गीतकार सङ्घ नेपालले रसुवा बाढीपीडितहरूको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार रुपैयाँ सहयोग गरेको छ।
गीतकार सङ्घ नेपालले आउँदाे भदौ २५ गते आयोजना गर्न लागेको वार्षिक उत्सव तथा सांगीतिक कार्यक्रम पनि स्थगित गरेको छ।
भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङ लगायत क्षेत्रमा जनधनको क्षति भएको र देश नै शोक डुबेकाले केही समयका लागि कार्यक्रम स्थगित गरेको सङ्घले जनाएको छ।
सङ्घका अध्यक्ष वसन्त वित्यासी थापाले जारी गरेकाे विज्ञप्तिअनुसार मानवीय संवेदना र सामाजिक उत्तरदायित्व प्राथमिकतामा राखेर कार्यक्रम स्थगित गरिएको हाे।
सङ्घले प्रकाेपमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पिंदै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै प्रभावितहरूको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकाय, संघसंस्था तथा आम नेपालीलाई सहयोग गर्न अपिल पनि गरेको छ।
सङ्घले विपद्को घडीमा सबैसँग ऐक्यबद्धता प्रकट गर्दै विषम परिस्थितिमा संयमता अपनाउँदै देश र जनताको पक्षमा समर्पित हुन सम्पूर्ण नेपालीमा आह्वानसमेत गरेको छ।
प्रकाशित: १२ भाद्र २०८३ १३:३१ शुक्रबार