कला/साहित्य

वसन्त बहार

प्रकृति

समस्त माधुर्य लिएर साथमा

छरेर सौन्दर्य विशाल विश्वमा

वसन्त मेरो हितमा निमग्न भो

अहो! छ कस्तो रस–रागयुक्त यो

युगकवि सिद्धिचरण श्रेष्ठले वसन्त ऋतुको अनुपम वर्णन गर्दै रचेको कविताको अंश हो यो।

ऋतुहरूमध्ये वसन्त सबैको प्रिय ऋतु हो। मार्च २१ अथवा २२ तारिखका दिन सूर्य उत्तरायणतर्फ लाग्छ र प्राविधिक दृष्टिले वसन्त ऋतुको थालनी त्यहींबाट हुन्छ। हाम्रो पञ्चांगमा मेला, चाड, पर्व आदि तिथिअनुसार पृथ्वी र चन्द्रमाको सापेक्षिक स्थितिले समेत निर्धारण गर्ने परिपाटी बसेको हुँदा माघको शुक्ल पञ्चमीको दिनलाई ‘वसन्त पञ्चमी’को रूपमा मनाइन्छ।

वसन्तले मधेसमा पहिलो कदम राख्छ। त्यहाँ फागुनको थालनीसँगै रुखबिरुवामा नयाँ पालुवा लाग्ने, कोपिलाहरूले वनबाटिकालाई मञ्जरीमय बनाउँदै जाने, माहुरीहरू फूलपरागको खोजीमा निस्कने र चराचुरुंगीले नववधूको चाहनामा मुक्तकण्ठले वन गुञ्जायमान बनाउने आदि क्रियाकलाप सुरु हुन्छन्। अग्ला–अग्ला सिमलका रुखभरि चराचुरुंगी र भमरा–माहुरीहरू बथान लाग्न थाल्छन्। सुगा, मैना, चिबे, जुरेलीका जोडीहरू रुखैभरि झुम्मिएका देखिन्छन्। वनमा आकर्षण थप्नमा पलाँसका वृक्षहरू पनि उत्तिकै सक्रिय हुन्छन्। जंगलको ज्वाला नामले प्रचलित यो वृक्ष चैतभित्र फुलिसक्छ। पलाँसको सम्पूर्ण वृक्षलाई सिन्दुरे रातो फूलको रङले पोतिसकेपछि नयाँ पालुवाहरू हरियालीमा रूपान्तरण हुन्छन्। प्रत्येक दिन रुखैभरि फूल फुल्छन् र प्रत्येक बिहान झर्छन्। मानौं, त्यहाँ दिनहुँ पुष्पवृष्टि हुन्छ।

वसन्त डाक्ने ‘कुक्कु, कुक्कु’को कोइली बोलीले वन गुञ्जायमान हुन थालेपछि नै नयाँ वसन्तको वास्तविक आभास हुन्छ। त्यसपछि ‘को हो, को हो’ भन्ने भाकामा कोइली आइपुग्छ। वसन्त बहारको अन्त्यतिर आएर ‘काफल पाक्यो, काफल पाक्यो’ भन्ने कोइली छिप्पिएको वसन्तको मादमा मस्त भएपछि ‘बिउ कुहियो, बिउ कुहियो’ भनेर दैलोमै किसानलाई सम्झाउन आइपुग्छ। हेर्दाहेर्दै आँपका मञ्जरीहरूमा लटरम्म फल लागिसकेको हुन्छ।

कलिला पालुवामाथि बिछ्याएर फूलै फूल,

वसन्त–श्री बसेकी छन् बनी सौन्दर्य–विह्वल।

वसन्तको बेला मौरीहरू फूलको बिहे रचाउन व्यस्त हुन्छन्– एक फूलको पराग अर्को फूलमा सारिदिएर। भमरा, पुतली र पन्छीहरू पनि यिनकै सिको गर्छन्। सल्लाको बोटमा चाहिँ वसन्तको सिरसिरे बतासले पराग उडाएर सेचन कार्य गराइदिन्छ। यस्तै अनेकौं अरू बिरुवाको बिहे सम्पन्न हुन्छ, त्यो पनि हावाको भरमा।

प्रकृतिप्रति प्रेम नहुँदो हो त यो पृथ्वी पनि निर्जीव पिण्ड बनेर अरू ग्रहसरह ब्रह्माण्डमा भौंतारिइरहेको हुन्थ्यो। प्रकृतिमा प्रेम नबसेको भए मानव जीवन पनि अनवरत चलिरहँदैनथ्यो। मानिसको कृतिभन्दा बेग्लै हो प्रकृति! आजभोलि मानिसहरू स्वीकृतिमा भुल्न र प्रकृतिबाट टाढिन थालेका छन्। प्रकृतिको स्पर्शबाट टाढा बसेर प्रकृतिलाई प्रेम गर्न सकिँदैन। प्रकृतिलाई प्रेम गर्न जान्यौं र प्रकृतिसँग मोह बस्यो भने मात्र जीवनको आनन्द प्राप्त हुन्छ। प्रकृति अद्भुत ज्ञानको विश्वविद्यालय पनि हो। त्यसलाई पढ्न, बुझ्न र जान्न सक्नुपर्छ।

कुनै सुन्दर चिज देख्दा कसको मन मोहित हुँदैन र! अझ पूरै प्रकृति नै सुन्दर देखियो भने त्यसको प्रभाव जीवनमा नपर्ने कुरै भएन। वसन्त ऋतुको आकर्षक पक्ष भनेकै पूरै प्रकृति आकर्षित देखिनु हो।

यसबेला प्रकृतिले काँचुली फेर्छ। चिसो मौसम हटिसकेको हुन्छ। गर्मी मौसम सुरु भइसकेको पनि हुँदैन। मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ। सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। फूलहरू फुल्छन्। अनि यस्तो दृश्यले सबैलाई लोभ्याउँछ। भनिन्छ, वसन्त मन लोभ्याउने ऋतु हो। यो प्रकृतिको यौवनावस्था पनि हो। यौवनावस्था कसलाई मन पर्दैन र!

आध्यात्मिक भाषामा वसन्त ऋतुमा पञ्चतŒव (पृथ्वी, वायु, जल, आकाश र अग्नि) ले आफ्नो प्रकोप छाडेर सुहाउँदो रूपमा प्रकट हुन्छन्। आकाश स्वच्छ हुन्छ। वायु सुहाउँदो हुन्छ। अग्नि (सूर्य) को ताप ठिक्कको हुन्छ। जल सुखदायक हुन्छ।

वसन्तसँगै जोड्न सकिने एउटा पौराणिक कथा पनि छ। सृष्टिको सुरुवातको कुरा हो। भगवान् विष्णुको आज्ञा पाएर ब्रह्माले जीवहरू, खासगरी मनुष्ययोनिको रचना गरे। यति रचना गर्दा पनि उनी आफ्नो रचनादेखि सन्तुष्ट थिएनन्। आफ्नो रचनामा कुनै कमी भएजस्तो उनलाई लाग्थ्यो। हुन पनि त्यसबेला चारैतिर मौन व्याप्त थियो। कुनै आवाज थिएन।

यस्तो अवस्थामा विष्णुसँग अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट जल छर्किए। जलकण पर्नेबित्तिकै पृथ्वीमा कम्पन हुन थाल्यो। वृक्षहरूको बिचबाट एउटा अद्भुत प्रकट भयो। यो प्रकट एक चतुर्भुजी सुन्दर स्त्रीको थियो, जसको एउटा हातमा वीणा तथा अर्को हात वरमुद्रामा थियो। अन्य दुई हातमा पुस्तक र माला थिए। ब्रह्माले देवीसँग वीणा बजाउन अनुरोध गरे।

देवीले वीणाको मधुरनाद सुरु गर्नेबित्तिकै संसारका सबै जीवजन्तुलाई वाणी प्राप्त भयो। जलधारामा कोलाहल व्याप्त भयो। हावा चल्नाले सरसराहट हुन थाल्यो। तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने।

पछि तिनै सरस्वतीले जब श्रीकृष्णलाई देखिन्, उनको रूपमा मोहित भइन् र पतिका रूपमा पाउने इच्छा गर्न थालिन्। श्रीकृष्णले यो कुरा थाहा पाए र आफू राधाप्रति समर्पित भएको बताए। सरस्वतीलाई प्रसन्न गर्नका लागि उनले वरदान दिए– ‘प्रत्येक विद्याको इच्छा राख्ने व्यक्तिले माघको शुक्ल पञ्चमीमा तिम्रो पूजा गर्नेछ।’ यसै दिनदेखि वसन्त सुरु भएको मानिन्छ।

ज्योतिष शास्त्रअनुसार यस ऋतुमा वातावरण सुहाउँदिलो हुन्छ। यस ऋतुमा जन्मेका व्यक्तिहरू निकै सुन्दर हुन्छन्। उनीहरू बुद्धिमान हुनुका साथै गणितमा पनि प्रवीण हुन्छन्। अनेक शास्त्र जान्ने स्वभावका हुन्छन्। संगीतशास्त्रमा उनीहरूको निकै रुचि हुन्छ र त्यसमा निपुण हुन्छन्। उनीहरू सुन्दर लुगा लगाउन मन पराउँछन्। सधैं हँसमुख र प्रसन्न रहने स्वभावका हुन्छन्।

रामायणमा उल्लिखित एउटा घटनाअनुसार श्रीरामले वसन्तकै पहिलो दिन शबरीलाई भेटेका थिए। कथाअनुसार रावणद्वारा सीता हरण भइसकेपछि श्रीराम उनको खोजीमा दक्षिणतर्फ बढे। उनी विभिन्न स्थानमा गए, तीमध्ये दण्डकारण्य पनि थियो। त्यहीं शबरी नाम गरेकी महिला बस्थिन्। राम उनको कुटीमा पुगे। शबरीले रामलाई देखेपछि प्रेमवश आफ्नो होसहवास गुमाइन् र मिठा बयर आफूले चाख्दै रामलाई खुवाउन थालिन्। प्रेमले भरिएको यस घटनालाई रामकथाको गायन गर्ने सबैले आआफ्ना ढंगले प्रस्तुत गरेका छन्। दण्डकारण्यको त्यो क्षेत्र हाल भारतको मध्य प्रदेशमा फैलिएको वन भएको मानिन्छ। त्यहीं शबरीको आश्रम थियो।

राग, रङ र उत्सव मनाउनका लागि यो ऋतु सर्वश्रेष्ठ मानिएको छ। होली पर्व वसन्त ऋतुमा मनाइन्छ। कालिका पुराणमा वसन्तको व्यक्तीकरण गर्दै यसलाई अति आकर्षक, सन्तुलित शरीर भएको, अनेक फूलहरूले सजिएको, मात्तिएको हात्तीजस्तो चाल भएको आदि गुणहरूले भरिपूर्ण भनेर बताइएको छ।

प्रकाशित: १६ फाल्गुन २०८२ ०९:३० शनिबार