एक समय रेडियोका श्रोताका ओठमा एउटा गीत हरपल झुन्डिरहन्थ्यो। खास गरेर युवा वर्गमाझ त्यो गीत अत्यन्तै लोकप्रिय थियो, अझ अगाडि बढेर भन्ने हो भने प्रेममा धोका खाएका वा प्रेमबाट हार खाएर वियोग खेपिरहेका प्रेम–पराजित प्रेमीको मनको तस्बिर थियो त्यो गीत:
‘जति चोट दिन्छौ देऊ मायालु
मुटुभित्र साँचेर राख्नेछु
जति आँसु दिन्छौ देऊ मायालु
दुई आँखाबाट झार्नेछु’
उतिबेलाका प्रसिद्ध गायक भक्तराज आचार्य आफैंले लय हालेर गाएको उक्त गीतको गायन–पक्ष यति प्रभावशाली थियो कि गीत सुन्दा स्वयं गायकले साँच्चै नै प्रेममा विश्वासघात बेहोरेका थिए कि भन्ने भान पर्छ। यो गीतका रचनाकार थिए- सुवासचन्द्र ढुंगेल। आज पनि सुवासचन्द्र स्वयंलाई साक्षी राखेर सोध्न सकिन्छ, ‘के यो तपाईंकै जीवन–भोगाइ हो?’
सोच्नेले जे पनि सोच्न सक्छन् तर वास्तविकता र कल्पनशीलतामा आकाश–जमिनको अन्तर हुन्छ। सुवासचन्द्र एक स्रष्टा हुन्, सामान्य मान्छेको भन्दा त्यो स्रष्टा–मनमा केही अलग क्षमता पक्कै रहेको हुन्छ नै। सबैभन्दा ठुलो क्षमता भनेको कला हो, त्यो कलालाई गीतका माध्यमबाट प्रस्तुत गर्न सक्नु उनको निजी सिप हो। यो भिन्नै कुरो हो, कलात्मक सिपमा केही आफ्नै अनुभूति होला, केही कल्पना होला।
प्रेममा वियोग भएको प्रेमीले आफ्नो प्रेमलाई बिर्सन सक्दैन भन्ने सशक्त उदाहरण हो यो गीत। गीतमा प्रेमको वियोगबाट सहन गर्न सक्ने ऊर्जा झन् धेरै प्राप्त गरेको अभिव्यक्ति दिएका छन् प्रेमीले। प्रेमिकाप्रति कुनै प्रतिशोध छैन, उल्टो समर्पण छ, प्रेमी ‘त्यो प्रेम’प्रति अझ बढी आशक्त छ ।
त्यसो त, २०३८ को मंसिरदेखि रेडियोबाट बज्न थालेको यो लोकप्रिय गीतभन्दा अगाडि असार महिनामै सुवासचन्द्रको अर्को गीत रेकर्ड भएर बज्न थालिसकेको थियो:
‘चिता बनाई जलाइनदेऊ
मुटुभरिका रहरहरू
घृणा गरेर लत्याइनदेऊ
मैले मागेका भिक्षाहरू’
तारा थापाद्वारा गाइएको यो गीतमा प्रेमिकाको प्रेम–आवेग छ। स्वभावतः प्रेममा रहरहरू हुन्छन्, अनगिन्ती। कति भन्न सकिन्छ, कति भन्नै सकिन्न। भन्न नसकिएका रहरहरू छातीभित्रै उकुसमुकुस भएर रहिरहन्छन्। त्यसै पनि त, भन्ने नै गरिन्छ– प्रेमको कुनै भाषा हुँदैन, प्रेम मौन हुन्छ, त्यसको कुनै आवाज हुँदैन। प्रेममा भाव हुन्छ, भावना हुन्छ, अनुभूति हुन्छ। जब मान्छेभित्र प्रेम पलाउँछ तब त्यसको गतिलाई कसैले रोक्न सक्दैन, स्वयंमा चलायमान प्रेम क्रमशः हुर्कंदै जान्छ। यस्तो अवस्थामा प्रेम गर्ने मान्छेले प्रेम गरिएको मान्छेप्रति जे–जस्तो क्रियाकलाप गर्छ, ती सबै स्वीकार्य हुन्छन्।
भनिन्छ, लडाइँ या प्रेम, त्यहाँ सब जायज हुन्छ। प्रेममा प्रेम पनि जायज छ, धोखा पनि जायज छ। प्रेममा मुस्कान पनि जायज छ, आँसु पनि जायज। जायज छ पीडा पनि, खुसी पनि। स्वीकारोक्ति पनि जायज छ, अपमान पनि जायज छ। प्रेममा माया मात्रै कहाँ, घृणा पनि जायज छ।
प्रेममा माग हुन्छ, प्रेममा क्षमा हुन्छ, प्रेममा त्याग हुन्छ तर जुनसुकै स्थितिमा पनि प्रेममा प्रेमचाहिँ हुन्छ नै। सुवासचन्द्रको गीतका शब्दहरू प्रेमको अत्यन्तै निकट छन्। उनी यो गीतमा प्रेमको उच्चतम बिन्दुमा पुगेका छन्। माथि नै पनि भनियो– प्रेममा रहरहरू हुन्छन् र तिनै रहरमा अन्तरनिहित प्रेम नै उनको ईश्वर हो, पूजा हो, आराधना हो। त्यस्तो महान् प्रेमलाई लत्याएको उनलाई सह्य छैन, त्यसलाई सग्लो बचाई राख्न उनी आग्रह गर्छन्। उनलाई राम्रोसँग थाहा छ प्रेमको महत्त्व।
लाग्छ, सुवासचन्द्र प्रेमका ज्ञाता नै हुन्। उनलाई प्रेमबारे सबै कुरा थाहा छ। खास गरेर प्रेमको असरबारे अझ बढी जानकारी राख्छन्, र त लेख्छन्:
‘चोट के हो व्यथा के हो
मजस्तो घाइतेलाई सोध
मिलन के हो खुसी के हो
मसँग कहिल्यै सोध्दै नसोध’
मान्छे लडेर मात्रै पछारिँदैन, जब प्रेममा मात खाइन्छ तब यसरी मान्छे पछारिन्छ कि पूरै घाइते नै बन्छ, सम्भवतः कहिल्यै उठ्न नसक्ने गरेर। यस अर्थमा यो गीत शाब्दिक भाषाको केवल गीत मात्रै होइन, प्रेम बेहोरेका अर्थात् प्रेमबाट प्रभावित परिणाम हो। प्रेममा असफल भएपछि के हुन्छ? त्यसले कस्तो चोट पार्छ? त्यसबाट उब्जने व्यथा कस्तो हुन्छ? एकै पङ्क्तिमा उनी भन्छन्– मलाई सोध! मेरो घाइते मनलाई सोध!
असफल प्रेमीले सायद सजिलै बुझ्न सक्छन् उनको जवाफ। त्यसो त प्रेम गर्ने सबैलाई थाहा छ, प्रेमको असफलताबाट पाइने चोट शारीरिक चोटजस्तो हुन्न, धेरै मानेमा भिन्न हुन्छ तर प्रेम वियोग खेप्नेहरूलाई अझ बढी थाहा हुन्छ, प्रेमको असर र प्रेमको चोट। प्रेमले चोट पुर्याएको मान्छे बाँचेको त हुन्छ तर आफूलाई जीवित महसुस नगरी बाँचिरहेको हुन्छ।
अनुहारमा हाँसो त हुन्छ तर त्यसमा कुनै खुसी मिसिएको हुन्न, अहँ एक रति सौन्दर्य छिपेको हुन्न त्यहाँ। हुन्छ त केवल पीडाको मिश्रण। के अर्थ खुसीको, त्यस्तो प्रेमपीडित मान्छेलाई ? त्यसैले त गीतकार भन्छन्– के सोध्छौ प्रेमको बजारमा खोटा सिक्काजस्तो भएको मान्छेलाई, खुसीको कुरा ? उनको आरोप छ - असली सिक्काले प्रेम खरिद गरिने यो नक्कली समाज हो।
जसले यो गीत गाए, अरुण थापा– सायद उनी स्वयं पनि यस प्रसङ्गमा उत्तिकै पीडित थिए कि ! त्यसैले पो हो कि, उनले गाएको यो गीतको आवाजमा साँच्चिकै गीतका शब्दहरूको मर्म भेटिन्छ।
गीत भन्नु वास्तवमा शब्द र सङ्गीतको संयोजन हो, जहाँ आवाजले न्याय दिन सक्यो भने त्यो गीत अमर हुन्छ। सुवासचन्द्रको यो गीतलाई वास्तवमै अरुण थापाको स्वरले अमर बनाएको छ। गीत गाइँदैमा, चर्चा बटुल्दैमा गीतले जबसम्म मान्छेको हृदयलाई छुँदैन, तबसम्म त्यस्तो गीत केवल कागजको फूल हो। बास्नारहित फूल हुनु र नहुनुमा के अन्तर, जब फूलमा बास्ना छैन भने! यस अर्थमा सुवासचन्द्रको गीतहरू सुन्दर फूल हुन्। उनका हरेक गीतहरूले सुगन्ध फैलाएको पाइन्छ।
फूल भन्नु नै प्रेमको प्रतीक हो जबकि प्रेमको गीतमा फूलको चर्चा चल्ने हो भने त झन् सुनमा सुगन्ध!
‘फूल झरे पनि काँडा झर्दैन
म मरे पनि माया मर्दैन।’
स्वभावतः फूल फुल्नुअघि कोपिला लाग्छ, फुल्छ–फक्रन्छ र अन्ततः ओलाउँछ र बोटबाटै झर्छ। त्यो बोटमा फेरि त्यसरी नै कोपिला लाग्छ, फुल्छ–फक्रन्छ, ओइलाउँछ र झर्छ। बोट रहुन्जेल यो क्रम चलिरहन्छ। यही फूलको उदाहरण दिने गरिन्छ प्रेममा पनि– ठिक विपरीत तरिकाले। फूलजस्तो त्यस्तो कमजोर हुँदैन प्रेम। यहाँ गीतकार सुवासचन्द्र ठिक त्यही फूलको प्रसङ्ग रवीन शर्मा र तारा थापाले गाएको उपर्युक्त गीतमा जोड्न पुग्छन् - मेरो प्रेम फूलजस्तो होइन, जो झरी जान्छ, बरु त्यसको दाँजोमा काँडाको आयु लामो हुन्छ। तथापि गीत सुन्दा उनको प्रेमले काँडालाई समर्थन गरेजस्तो देखिए पनि वास्तविकता त्यस्तो होइन।
उनी अझै थप्छन्– मेरो प्रेम त्यो जूनजस्तो हो, झरी जाने ताराजस्तो होइन। यतिसम्म भन्छन् कि मेरो प्रेम अजम्बरी छ, म मरी गएँ भने पनि मेरो प्रेम जीवित रहिरहन्छ। हो नि त! हिर–राँझा, लैला–मजनू, मुना–मदन, मालती–मंगलेको प्रेमकथा दुनियाँमा बाँचिरहेको छ।
यत्ति भनौं - सुवासचन्द्र ढुंगेलका गीतहरू पनि बाँचिरहने छन्।
प्रकाशित: २३ श्रावण २०८३ ०६:२६ शनिबार