कला/साहित्य

परीक्षण

लघुकथा

‘नारायणदत्तजी नमस्कार। धेरैपछि पो भेट भयो त।’ हरिनन्दले भने।

‘भगवानको जय होस्। आह यसरी पनि भेट्न पाइँदो रहेछ है, हजुर माइती?’ नारायणदत्तले हरिनन्दलाई अँगालो हाल्दै सोधे।

एउटा वैवाहिक समारोहमा सहभागी हुने क्रममा पुराना दुई साथीको अकस्मात भेट भएको थियो। घरमा नाति खेलाएर आए पनि पुराना साथी भेट्दा आफ्नो उमेरले डाँडो काटेको हेक्का पाउँदैनन् मान्छे। सुरुमा हजुर र तपाईंको औपचारिकता देखाए पनि तँ र यारमा झरी हाल्छ्न्।

हरिनन्दले भने, ‘ल मजाले खाऊ। भव्य स्वागत छ यार।’

नारायणदत्तले पनि भने, ‘हिंड्न त तिमी पनि।’

‘ठिक छ, मैले अघि नै खाएँ। सँगै बसेर गफ गरौंला।’ भन्दै खाना खाने ठाउँतर्फ गए दुवै।

घरपरिवार, स्वास्थ्य, डाक्टरको सुझाव, अवकाशपछिको दिनचर्या, छोराको ससुराली, छोरीको घर, नातिको तोतेबोलीदेखि आफूहरूले कलेजमा गरेका अल्लारे हर्कत सबै उनीहरूको संवादमा समेटिए।

हरिनन्दले सोधे, ‘आफू माइतीपट्टिको भएपछि सोध्नपर्‍याे। कस्तो रहेछ खाना?’

‘खाएनौ र अघि?’ उल्टै प्रश्न गर्दै उनी तातो जेरी भएको तर्फ लागे।

‘ए जेरी त खाइएकै छ।’ आफूलाई मधुमेह भएर मुख बार्नु परेको त साथीले जेरी खाएको देखेर हरिनन्दलाई हल्का ईर्ष्या लाग्यो।

नारायणदत्तले भने, ‘परीक्षण गर्नु परेन?’

‘एउटै खाए पनि स्वाद थाह हुन्छ। जेरी अमिलो पक्कै छैन।’ हरिनन्दको अझ डाहिलोपन देखियो।

नारायदत्तको जवाफ थियो, ‘मैले कहाँ जेरीको परीक्षणको कुरा गरेको हो र, आफ्नै शरीरको पो परीक्षण गरेको।’  

प्रकाशित: २७ मंसिर २०८२ १०:२१ शनिबार