कला/साहित्य

‘मास्टर्नी’ गीतमा ‘द्विअर्थी’ शब्दको प्रयोगपछि तिव्र आलोचना

चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको गीतमा प्रयोग भएका द्विअर्थी शब्द र प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ। गीत सार्वजनिक भएसँगै लेखक तथा चलचित्र समीक्षक प्रकाश सायमीले गीतको कलात्मक स्तरमाथि  टिप्पणी गरेका छन्। 

सामाजिक सञ्जालमार्फत उनले उक्त गीतलाई कला नभई ‘रद्दी व्यवसायको भद्दा कला’ को संज्ञा भएको बताएका छन् । उनले अभिनेत्री प्रियंका कार्की प्रति कुनै व्यक्तिगत गुनासो नभएको स्पष्ट पार्दै विवादको केन्द्र कलाकार नभई गीतको प्रस्तुति र स्तर रहेको बताएका छन्। 

सायमीले जर्मन कवि बर्टोल्ट ब्रेख्तको भनाइ उद्धृत गर्दै द्विअर्थी सामग्रीले चर्चा र आर्थिक सफलता दिलाउन सक्ने भए पनि त्यसलाई कला भन्न नमिल्ने बताएका छन्। उनका अनुसार यस्ता सामग्रीले क्षणिक लोकप्रियता हासिल गरे पनि दीर्घकालीन कलात्मक मूल्य र सामाजिक सम्मान प्राप्त गर्न सक्दैनन्।  

सायमीले भारतीय अभिनेता तथा फिल्म निर्माता दादा कोंडकेको उदाहरण दिँदै द्विअर्थी संवाद र गीतमार्फत व्यापारिक सफलता हासिल गरे पनि समयसँगै त्यस्तो शैली टिक्न नसकेको बताएका छन्। उनले पैसा कमाउन सफल भए पनि यस्ता सिर्जनाले स्थायी सम्मान र स्मरणीय स्थान बनाउन नसक्ने समेत उल्लेख गरेका छन्। 

उक्त गीतमा रहेका ‘म्याथ सिक्ने भए, सबलाई जित्ने भए, ट्युशन सिकाइदिन्छु, बेलुका घरमा आए’ जस्ता शब्दप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। धेरै प्रयोगकर्ताले शिक्षकजस्तो सम्मानित पेशालाई ‘द्विअर्थी’ प्रस्तुति र संवादमार्फत प्रस्तुत गर्नु अनुपयुक्त भएको बताएका छन्। 

प्रियंका कार्की, आर्यन सिग्देललगायत चर्चित कलाकारको प्रयोग गर्दै शिक्षक समुदायको छविमा नकारात्मक असर पर्ने खालको गीत र भिडियो निर्माण गरिएको भन्दै आक्रोस व्यक्त गरेका छन्। कतिपयले यसलाई सिर्जनात्मकताको अभावको उदाहरण भन्दै नयाँ पुस्ताको मनोरञ्जनको नाममा सामाजिक मूल्य र मर्यादामाथि प्रहार गरिएको बताएका छन्। 

प्रकाशित: ३२ असार २०८३ १८:१७ बिहीबार