कला/साहित्य

मिथिला क्यानभासमा सुनैना–कुची

कला

जनकपुरधामको जानकी मन्दिरको मूल प्रवेशद्वारको दक्षिणतर्फ फर्केर हेर्दा ‘सुनैना मिथिला आर्ट ग्यालरी’ छ। यो ग्यालरीमा मिथिला सभ्यता, संस्कृतिका विभिन्न पक्षलाई क्यानभासमा रङ भर्ने काम गर्छिन्–सुनैना ठाकुर।

मिथिला क्षेत्रको विशिष्ट पहिचान हो – मिथिला कला । मिथिला कलामा मैथिल सभ्यता, संस्कृति र जीवनशैलीले खास अर्थ राख्छ । मैथिल समाजका विभिन्न रङलाई कलामार्फत जीवन्त बनाउँछिन् सुनैना।

सुनैना मिथिला सभ्यतालाई चित्रकलामार्फत रङ मात्र भर्ने काम गर्दिनन्, मिथिला कलालाई उद्यमकै रूपमा विकास गरेर गृहिणी महिलालाई आत्मनिर्भर समेत बनाइरहेकी छिन्।

मिथिला क्षेत्रको घर घरमा रहेको यो कलालाई व्यावसायिक स्वरूप दिन उनले समाजका महिलालाई हौसाउने अभियानमा तल्लीन छिन्। पछिल्लो समय उनको क्यानभास व्यापक बन्दै गएको छ।

फ्रेमबाट उनले आफ्नो कलालाई मधेसको गाउँसहरमा फैलाउँदै छिन्। मधेसका भित्ता र सार्वजनिक स्थानमा उनले मिथिलाको सभ्यतालाई फैलाइरहेकी छिन्। विभिन्न गाउँबस्तीमा पुगेर सार्वजनिक तथा सरकारी भवनमा महिला हिंसा, महिला सशक्तीकरण, चेलीबेटी शिक्षालगायत सामाजिक विषयवस्तुमा केन्द्रित रही भित्तामा मिथिला चित्रकला कोरिरहेकी छिन्। यस कार्यमा उनले समाजका धेरै महिला कलाकारलाई जोडेकी छिन्।

मिथिला क्षेत्रका महिलामा परम्परागत ज्ञानका रूपमा रहेको मिथिला चित्र कोर्ने सिपलाई व्यवसायीकरण गर्नसमेत भित्ते चित्रकलामा महिलालाई सहभागी गराएको उनको भनाइ छ। चाडबाडका बेला घर आँगनमा धार्मिक एवं सांस्कृतिक महत्त्वका चित्र बनाउने सुनैनाले मिथिला कलामार्फत बालविवाह, अनमेल विवाह, दाइजो, बोक्सी, जातीय विभेदजस्ता सामाजिक विकृतिविरुद्ध समाजमा सचेतनाको रङ भर्दै छिन्।

मधेसको ब्राह्मण परिवारमा जन्मेर मिथिला चित्रकलामा भविष्य रोज्ने उनको यात्रा चित्र कोरेजस्तो सहज भने थिएन। स्केचमा रङको रोजाइ जत्तिकै कठिन छ उनको यो यात्रा।

सुनैना प्राकृतिक रङ, माटो, पिठो, बेसार, सिन्दूरको मिश्रणबाट चित्र कोरेको खुब ध्यानपूर्वक हेर्थिन्। माटोको घरको भित्तामा बनाइने विभिन्न चित्रहरू (मान्छे, हात्ती, चरा, फूल आदि) चित्रले उनको ध्यान आकर्षित गथ्र्यो। त्यही आकर्षणले उनलाई पनि मिथिला संस्कृतिको रङसँग जोडिने निर्णयमा पुर्‍यायो।

सुनैना सानैदेखि गाउँघरमा बनाइने माटाका हात्तीघोडा, कपडाका बेहुलाबेहुली र हाँसमयूरको स्केच कागजमा कोर्थिन्। ती चित्रबाट स्याबासी पाउँदा उनी गदगद हुन्थिन्।

‘२०६२ सालतिरको कुरा हुनुपर्छ। भर्खरै एसएलसी उत्तीर्ण गरेकी थिएँ। बिहापछि घुम्टोभित्र गुटमुटिएर बस्नुपर्ने सामाजिक रिवाज थियो। जनकपुरमा दुई दिने मिथिला चित्रकला तालिम आयोजना भएको जानकारी पाएपछि सिक्ने छटपटी बढ्यो तर नवदुलहीलाई घरबाहिर जाने सामाजिक अनुमति थिएन तर परिवारले मेरो चित्रकला सिक्ने छटपटी बुझेर तालिममा सहभागी हुन सहमति दियो,’ सुनैना भन्छिन्।

भारतको दिल्लीबाट आएका कला प्रशिक्षकले तीन सय सहभागीलाई तालिमपछि चित्रकला प्रतिस्पर्धा गराए। बडो सजगतापूर्वक चित्रकारिताका सूक्ष्मातिसूक्ष्म कुरा जान्न खोज्ने सुनैना त्यस प्रतिस्पर्धामा पहिलो भइन्। यही सफलताले नै सुनैनालाई मिथिला चित्रकलाको विराट् क्यानभासमा पाइला उचाल्ने अवसर जुराइदियो। यो उनका लागि अनपेक्षित सफलता थिएन तर पहिलो थियो। यो सफलताले उनलाई मिथिला चित्रकलाको दुनियामा प्रवेश मात्र गराएन, घुम्टो पन्छाएर  घरबाहिर निस्कने अवसर पनि जुराइदियो। आफ्नो सिर्जनायात्रालाई अघि बढाउने आत्मबल पनि दियो।

सानै उमेरमा विवाह

त्यो बेला मधेसमा छोरीका लागि देखिने सपना रोजगार र अवार्डहरू थिएनन्। राम्रो ज्वाइँ र खानदानी परिवार थियो। यो अझै पूर्ण रूपमा रोकिएको भने छैन।  १४ वर्षकै स्कुले उमेरमा उनी महोत्तरीको सुगा निवासी शम्भु ठाकुरसँग विवाह बन्धनमा बाँधिइन्। कलिलै उमेरमा बिहेबारी हुने मैथिल समाज र त्यसमा पनि समुदायको रिवाजका कारण अन्माइएकी सुनैनाको कलायात्रा झन्डै त्यसपछिका दिनमा अवरुद्ध भयो तर अन्तरमनको ऊर्जाले भने उनलाई बेचैन बनाइरह्यो।

केही गर्नैपर्ने उनको आकांक्षा दुई वर्षपछि अझै बढेर आयो र उनी आफ्नो कलायात्रालाई निरन्तरता दिने टुंगोमा पुगिन्। त्यस अवधिमा उनले चित्राङ्कन गर्ने आफ्नो खुबीलाई बेडसिट, पर्दा र तकियाको खोल आदिमा प्रयोग गरिरहिन्।

कलायात्रालाई नयाँ ढंगले थालनी गर्ने ध्याउन्नमा रहेकी सुनैनाका लागि एउटा तालिम जीवनको सबैभन्दा सुन्दर मोड बन्यो।

यसपछि सुनैनाको जीवनसँग जोडियो ‘सर्च फर कमन ग्राउन्ड’। घरपरिवारलाई निकै प्रयत्नले मनाएर उनी त्यस संस्थाद्वारा जनकपुरधाममा आयोजित महिला नेतृत्वसम्बन्धी तालिममा सहभागी भइन्। यो आवासीय तालिमका लागि रातदिन घरबाहिर बस्नुपर्ने चुनौती थियो। तर उनको आँट र आकांक्षाले यो सम्भव भएको थियो।

आयोजक संस्थाकी मीना शर्माले तालिमका क्रममा सुनैनाका सपनाका कुरा मात्र गरिन्। उनकै हौसलाले सुनैनाले आफ्नो सपना पछ्याउन कुनै कसर बाँकी नराख्ने प्रण गरिन्।

यसरी चित्रकला फाँटमा काम तीव्र बनाइरहेका बेला सुनैनालाई एउटा पत्र प्राप्त भयो, जसमा महिला सशक्तीकरणसम्बन्धी ‘कन्टेन्ट’ झल्किने गरी चित्रकला बनाउन अनुरोधसहित शान्ति पुनस्र्थापनामा काम गरिरहेका आठ विदेशी महिला आएर तिनको अवलोकन अध्ययन गर्ने जनाउ दिइएको थियो। निर्धारित समयमा ती महिला सुनैनाको गाउँमा पुगे र विषयगत तालिमका लागि मिथिला चित्रकला बोकेर फर्के। सुनैनाको अनुभव छ, ती चित्रहरू साँच्चिकै महिला सशक्तीकरण तथा महिला नेतृत्वबारे तालिम दिन उपयोगी भए। हजारौं शब्दले भन्न नसक्ने भाव त्यो चित्रकलामार्फत सुनैनाले दर्शाएकी थिइन्।’

त्यसपछि उनी गाउँगाउँमा महिला सशक्तीकरणबारे अभियान लिएर पुग्न थालिन्। र त्यसमै मिथिला चित्रकलाको महत्त्वबारे पनि जागरुकता फैलाउँथिन्। बाबाआमा मात्र नभएर विवाह गरेर गएको परिवारबाट पनि राम्रो साथ र सहयोग मिल्यो। मधेसी समाजमा महिलाका लागि लागु हुने नियममा उनी चलिनन्। उनले मिथिला सभ्यता र संस्कृतिको चित्र मात्र कोरिनन्। आफ्ना लागि आफैं बाटो पनि कोरिन्। समाजले बनाएको इज्जत र प्रतिष्ठाको परिभाषालाई बदल्ने अठोट राखिन्।

सुनैना भन्छिन्, ‘आफ्ना लागि परिवारको सहयोग लिन सक्नु आफ्नै दायित्व हो। परिवारको साथ मिलेपछि अन्य कुराको डर हुँदैन।’

सन् २०१२ जनकपुरधामको तालिममा सहभागी भएर मिना शर्मासँग सामीप्य बढेपछि यात्रा सरल बनेको उनको अनुभव छ।

गाउँबाट चित्रकला सुरु गरेकी सुनैनाले क्यानभासबारे बृहत् र मिहिन अध्ययन चाहन्थिन्। मिथिला चित्रकलाको गहिराइमा पुग्न चाहन्थिन्। जसका लागि रङहरूको सम्मिश्रण, चित्रले दिने सन्देश, चित्रमा प्रयोग हुने प्राकृतिक रङबारे बुझ्न आवश्यक थियो। उनले नेपालमा मिथिला संस्कृति र चित्रकलाको उत्थानबारे जति कुरा भए पनि त्यस बेला यसको बजारीकरण नहुनु र सिकाउने संस्थाहरू समेत थिएनन्।

उनी सन् २०१० भारतको विहार राज्यअन्तर्गत मधुवनी जाने योजना बनाइन्। मधुवनी मिथिला चित्रकलाको जननी मानिन्छ। मिथिला कलालाई मधुवनी चित्रकलासमेत भनिन्छ।  त्यहाँकी मिथिला चित्रकार कल्पना सिंहसँग आफूलाई तालिम दिनले आग्रह गरिन्। १५ महिना  तालिम पनि लिइन्। चित्रकलाबारे जानकारी त थियो तर मिहिन अध्यन थिएन। सिंहबाटै सिकेको सिपले आज मलाई यो उचाइमा पु¥याएको सुनैना सुनाउँछिन्।

‘सुरुमा त नेपालबाट आएको भनेर उहाँले मेरो अनुरोधलाई त्यति चासो दिनुभएन तर पछि मेरो काम देखेर खुसी हुनुभयो,’ उनले सम्झिन्, ‘उहाँबाट नै प्राकृतिक रङहरू बनाउने र प्रयोग गर्ने तालिम लिएँ।’ मिथिला चित्रकलाको गहिरो ज्ञान र कल्पना सिंहबाटै प्राप्त भयो।’

उनी अहिले देश विदेशमा आफ्नो कलाको माध्यमबाट आफ्नो गाउँठाउँको पहिचानलाई शिखरमा पुर्‍याउन सफल हुँदै छिन्। ‘गाउँमा कुरा काट्ने, खिल्ली उडाउनेहरू पनि इज्जत गर्छन्,’ उनी खुसी साझा गरिन्।

प्रकाशित: १७ माघ २०८२ १०:२६ शनिबार