कला/साहित्य

सुशान्त मृत्यु प्रकरण: रियालाई सीबीआईको ‘क्लिन चिट’, परिवारले अदालतमा चुनौती दिने

फाइल तस्बिर

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको पाँच वर्षपछि पनि न्यायको खोजी जारी छ। उनको परिवारले केन्द्रीय अनुसन्धान ब्यूरोको बन्द प्रतिवेदनलाई अपूर्ण र सतही भनेर अदालतमा चुनौती दिने निर्णय गरेको छ। 

परिवारका सदस्यहरूका अनुसार अनुसन्धानमा महत्वपूर्ण प्रमाणहरू बेवास्ता गरिएको छ, जसले सत्यताको खोजीलाई कमजोर बनाएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोले मार्च २०२५ मा दुई मुद्दामा बन्द प्रतिवेदन दायर गरेको थियो। एउटा सुशान्तका परिवारले पटनामा रिया चक्रवर्ती तथा उनका परिवारविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा दायर गरेको थियो भने अर्को रियाले मुम्बईमा सुशान्तका दिदीबहिनी तथा परिवारविरुद्ध दायर गरेको थियो। प्रतिवेदनमा सुशान्तको आत्महत्या भएको र रिया वा अन्य अभियुक्तविरुद्ध कुनै ठोस प्रमाण नभेटिएको उल्लेख छ। यसले रियालाई सबै आरोपबाट मुक्त गरेको छ।

परिवारका वकिल वरुण सिंहले प्रतिवेदन अपूर्ण रहेको बताए। उनले कुराकानी, साक्षीहरूको बयान, बैंक रेकर्ड र मेडिकल रिपोर्ट अदालतमा पेश नगरेको भन्दै यो एक प्रकारको धोका भएको टिप्पणी गरे। परिवारको आरोप अनुसार बैंक स्टेटमेन्टजस्ता प्रमाणहरू समावेश नहुँदा अनुसन्धानको विश्वसनीयता शंकास्पद छ।

प्रतिवेदनका मुख्य बुँदाहरूमा जुन ८ देखि जुन १४, २०२० सम्म कुनै अभियुक्त सुशान्तको नजिक थिएनन्। रिया र उनका भाइ शोविक जुन ८ मा नै घरबाट निस्केका थिए। सुशान्तले अन्तिम पटक जुन १० मा शोविकसँग सन्देश आदानप्रदान गरेका थिए। अनुसन्धानले सुशान्त र रिया वा उनका परिवारबीच कुनै सम्पर्क नभेटिएको जनाएको छ। सुशान्तकी पहिलो व्यवस्थापक श्रुति मोदी फेब्रुअरी २०२० पछि फ्ल्याटमा आउन छोडेकी थिइन् भने बहिनी मीतु सिंह जुन ८ देखि १२ सम्म त्यहाँ बसिन्। कुनै अभियुक्तले आत्महत्या उक्साएको प्रमाण नभेटिएको उल्लेख छ।

आर्थिक पक्षमा, रिया र शोविकले जुन ८ मा सुशान्तले उपहार दिएका सामानहरू लगे पनि, कुनै अनधिकृत प्रयोगको प्रमाण नभेटिएको प्रतिवेदनले जनाएको छ। सुशान्त र रिया अप्रिल २०१८ देखि जुन २०२० सम्म सँगै बस्दै आएका थिए। सुशान्तले आफ्नो फ्ल्याट साझेदारलाई रियालाई परिवारको हिस्सा मानेको बताएका थिए, जसले खर्चलाई ठगी नभई सामान्य ठहर्‍याएको छ।

पटना अदालतले यो प्रतिवेदनको सुनुवाइ डिसेम्बर २० मा गर्ने छ। परिवारले पूर्ण कागजात प्राप्त गरेपछि विरोध याचिका दायर गर्ने योजना बनाएको छ, जसले प्रकरणलाई नयाँ मोड दिन सक्छ। एजेन्सी

प्रकाशित: ८ कार्तिक २०८२ १२:१५ शनिबार