रामेश्वर राउत मातृदास नेपाली साहित्यको क्षेत्रमा एउटा मूर्धन्य सुपरिचित नाम हो। गीत, कविता र नाटक लगायतका २२ पुस्तक सार्वजनिक गरिसकेका उनको वास्तविक नामचाहिँ रामबहादुर राउत क्षत्री हो।
प्रयाग सङ्गीत समिति, इलाहाबादबाट सङ्गीतमा विशारद, त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर, कानुनमा बीएलसम्मको शिक्षा हासिल गरेका राउतको जीविकोपार्जनको पेशा भने वकालत हो।
लोकप्रिय कवि/ गीतकारका रूपमा सुपरिचित रामेश्वर राउत मातृदासको गीतसङ्ग्रह “फूलको जीवन मनको आगो” मेरो हातमा परेको छ। यही क्रममा उक्त पुस्तक अध्ययन गर्दै जाँदा मलाई लागेका र मैले अनुभूति गरेका कुरा यहाँ प्रस्तुत गर्दै छु।
गीतसङ्ग्रह “फूलको जीवन मनको आगो” मा सङ्गृहीत गीतहरू राष्ट्र, भूगोल, समाज, संस्कृति, प्रेमप्रणय लगायतका मानव जीवनका सम्पूर्ण विषयमा केन्द्रित छ।
यसरी पुस्तकमा रहेका सबै गीत अध्ययन गर्दा गीतकारले गेयात्मकता र लयात्मकताको ख्याल गरेर स्थायी अन्तराको संरचनामा गाउनकै लागि प्रायः सबै गीत लेखेका हुन् भन्न सकिन्छ।
प्रस्तुत सङ्ग्रहमा ७० को दशकदेखि ८० को दशक आरम्भसम्ममा लेखिएका विविध विषयका १८६ गीत समेटिएका छन्। वर्तमानमा गीतहरू सुनिनेभन्दा पनि हेरिने प्रणालीमा आबद्ध हुँदै गएको परिप्रेक्ष्यमा यति धेरै गीत पुस्तकमा आउनु नेपाली आधुनिक गीत/सङ्गीतप्रेमीहरूका लागि निश्चय पनि खुशीको कुरा हो।
राष्ट्रप्रेम र राष्ट्रभक्तिको भावना, नेपालको कला, संस्कृति, सभ्यता गीतहरूमा सर्वत्र उजागर भएको पाइन्छ। जीवन सङ्घर्ष एवम् गतिशीलता, अन्याय–अत्याचार, असमानता–पक्षपात, उत्पीडन–शोषणको विरोध, मानवताको वकालत र विश्वबन्धुत्व पनि राउतका गीतका विषय बनेका छन्।
गीत सुनियोजित सुगठित, सुलललित, मोहक शैलीमा विम्ब र प्रतीक आदिले सुसज्जित हुनुपर्छ। एउटा सुन्दर गीतमा एउटा सुन्दर कवितामा पाइने सबै गुण एवम् क्षमता रहेको हुन्छ। आधुनिक कवितामा झैँ गीतको आफ्नै छन्द हुन्छ, गीतको आफ्नै गन्ध हुन्छ तब त गीत अनुपम हुन्छ।
गीत मुटुको धुकधुकीसँग बढी सम्बन्धित हुने हुँदा सम्वेदनशील हुन्छ। सीमित पङ्क्ति र सीमित मात्रामा आफूले दिन खोजेको सन्देश विम्ब र प्रतीकका साथै आकर्षक शैलीमा मन छुने पारा अर्थात् हृदयस्पर्शी ढङ्गले अभिव्यक्त गर्नुपर्ने हुँदा आधुनिक कविताभन्दा आधुनिक गीत लेखन निश्चय नै अप्ठ्यारो छ।
सुन्दर गीत रच्न गीतकारले सङ्गीतको मर्म बुझेको हुनुपर्छ। यसमा मामलामा सङ्गीतमा विशारद उपाधि हासिल गरेका गीतकार रामेश्वर राउत मातृदास भाग्यमानी ठहरिएका छन्। सङ्गीतको मर्म नबुझ्ने गीतकारले निसन्देह सङ्गीतमय गीत रच्न सक्दैन। यसरी गीत–सङ्गीत साहित्य र संस्कृतिको दोभान बन्न पुगेको हुन्छ भन्दा अतिशयोक्ति नहोला।
सङ्ग्रहमा प्रणयभावका गीतका साथसाथै अग्रज पुस्ताप्रति सम्मानको भाव बोकेको गीत “मेरा पूज्य पिता हजुर” समेत छ। अनुकरणको नाममा अन्धानुकरण मौलाएकोमा गीतकारले चिन्ता व्यक्त गरेर नेपाली भाषा र संस्कृतिमाथि अतिक्रमण भइरहेको अवस्था इङ्गित गरिएका गीतहरू पनि पुस्तकमा अटाएका छन्।
मेरो मन छोएका गीतका केही पङ्क्ति: लौ न कृष्ण बजाइदेऊ बाँसुरी, नास्नैपर्छ अन्यायी आसुरी...पृष्ठ १२, जन्म दिने जननी र कर्म दिने माटो, भत्काएर कहाँ पुग्ने आफैँ हिँड्ने बाटो...पृष्ठ ३५, अग्लिएर हिमालझैँ मुस्कान चुलीचुली, अन्धकार बादल च्यात्न लाग्नपर्छ खुली...पृष्ठ ४२ पाइला त्यतै छोडेको छु यात्रा हिमालचुली, शुभ दिन आउनै पर्छ कालो बादल खुली...पृष्ठ १००।
राउतका यी र यस्ता प्रायः सबै गीतले पूरै गम्भीर गहन गहिरो भावमय अर्थ बोकेका छन् भन्ने मलाई अनुभूति भएको छ।
सङ्ग्रहका कतिपय गीतमा गीतकार हाम्रो देश यो नेपालको फोहोरी राजनीति, आधुनिकताको नाउँमा मौलिकता भुल्दै गएको अन्धानुकरणमा रमाउन अभ्यस्त समाज, प्रसासनिक क्षेत्रमा व्याप्त बेथिति, यत्रतत्र सर्वत्र मौलाएको भ्रष्टाचार, राष्ट्रघातका कुराहरूलाई खरो र दहृोरुपमा उठाउन पुगेको भेटिन्छन्। जन्म दिने आमा र कर्म दिने माटोलाई राष्ट्रभक्तको खोल ओडेर क्षय गरेको तीतो सत्य पनि गीतहरूमा प्रस्तुत भएको छ।
सुशासनका लागि इमानदार लोककल्याणकारी परोपकारी शासकको खाँचो औँल्याइएको छ। गीतकारले मानव जीवनका सबै पक्ष अभाव–दुःख–पीडा, हाँसो–खुशी, मिलन–बिछोड, आशा–निराशा उरालेर आफू नितान्त इमानदार राष्ट्रवादी र आदर्श जीवनवादी भएको छनक प्रस्टै दिएका छन्। फलतः “फूलको जीवन मनको आगो” मा सँगालिएका गीतहरूले नेपाली सुगम सङ्गीतको क्षेत्रमा कोशेढुङगाको स्थान ओगट्नेमा म विश्वस्त हुन पुगेको छु।
प्रकाशित: १० आश्विन २०८३ ०९:०९ शनिबार