कला/साहित्य

नयाँ र पुराना दलका विचारमाथि प्रश्न उठाउँदै ‘जैविक गणतन्त्र’

लेखक तथा चिन्तक मोहन तिम्सिनाद्वारा लिखित पुस्तक ‘सङ्घीय जैविक गणतन्त्र नेपाल’ माथि शनिबार इटहरीमा विमर्श गरिएको छ।

पुस्तकमाथि टिप्पणी गर्दै वक्ताहरूले अब नेपालको राजनीति विदेशी वादको सट्टा आफ्नै मौलिकतामा टेकेर गर्नुपर्ने सन्देश दिएका छन्।

२०८० सालमा प्रकाशित ‘जैविक दर्शन’ पुस्तककै एक खण्डलाई अझ परिस्कृत गरेर तयार पारिएको यो नयाँ कृतिको विमर्शमा वक्ताहरूले वर्तमान राजनीतिक विचारमाथि प्रश्न उठाए।

कार्यक्रममा बोल्दै नेकपाका नेता निर्मल बरालले देशमा रहेका पुराना तथा नयाँ दलका विचारधारा र दर्शनमाथि पुस्तकले गम्भीर प्रश्न गरेको बताए।

नेता बरालले भने, ‘यो लेखक तिम्सिनाको नितान्त नयाँ दर्शन हो। यतिबेला नेपालमा बग्रेल्ती नयाँ राजनीतिक दलहरू खुलिरहेका छन्। तर, पुराना हुन् वा नयाँ, ती कसैले पनि नेपालको माटो सुहाउँदो दर्शन र विचार नअपनाएको कुरा पुस्तकमा औंल्याइएको छ।’

कार्यक्रममा पहिचानवादी नेता अमर इजमले मौलिकतालाई पहिचानकै समानान्तर मान्न सकिने बताउँदै पुस्तकले दलहरूलाई ‘थ्रेट’ सहितको प्रश्न गरेको टिप्पणी गरे।

उनले गणतन्त्रका नाममा दलहरूमा देखिएको निरङ्कुश प्रवृत्ति सुधार्न पुस्तकले सकारात्मक सन्देश दिएको बताए।

सोही कार्यक्रममा साहित्यकार टीका आत्रेयले लेखक तिम्सिनाले उठाएको विषय अनुसार देशमा आफ्नै मौलिकपन कायम राख्न सके पक्कै पनि सबै क्षेत्रको विकास हुने विश्वास व्यक्त गरिन्।

लेखक तिम्सिनाले पुस्तकको सन्देशले देशको शासन प्रणाली, सामाजिक, वातावरणीय, आर्थिक र शिक्षा प्रणालीमा सुधार ल्याउने अपेक्षा व्यक्त गरे।

प्रकाशित: १२ पुस २०८२ १५:५८ शनिबार