अभिनेत्री तब्बू आजआफ्नो ५५औँ जन्मदिन मनाउँदै छिन्। यस विशेष अवसरमा उनको आगामी फिल्म ‘किङ १००’ बाट पहिलो लुक सार्वजनिक गरिएको छ।
अभिनेता नागार्जुन अक्किनेनीले सामाजिक सञ्जालमार्फत फिल्मको पोस्टर सार्वजनिक गर्दै तब्बूलाई जन्मदिनको शुभकामना दिएका छन्।
फिल्म ‘किङ १००’ मा तब्बू ‘महन्ती झाँसी रानी’ को भूमिकामा देखिनेछिन्। सार्वजनिक पोस्टरमा उनी रातो साडीमा निकै प्रभावशाली र शक्तिशाली व्यक्तित्वका रूपमा देखिएकी छन्।
नागार्जुनले आफ्नो आधिकारिक एक्स अकाउन्टमा पोस्टर सार्वजनिक गर्दै लेखेका छन्,
‘अब तपाईं हाम्रो सम्झनामा महन्ती झाँसी रानीका रूपमा सधैँ रहनुहुनेछ। तपाईंले यो फिल्मलाई निकै विशेष बनाउनुभएको छ। प्रस्तुत छ, यस फिल्मबाट तपाईंको पहिलो झलक।’
पोस्टरसँगै निर्माण पक्षले एउटा भिडियो पनि सार्वजनिक गरेको छ। भिडियोमा तब्बूको दमदार व्यक्तित्व देख्न सकिन्छ। फिल्ममा उनी भाग्यमा विश्वास नगर्ने साहसी महिलाको भूमिकामा देखिनेछिन्। भिडियोमा उनको एउटा संवाद पनि निकै चर्चामा छ— ‘आई हेट लक’ मलाई भाग्यप्रति विश्वास छैन।
फिल्म ‘किङ १००’ आगामी २४ डिसेम्बर २०२६ मा सिनेमाघरमा प्रदर्शन हुने तयारीमा छ। संयोगवश, बक्स अफिसमा यसको प्रतिस्पर्धा बलिउड सुपरस्टार शाहरुख खानको बहुप्रतीक्षित फिल्म ‘किङ’ सँग हुनेछ।
फिल्म ‘किङ १००’ मार्फत तब्बू र नागार्जुन करिब २८ वर्षपछि फेरि ठूलो पर्दामा सँगै देखिन लागेका हुन्।
यसअघि यी दुई कलाकारले सन् १९९८ मा प्रदर्शन भएको तेलुगु फिल्म ‘आविडा मा आविडे’ मा सँगै काम गरेका थिए।
२८ वर्षपछि तब्बू र नागार्जुनको पुनर्मिलन तथा तब्बूको दमदार भूमिकाले यो फिल्मप्रति दर्शकहरूको उत्सुकता बढाएको छ।
प्रकाशित: १८ कार्तिक २०८३ १४:५३ बुधबार