिकारी, नन्दु उप्रेती, प्रशान्त खरेल, प्राडा कृष्णप्रसाद घिमिरे, डा. फणीन्द्रराज निरौला, डा. विष्णुप्रसाद दाहाल, राम विनयले कविता, गीत, गजल वाचन गरेका थिए।
विशिष्ट अतिथि शान्ता मानवीले जस्तोसुकै प्रतिकूलतामा पनि साहित्य सन्ध्याले समसामयिक विषयमा छलफल, बहस र कविताका माध्यमबाट सामाजिक रूपान्तरण तथा सत्य र न्यायका पक्षमा निरन्तर आवाज उठाइरहेकाे बताए।
आजको यो समारोह पनि हालै जेनजीलाई अगाडि लगाएर उनीहरूको आवरणमा सुशासन र परिवर्तनका नाराका साथ गरिएको तोडफोड, आगजनी र विध्वंश अनि तिनै कलिला मुनाको जीवन गएको समेतको पीडाले मुलुक शोक, पीडा र सन्त्रासमा रहेको अवस्थामा साहित्य सन्ध्याले प्रविधिमैत्री रूपमा यो गोष्ठी सम्पन्न भएकाे बताए।
प्रमुख अतिथि प्राडा जीवेन्द्रदेव गिरीले वाचित रचनाकाे समीक्षात्मक टिप्पणी गरेका गर्दै बालकविता, प्रौढकविता, कविताहरू मुक्त लयका, शास्त्रीय छन्दका र लोकछन्दकाे भएकाे बताए। उनले कविता भनेको अन्तरमनको भावना पोख्ने विधा भएकाले आजका सबै कविता समसामयिक, भर्खरै भएको जेनजी आन्दोलन र त्यसका नाममा भएका विध्वंश समेतलाई कवितामा चित्रण गरिएको बताए।
वाचित सिर्जना घुसपैठले आन्दोलनको उद्देश्यमाथि नै धावा बोलेको यथार्थ पनि कविताले उजागर गरेका छन्। कवितामा विषयको विविधता पाइन्छ। वर्तमानमा उत्पन्न निराशा आशामा परिणत गर्नुपर्ने र अँध्यारोविरुद्ध आवाज उठाउनुपर्ने आग्रह कवितामा गरिएको छ। संसदमा अवलम्बन हुने प्रक्रिया, अलमल, निष्कर्षमा नपुग्ने यथार्थ बडो विम्बात्मक रूपमा चित्रण गरिएको उनले बताए।
अरूको इसारामा काम गर्ने, चल्ने, खेल खेल्ने, खरिद–बिक्री हुनेको पहिचान हुनुपर्ने; अन्य मुलुकहरूमा भइरहेको भाँडभैलो हाम्रो मुलुकमा पनि प्रवेश हुनुमा सुशासनको अभाव तथा भागबण्डाको शासनशैली जिम्मेवार रहेको मूल्याङ्कन पनि कवितामा गरिएको छ। साथै असन्तुष्टिको अभिव्यक्ति वा प्रकटीकरणचाहिँ झनै क्रूर र त्रासदीपूर्ण रहेकोप्रति पनि कवितामा चिन्ता जाहेर गरिएको छ।
अहिलेको अप्ठ्यारो र प्रतिकूल बेलामा पनि समाजमा आशा जगाउने र हतासिएका मनमा प्रेरणा जगाउने आजको यो प्रविधिमैत्री कार्यक्रम सराहनीय रहेको भन्ने धारणा राखेका थिए।
परिचर्चा गरिएको कृतिका स्रष्टा डा. विष्णुप्रसाद दाहालले मान्छेको भोगाइ पनि आफैँमा एउटा कथा हो। हरेक मान्छेकाे जीवनमा कथा हुन्छ भन्ने भावनाले कृतिको जन्म भएको बताए।
उनले कोरोना महामारीले शरीर मात्र होइन दिमाग नै पीडित बनाएको र आफ्नै विद्यावारिधिको अनुसन्धान सक्नुपर्ने कारणले कृतिकाे प्रकाशन ढिल्याइ भएको बताए।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो। २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको यो संस्थाले नयाँ र पुराना स्रष्टालाई एकै ठाउमा भेला गराई कार्यशालाको स्वरूप प्रदान गरिरहेको छ तर पछिल्ला दिनमा नयाँ स्रष्टाको सहभागिता अलि कमजोर भइरहेको पनि छ।
हामी हरेक महिनामा कुनै न कुनै महत्त्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिविरुद्ध आवाज बुलन्द गर्ने कार्य गरिरहेका छौं। हाम्रा आवाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ।
उपाध्यक्ष रमेश पोखरेलले हस्ताक्षर गरेकाे विज्ञप्तिमा लेखिएकाे छ, ‘आज वाचित सिर्जनाले केही दिनअघि मुलुकमा जेनजीलाई अघि सारेर सुनियोजित रूपमा ध्वंश मच्चाउने नियतको त्रासदीको चित्रण मात्र गरेका छैनन्, धैर्य, सुधार र रूपान्तरण आवश्यक छ र त्यसमा पनि हामी स्रष्टाले वस्तुस्थितिको नजिकबाट मूल्याङ्कन गरेर सत्य र न्यायका पक्षमा आवाज बुलन्द गर्नुपर्छ भन्ने पनि बोध गराएकाे छ।’
प्रकाशित: ५ आश्विन २०८२ १३:५५ आइतबार