कला/साहित्य

टंक विकल्पको ‘ईश्वरलाई प्रश्न’ कविता कृति लोकार्पण

झापाको बुद्धशान्तिमा साहित्यकार टंक विकल्प काफ्लेको कविता कृति ‘ईश्वरलाई प्रश्न’ लोकार्पण गरिएको छ।

बुद्धशान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानको आयोजना तथा बुद्धशान्ति गाउँपालिकाको प्रायोजनमा बुद्धशान्ति-३ स्थित रामजानकी मन्दिरको सभाहलमा भएको बृहत् कविता, गजल तथा कृति लोकार्पण कार्यक्रममा काफ्लेको कृति लोकार्पण गरिएको हो।

प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्राज्ञ सुभद्रा भट्टराई, प्राध्यापक तथा साहित्यकार चुडामणि वाशिष्ठ, शिक्षा तथा खेलकुद शाखा अधिकृत झल्का भट्टराईसहित साहित्यकार, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमी सहभागी थिए।

प्रतिष्ठानका अध्यक्ष पौडेलले साहित्यका माध्यमबाट समाजमा सकारात्मक सोच, सिर्जनशीलता, सामाजिक चेतना र सांस्कृतिक पहिचान विकासमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्दै उनीहरूको प्रतिभा प्रस्फुटनका लागि अवसर सिर्जना गर्नु साहित्यिक संस्थाहरूको महत्वपूर्ण दायित्व भएको उनको भनाइ थियो।

विसं २०१८ साल साउन २९ गते पाँचथरको हालको हिलिहाङमा जन्मिएका काफ्लेले यसअघि ‘घडीका सुइराहरू’ नामक नाटक संग्रहसमेत प्रकाशन गरिसकेका छन्। उनको पछिल्लो कृतिमा १०० वटा कविता समेटिएका छन्।

कृति लोकार्पणपछि प्राध्यापक तथा साहित्यकार चुडामणि वाशिष्ठले कृतिको समीक्षा गर्दै त्यसमा समेटिएका विषयवस्तु, भाव, साहित्यिक पक्ष तथा कवितामार्फत उठाइएका प्रश्नबारे चर्चा गरे। सो अवसरमा बुद्धशान्तिका विभिन्न विद्यालयका विद्यार्थीले कविता वाचन गरेका थिए।

माध्यमिक तहस्तरीय कविता वाचन प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

कृतिका प्रकाशकको तर्फबाट स्वेच्छा काफ्लेले ‘ईश्वरलाई प्रश्न’ प्रकाशनका लागि आफ्ना बुवाले गरेको मेहनत र योगदानको प्रशंसा गर्दै कृति पाठकमाझ ल्याउन पाउँदा खुसी लागेको बताइन्। कार्यक्रममा विभिन्न साहित्यकार तथा सर्जकले कविता र गजल वाचन गरेका थिए।

कार्यक्रममा साहित्यकार पुण्यप्रसाद खरेलले साहित्यले समाजलाई सोच्न, प्रश्न गर्न र सकारात्मक परिवर्तनतर्फ अघि बढ्न प्रेरित गर्ने बताए। नयाँ पुस्तालाई सिर्जनात्मक क्षेत्रमा अघि बढाउन साहित्यिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा उनले जोड थियो।

प्रकाशित: १७ आश्विन २०८३ २१:०३ शनिबार