कला/साहित्य

कथाकार हरि थापाको 'मभित्रको ऊ' लोकार्पण

नेपाल स्रष्टा समाजले कथाकार हरि थापाको 'मभित्रको ऊ' कथासंग्रहको लोकार्पण गरेको छ।

राजधानीमा आयोजित कार्यक्रममा अग्रज कथाकार मञ्जु काँचुली, श्रीओम श्रेष्ठ राेदन, डा. दीनबन्धु शर्मा,पवन आलोक, कथाकार थापा लगायतले कृति सार्वजनिक गरे।

प्रमुख अतिथि काँचुलीले कथा सबै कुरा हो भन्दै समाज विखण्डन हुनेगरी कथा कसैले लेख्न नहुने सुझाइन्। उनले भनिन्, ‘सबैलाई समन्वय गर्न सक्ने र एकतामा जोड्न सक्ने कथा लेखौँ। कथा समाजको सकारात्मक रूपान्तरणका लागि लेखिनुपर्छ। विचार, सोच र चेतनाले कथा राम्रो हुन्छ।’

कथाकृतिमाथि टिप्पणी गर्दै डा. शर्माले पुस्तकले पाठकले आआफ्नो मस्तिष्कले फरकफरक धारणा बनाउने बताए। उनले पाठक जुन पृष्ठभूमिबाट आएको छ, उसले सोही धारणा बनाउनेमा जोड दिए। 'मभित्रको ऊ' कथासङ्ग्रहमा मूलत: सामाजिक यथार्थवादी कथाहरू छन्। आदर्शवादी चेत र  प्रयोगवादी केही कथा पनि समावेश छन्। नेपाली समाजका घरपरिवारका सुखदुख परेका छन्। उनले कथाहरू चोटिला हुनुपर्नेमा पनि जोड दिए।

समाजका केन्द्रीय अध्यक्ष ‘रोदन’ ले कथाकार थापालाई सर्जक मात्र नभएर लघुकथा, कथाका प्रवर्द्धक र सम्बर्द्धककाे रूपमा मूल्यांकन गरे। हरि थापा लेखक मात्र नभएर सहयात्रा विधाका कल्पनाकार पनि हुन्। सरल र असल मिजासका थापा हार्दिक पनि भएकाे उनले बताए।

समाजका संरक्षक पवन आलोकले कथाकार थापा र आफ्नो सम्बन्धबारे चर्चा गर्दै कृति सफलताको निम्ति शुभकामना दिए।

कथाकार थापाले कथा लेखनीका प्रारम्भिक अनुभूतिहरू साझा गरे। समाजका बागमती प्रदेशका संयोजक शंकर भारतीको अध्यक्षतामा भएकाे कार्यक्रममा सदस्य एलिशा ढुंगानाले शब्द मार्फत उपस्थितजनकाे स्वागत गरेकी थिइन्। कार्यक्रमको सञ्चालन उद्धव सापकोटाले गरे। कृतिलाई सुन्दर स्वदेश पब्लिकेशनले प्रकाशनमा ल्याएको हो। 

प्रकाशित: १० भाद्र २०८३ ११:०८ बुधबार